मोदीको अभिनन्दनबारे विद्यासुन्दर भन्छन् –जसको घरमा पाहुना आयो उसैले चिया खुवाउँछ

मोदीको नागरिक अभिनन्दन

 बैशाख २७, २०७५ बिहिबार १९:४२:५ | मदन पौड्याल
unn.prixa.net

काठमाडौं, वैशाख २७ – प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणमा शुक्रबार नेपाल आउँदै हुनुहुन्छ ।

जनकपुर हुँदै काठमाडौं आउन लागेका मोदीको सम्मानमा काठमाडौं महानगरपालिकाले वैशाख २९ गते शनिबार ‘नागरिक अभिनन्दन’ गर्दैछ । केही नागरिकले नेपाललाई विना कारण नाकाबन्दी गरेको भारतका प्रधानमन्त्री मोदीलाई अभिनन्दन नगर्न र गरेपनि त्यसलाई नागरिक अभिनन्दन नभन्न आग्रह गरिरहे पनि काठमाडौ महानगरपालिकाले त्यो नागरिक अभिनन्दन नै भएको जिकिर गर्दै आएको छ । 

यसबारेमा उज्यालोकर्मी मदन पौड्यालले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग कुराकानी गर्नुभएको छ ।

महानगरपालिकाले गर्न लागेको अभिनन्दनको चर्को विरोध भइरहेको छ । खास यो अभिनन्दन कस्तो हो ?

विदेशी पाहुनालाई पहिला पनि स्वागत गरिन्थ्यो, महानगरले नागरिक अभिनन्दन पनि गरेकै हो त्यसैअनुसार अहिलेपनि हामी महामहिम मोदीलाई नागरिक अभिनन्दन गर्न लागेका हौं । यो स्वभाविक र नियमित प्रकृया नै हो ।

तपार्इँहरुले गर्ने भनेकाे 'नागरिक अभिनन्दन’ का बारेमा नागरिककै विरोध छ नि त ?

हिजो जुन नाकाबन्दी भयो त्यसैको प्रतिक्रिया केही केही अहिले पनि देखिएको छ । हिजोका दिनमा जे भयो त्यसैलाई मनमा राखी द्वेष पाल्नुहुँदैन । राजनीतिमा जस्तै छिमेकी स्थायी शत्रु र मित्रु पनि हुँदैनन । हामीले शत्रुलाई पनि मित्रु बनाउँदै अगाडी बढ्ने हो ।

हिजो कसैले सहयोग गरेन भनेर सधै उसलाई फाल्ने होइन मित्रवत् व्यवहार गरेर उसलाई ‘करेक्शन’ गर्न लगाएर अगाडि जानुपर्छ । त्यसका लागि हामी लागिरहेका छौ । र काठमाडौं महानगरबासीको तर्फबाट महानगरपालिकाले मोदीलाई नागरिक अभिनन्दन गर्न लागेको हो । नागरिक तहबाट जुन आवाज उठेको छ त्यसबारे पनि ध्यानाकर्षण भएको छ । त्यसलाई पनि व्यवस्थापन गर्ने गरि हामी जान्छौ । 

के–के गर्नुहुन्छ अभिनन्दनमा ?

वैशाख २९ गते दिउँसो सवा तीन बजे महामहिम मोदी राष्ट्रियसभा गृहमा आउनुहुन्छ । उहाँलाई सभागृहको अति विशिष्ट कक्षमा लगिन्छ । सामान्य चियापान हुन्छ । नागरिक अभिनन्दनका क्रममा महानगरको कलात्मक साँचो हस्तान्तरण गर्छौ । जुन यसअघि पनि हुने गरेको थियो । महानगरपालिकाको तर्फबाट उपहार प्रदान गर्छौ । पहिला पहिला जे हुन्थ्यो त्यस्तै नै हो । महानगरपालिकाको तर्फबाट अभिनन्दनपत्र हस्तान्तरण गरिन्छ । 

एउटै भ्रमणमा दुईपटक अभिनन्दन चाहीँ किन भन्ने पनि प्रश्न छ ? जबकी जनकपुरमै मोदीको अभिनन्दन तपाइहरुको भन्दा पहिले भइसकेको हुन्छ ।

होइन, नागरिक अभिनन्दन नागरिकले गर्ने हो । यो सरकारले गर्ने अभिनन्दन होइन । काठमाडौं महानगरपालिकाभित्र अरु कसैले गर्‍याे भने अर्को कुरा हो तर मेरो अधिकार क्षेत्रभित्र मैले गर्ने हो अरुको अधिकार क्षेत्रभित्र अर्काले गर्ला । त्यो स्वभाविकै हो, ठुलो कुरै होइन ।

यसरी बुझौ न, तपाईँको घरमा पाहुना आयो तपाईँले चिया खुवाउँनुहुन्छ । मेरो घरमा आएको पाहुनालाई मैले चिया खुवाउँछु । यत्ति मात्र हो । यसलाई अतिरञ्जित गर्न आवश्यकै छैन । 

मोदीको भ्रमणबाट काठमाडौं महानगरपालिकाको अपेक्षा चाहिं के छ ?

हाम्रो अपेक्षा त्यस्तो केहिपनि छैन । यो पाहुनाको स्वागतका लागि गरिएको नियमित प्रकृया हो । समग्र महानगरबासीको अपेक्षा भनेको हिजोपनि दुई देशको सम्वन्ध सुमधुर थियो, अवका दिनमा त्यो भन्दा अझ सुमधुर हुनुपर्छ भन्ने नै हो ।

छिमेकी आपसमा सहयोगी भएर काँधमा काँध मिलाएर अगाडी बढ्नुपर्छ । जसको कारणले दुई देश नै लाभान्वित हुन सकुन् । बराबरी रुपमा अगाडी बढ्न सकुन् । यहि मात्र हो हाम्रो चाहना । 

अन्तिम अपडेट: चैत ३०, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया