‘बीजेपीको जहाज छिट्टै डुब्दैछ’

 माघ १०, २०७५ बिहिबार २१:५८:३ | उपेन्द्रराज पाण्डेय

जयपुर – राजस्थानको जयपुरमा बिहीबारदेखि साहित्यको कुम्भ मेला ‘जयपुर साहित्य उत्सव’ सुरु भएको छ । 

बेलायती कवि तथा उपन्यासकार रुथ पडेल र नोबेल पुरस्कार विजेता वैज्ञानिक वेन्की रामाकृष्णनको कि नोट स्पीच(मूल मन्तव्य)सँगै जयपुर साहित्य उत्सव औपचारिक रुपमा सुरु भएको हो । 

नोबेल विजेता वेन्की रामाकृष्णनले आजको युगमा विज्ञानको महत्वका बारेमा उत्सवको मूल मन्तव्यमा आफ्ना विचारहरु व्यक्त गरेका थिए ।

महोत्सवको पहिलो दिन गुल्जार र उनकी छोरी मेघना गुल्जारसँग शान्तनु रे चौधरीले चलाएको सत्र र गायिका उषा उथुपसँग सञ्जय के रोयले चलाएको ‘आई बिलिभ इन म्यूजिक’ नामक सत्रमा दर्शक खचाखच भरिएको थियो ।

 

थरुरको प्रहार

त्यस्तै जयपुर साहित्य उत्सवमा सधैँ चर्चा र आकर्षणमा रहने भारतीय राजनीतिज्ञ तथा लेखक शशि थरुरको सत्र सुन्नेहरुको पनि घुइँचो लागेको थियो । गएको वर्ष शशि थरुरले ‘ह्वाई एम अ हिन्दू’ मा बोलेका थिए । यही शीर्षकमा उनको पुस्तक पनि प्रकाशित रहेको छ । 

यो वर्ष शशि थरुर र राजनीतिक टिप्पणीकार तथा लेखक मिहिर स्वरुप शर्माबीचको कुराकानीलाई ‘थरुरिज्म’ नाम दिइएको थियो । लोकसभा सांसदसमेत रहेका शशि थरुरले सबरीमाला मन्दिरको प्रसंगदेखि प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि टिप्पणी गर्न भ्याए । साथै उनले आफूले प्रयोग गरेका अंग्रेजी शब्दको मजाक बनेको प्रसंगसमेत चर्चा गरेका थिए । 

प्रधानमन्त्री मोदीले थुप्रै उदारवादी योजनाका वाचा पूरा नगरेको बताउँदै राजनीतिक फाइदाका लागि झन् अनुदारवादी कदम चालेको पनि थरुरले आरोप लगाए । त्यस्तै थरुरले अमेरिकी र भारतीय राजनीतिबीच पनि तुलना गर्न भ्याए । अमेरिकामा रिपब्लिकन पार्टीले हतियारमाथि प्रतिबन्ध लगाउन नहुने, समलिङ्गीका अधिकारको विरोधमा सांस्कृतिक राष्ट्रवादीहरुको प्रयोग गर्दै चुनाव प्रचार गरे पनि सत्तामा आएपछि भने अर्थतन्त्रका कुरा गर्ने गरेको थरुरले बताए ।

थरुरले भारतमा भने अमेरिकामा देखिएको राजनीतिक परिवेशको ठीक उल्टो देखिएको बताए । भारतीय जनता पार्टी(बीजेपी) र मोदीले चुनावी प्रचारप्रसारमा अर्थतन्त्र र विकासका कुरा गरे पनि सत्तामा आएपछि गौहत्या र लभ जिहादको नाममा भिजिलान्तेलाई मनपरी गर्न छुट दिएको आरोप थरुरले लगाए । 

आफूलाई राजनीतिले अवसर दिएको बताउँदै शशि थरुरले आफूले कल्पना गरेको भारत निर्माणका लागि काम गर्न चाहेको बताए । राजनीतिमा पद आउने जाने बताउँदै आफू सधैँ लेखक भैरहने पनि बताए । थरुरले लेखक कहिल्यै पनि भूतपूर्व नहुने बताए । 

प्रियंका गान्धी ‘गेम चेञ्जर’

बिहीबार उत्सवको उद्घाटन सत्रपछिको पहिलो सत्रमा कांग्रेस नेता तथा राजस्थानमा उपमुख्यमन्त्री सचिन पाइलटले प्रियंका गान्धी वाड्राको सक्रिय राजनीतिमा सहभागिता ‘गेम चेञ्जर’ हुने बताए । डेमोक्रेसी, फ्रीडम एण्ड द पोलिटिकल प्रोसेस : लूकिङ टु द फ्यूचर’ सत्रमा श्रीनिवासन जैनसँग कुरा गर्दै प्रियंका गान्धीले कांग्रेस अध्यक्ष राहुल गान्धी र सोनिया गान्धीको क्षेत्र अमेठी र रायबरेलीमा लामो समयदेखि काम गरेको पाइलटले बताए । 

धेरै वर्षको जिज्ञासा र अनुमानबीच सोनिया गान्धीकी छोरी तथा राहुल गान्धीकी बहिनी प्रियंका गान्धीलाई बुधबार उत्तर प्रदेश कांग्रेसको महासचिव बनाइएको छ । पाइलटले आउँदो तीन महिनामा नै प्रियंका गान्धी भारतीय राजनीतिमा ‘गेम चेञ्जर’ सावित हुने बताए । साथै पाइलटले बीजेपी नेतृत्वको गठबन्धन(एनडीए) प्रति कटाक्ष गर्दै उनीहरुको ‘जहाज’ छिट्टै नै डुब्ने पनि बताए । 

बिहीबार भारतीय राजनीतिदेखि विज्ञानका विविध पाटाबारे छलफल तथा विमर्श भयो । 

ठूलो दुर्घटना टर्यो

साहित्य उत्सव चलिरहँदा डिग्गी प्यालेसमा ठूलो दुर्घटना टरेको छ । जयपुर साहित्य उत्सव चलिरहेको डिग्गी प्यालेसमा एउटा पीपलको रुख ढल्दा चार जना घाइते भए ।

महोत्सवमा आएका पाहुनाहरुले खाना खाइरहेको ठाउँमा रुख ढल्दा एक जना फोटोपत्रकारसहित चार जना घाइते भएको आयोजकले जनाएको छ । घाइतेहरु उपचारपछि अस्पतालबाट घर फर्किएका छन् । 

शुक्रबार गुल्जारदेखि आदि शंकराचार्य

भारतीय फिल्म उद्योगका लिजेन्ड्री गीतकार, निर्देशक तथा कवि गुल्जारले चर्चित गीत ‘जिया जले’ उत्कृष्ट कसरी भयो भन्ने बारेमा सञ्जय के रोयसँग कुरा गर्नेछन् । ‘जिया जलेः स्टोरिज बिहाइन्ड द संग्स’ नाम दिइएको सत्रमा नसरीन मुन्नी कविर पनि रहनेछन् । कविर ‘जिया जलेः स्टोरिज अफ् द संग्स’ पुस्तकका लेखक हुन् । 

शुक्रबार नै पवन के वर्मा र मालाश्री लालले आदि शंकराचार्यका बारेमा चर्चा गर्दैछन् ।

त्यस्तै शुक्रबार म्यान बुकर पुरस्कार विजेता लेखक बेन ओक्रीलगायतका लेखक ‘ह्वेर डज फिक्सन कम फ्रम’ सत्रमा उपन्यास लेखनका बारेमा चर्चा परिचर्चा गर्दैछन् । 

त्यस्तै ‘साउथ एसिया : वाल्स एण्ड ब्रिजेज’ मा हुसेन हक्कानी, मञ्जुश्री थापा, प्रसेनजित बसु, शिवशंकर मेनन र तफिक–ए–एलाही चौधरीसँग सुहासिनी हैदरले दक्षिण एसियाली साहित्यका विभिन्न पाटाबारे चर्चा परिचर्चा गर्दैछिन् । 

बिहीबारदेखि सुरु भएको जयपुर साहित्य उत्सव पाँच दिनसम्म चल्नेछ ।

याे पनि पढ्नुहाेस्

सुरु भयो जयपुर साहित्य उत्सव : मनिषा कोइरालादेखि नोबेल विजेता रामाकृष्णनसम्म सहभागी

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्रराज पाण्डेय

उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया