प्रदेश ५ गाडी खरिद प्रकरण: उपसमितिको म्याद थपियो, खरिदकर्ताको नियतमाथि शंका

 माघ ६, २०७५ आइतबार १९:४८:१५ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - पाँच नम्बर प्रदेशमा खरिद गरिएका गाडीका विषयमा छानबिन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिको म्याद १५ दिन थपिएको छ ।

समितिमा रेवतीरमण शर्मा ,वसिउद्धिन खान र गिता थापालाई सदस्यका रुपमा थप गरिएको छ । गाडी खरिदमा अनियमितता भएको समाचार बाहिरिएपछि सार्वजनिक लेखा समितिले कुलप्रसाद पोखरेलको संयोजकत्वमा उपसमिति बनाएर छानबिन थालेको थियो । उपसमितिले खरिद गरिएका गाडी सार्वजनिक खरिद ऐन अनुसार नै खरिद गरिएको देखिए पनि खरिदकर्ताको नियत प्रष्ट नभएको भन्दै थप छानबिन गर्नुपर्ने प्रतिवेदन लेखा समितिका सभापति डिल्ली चौधरीलाई आइतबार बुझाइएको छ ।

प्रदेश सभा र सरकारको लागि खरिद गरिएका गाडी एउटै भए पनि मूल्य फरक फरक भएपछि उपसमिति बनाएर छानबिन थालिएको थियो । खरिद ऐन अनुसार नै खरिद गरिएपनि प्रयाप्त प्रतिस्पर्धा किन नगराएको भन्दै उपसमितिले खरिदकर्ताको नियतमाथि प्रश्न उठाएको छ ।

अध्ययनका क्रममा माग गरिएका कागजातहरु उपलब्ध नगराएको प्रतिवेदनमा उल्लेख छ ।

सामान्य उपभोक्ताले पाउनेभन्दा धेरै मूल्यमा गाडी खरिद गरिएको भन्ने वास्तविकता हो कि भ्रम हो भनेर थप अनुसन्धान गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रदेश सभा र प्रदेश सरकारका लागि २२ करोड ७५ लाख ५७ हजार ९९९ रुपैयाँका गाडि खरिद भएका छन् ।

प्रदेश सभाका लागि खरिद गरिएको टाटा स्टाेर्म गाडीको मूल्य ७१ लाख ९५ हजार छ भने भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको गाडीको मूल्य ७२ लाख ९९ हजार र उद्योग पर्यटन , वन तथा वातावरण मन्त्रालयका लागि खरिद गरिएको गाडीको मूल्य ७२ लाख ४२ हजार रहेको छ ।

गाडी खरिदमा अनियमितता भएको खबर सार्वजनिक भएपछि सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरी र प्रदेश सभामा विपक्षी दलका नेता बलदेब शर्मा पोखरेलले गाडी फिर्ता गर्नुभएको छ ।

प्रदेश सभामा सत्तारुढ दलका प्रमुख सचेतक भूमिश्वर ढकालकोसमेत लगानी रहेको सफल अटो इन्टरनेशलको व्यवस्थापनमा प्रदेश सरकार र प्रदेश सभाको लागि २५ वटा टाटा स्टाेर्म गाडी खरिद गरिएका छन् ।

ती गाडीहरु बजार मूल्यभन्दा साढे ४ लाख बढी मूल्यमा खरिद गरेको देखिएको छ । सफल टाटा को आधिकारिक डिलर पनि हो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया