भारत नेपालको विकासका लागि ‘शेर्पा’ बन्न तयार छ : मोदी

काठमाडौंमा नागरिक अभिनन्दन

 बैशाख २९, २०७५ शनिबार १९:२१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं, वैशाख २९ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेको बताउनुभएको छ ।

काठमाडौ‌ं महानरपालिकाले गरेको अभिनन्दन ग्रहण गर्दै उहाँले नेपालको अहिलेको अवस्था सगरमाथाको आधारशिविरमा पुगेको पर्वतारोही जस्तै भएको भन्दै अब शिखर आरोहण गर्न शेर्पाले पर्वतारोहीलाई पुर्याउने योगदान जस्तै भारत नेपालको विकासका लागि शेर्पा बन्न तयार रहेकाे बताउनुभयाे ।

‘तपाईहरु आफ्नै प्राथमिकता र आवश्यकता आफ्नै अनुसार तय गर्नुहोस र अघि बढ्नुहोस', मोदीले भन्नुभयो, 'भारत काँधमा काँध मिलाउन तयार छ ।’ यो म बढो जिम्मेवारीका साथ भनिरहेको छु', उहाँले थप्नुभयो, 'प्राथमिकता र आवश्यकता आफै तय गर्नुहोस, भारत सधैँ नेपालका साथ काँधमा काँध मिलाएर चल्न तयार छ । नेपालको खुशी नै भारतको खुशी भएको पनि उहाँले बताउनुभयो । 

भूकम्पपछि देश र समाजको पनि पुनर्निर्माण भएको उल्लेख गर्दै उहाँले अहिले नेपालमा संघीय, प्रदेश र स्थानीय तहमा लोकतान्त्रिक सरकार बनेको र तीनै तहका चुनाव एकै वर्षमा गरेकोमा नेपाललाई धन्यवाद दिनुभयो । उहाँले गोलीको बोलवाला रहेको अवस्थालाई छोडेर युद्धबाट बुद्धको यात्रामा अघि बढेको स्मरण गर्दै उहाँले अझे धेरै टाढा पुग्न आवश्यक रहेकोमा जोड दिनुभयो । 

छिमेकी देशलाई सधैँ प्राथमिकतामा राख्ने (नेइभरहुड फष्ट) अवधारणालाई अघि बढाइरहेको बताउनुभएको छ । आफ्ना छिमेकी देशको समृद्धि र उन्नतीमा भारतले सहयोग गर्ने र त्यस्तो सहयोग ती देशहरुकै आवश्यकता अनुसार हुने उहाँले बताउनुभयो । अल्पविकसित देशको आर्थिक र प्राविधिक सहयोग गर्ने कुरालाई भारतले महत्व दिएको मोदीले बताउनुभयो ।

नेपालले खासगरी काठमाडौले भूकम्पका बेला जुन धैर्य देखायो त्यो विश्वकै लागि अनुकरणीय रहेको मोदीले  बताउनुभयो । उहाँले दुई देशको सम्बन्ध पुरानो, ऐतिहासिक र विशेष रहेको भन्दै त्यसलाई अझ प्रगाढ बनाउन चाहेको दाबी पनि गर्नुभयो ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया