नेपालमा मोदीका दुई दिन : नेपाली झुक्याउन सफल, उदार छिमेक नीति देखाउन असफल

 बैशाख २९, २०७५ शनिबार १९:३८:४२ | मिलन तिमिल्सिना
unn.prixa.net

(समाचार टिप्पणी) काठमाडौं, वैशाख २९ – दुई दिने नेपाल घुमाईको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चारपटक एकै शैलीको भाषण गरे । शुक्रबार तीनपटक र शनिबार एकपटक ।

पहिलो दिन जनकपुरमा रामायण सर्किटको उद्घाटन र नागरिक अभिनन्दन लगत्तै बोलेका मोदीले खुलेर नेपाल र नेपालीको प्रशंसा गरे । ‛राजा जनक र दशरथले जनकपुर र अयोध्या मात्र होइन, भारत र नेपाललाई मित्रताको डोरीले बाँधि दिएका छन्′ नागरिक अभिनन्दनमा मोदीले भने, ‛त्यही बन्धनले मलाई जनकपुरसम्म तानेर ल्यायो ।′

बोलीमा शब्दको चयन उत्तिकै मीठो थियो । मोदीले अगाडि भने, ‛नेपाल र भारतको माता र आस्था, प्रकृति र संस्कृति, पथ र प्रार्थना, दृष्टि र सृष्टि, सुख र चुनौती, आशा र आकांक्षा तथा सपना र संकल्प समान छ ।′ जानकीको भूमि जनकपुर बिना भारतको अयोध्या अधुरो भएको पनि उनले सुनाए । 

नागरिक अभिनन्दनमा सहभागी सबैलाई मख्ख बनाउँदै मोदीले थपे, ‛नेपालबिना भारतको आस्था अधुरो छ, विश्वास र इतिहास अधुरो छ, हाम्रा धाम अधुरा छन्, हाम्रा राम अधुरा छन् ।′ उनले नेपालीको स्वाभिमान सगरमाथाभन्दा अग्लो भएको पनि बताए । 

काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पनि उनले उसैगरी बोले । ओलीको गुनगान गाए । ओलीको सपना पूरा गर्न आफ्नो पनि साथ रहने प्रतिबद्धता सुनाए । विकासमा सहकार्य गर्ने वाचा गरे । 

भारतको छिमेक नीतिमा नेपालको स्थान पहिलो नम्बरमा रहेको बताए । नेपाल र भारतको सम्बन्धमा अब कुनै पनि प्रकारको असमझदारी नरहेको दाबी गरे । नेपालको विकास प्रक्रियामा भारत सधैं सहयोगी रहने विश्वास दिलाउन कोसिस गरे । 

शनिबार काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दनमा पनि मोदीले यही कुरा दोहोर्याए । नेपाल र नेपालीको हितमा भारत सधैं साथमा रहेको बताए । आफूले गरेको नाकाबन्दीबारे एक शब्द उच्चारण नगरी, तर नेपालीको आक्रोशित मनमा मल्हम लगाउने लयमा, नेपालीहरुको मन जित्ने शैलीमा भने, ‛अहिले नेपाल सगरमाथाको बेस क्याम्पमा पुगेको छ । पर्वतारोहीलाई बेस क्याम्पमाथि जान जसरी नेपाली शेर्पाले बलियो सहयोग गर्छन्, भारत पनि त्यही शेर्पा बनेर नेपाललाई चुचुरोमा पुर्याउन सहयोग गर्नेछ ।′

अझ नेपाली युवाहरुको मन जित्नेगरी क्रिकेट खेलाडी सन्दीप लामिछानेले आइपीएल खेल्दै गरेकोे प्रसँग निकालेर क्रिकेटमा मात्रै होइन, अरु खेलमा पनि नेपाल भारतसँग जोडिनुपर्छ भने । नेपालीलाई मन्त्रमुग्ध बनाउने गरी मोदीले प्रशंसा गरे । 

पहिलेजस्तै आफ्नो भाषणमा बेलाबेला नेपाली मिसाए । नेपालीमा ट्वीट पनि गरे । नेपाल सरकार र नेपाली नागरिकलाई मख्ख पार्न भरमग्दुर कोशिस गरे । तर नेपाली नागरिकले सुन्न चाहेका कुरा उनले मन भित्रै राखे । 

नेपालका नेता कुटनीति कम र भावना बढी बोल्छन्, मोदीले भावना बढी र कुटनीतिका शब्द बढी बोले । नेपालले जे सुन्न चाहेको थियो, त्यो बोलेनन्, नेपलीका भावनामा कसरी खेल्न सकिन्छ, त्यो चाहिँ पटक पटक बोले । नेपाल नामको देशले सुन्न चाहेको बोल्न चाहिँ उनले कञ्जुस्याईं गरे ।

यसअघि नेपाल भ्रमणमा आउँदा जस्तो यसपटक जनस्तरबाट तालीको गडगडाहट पाइएन भन्ने उनलाई राम्रोसँग थाहा थियो । सामाजिक सञ्जाल ट्वीटरमा ‛नाकाबन्दी अपराध हो महासय मोदी′ भन्ने ह्यास ट्याग ट्रेण्डिङमा आएकोबारे पनि उनी बेखबर थिएनन् ।

ट्वीटरमा चारकरोड २४ लाखभन्दा धेरै फ्लोअर्स भएका मोदीलाई ट्वीटरमा आफूसँग जोडिएका सबै कुराको जानकारी छ । उनी आफैं पनि धेरै ट्वीट गर्नेमध्येमा पर्छन् । दुई दिन नेपाल बस्दा पनि उनले आफ्नो नेपाल भ्रमणको विषयमा धेरै ट्वीट गरे । उनी कुटनीतिका मात्र हैन। ट्वीटका पनि खेलाडी हुन् । 

ट्वीटरमा नेपाली युवाहरुको आक्रोश देखेर उनलाई तीन वर्षअघि नेपालमाथि लगाएको नाकाबन्दीको यादले संभवत रातभर निदाउन दिएन । नेपालमा बिनाकारण नाकाबन्दी गरेर धेरै नेपालीको मन दुखाएको रहेछु भनेर उनी संभवत ध्यानमा बसेको हुनुपर्छ । 

नाकाबन्दी लगाएर गल्ती गरें, माफी माग्छु भनेर सोझै भन्न अप्ठेरो हुन्थ्यो होला । यो कुरा नेपालीले पनि राम्रोसँग बुझ्छन् । तर घुमाउरो ढंगले ‛कहिलेकाहीँ छिमेकीबाट गल्ती हुन सक्छ′, भन्दै ‛अब विगतका तीतामीठा कुरा बिर्सौं, मिलेर अघि बढौं′ पनि त भन्न सक्थे उनले, तर भनेनन् ।

‛नाकाबन्दी गर्नुहुन्न थियो, भूलवश भयो′ भन्ने भाव आउने गरी चार शब्द बोलेको मात्रै भए पनि नेपाली मख्ख पर्थे । उनले फेरि पहिलेजसरी नै तालीको गडगडाहट सुन्न पाउँथे । तर नेपाल र नेपालीको धेरै प्रशंसा गर्न सक्ने मोदीले नेपालीले सुन्न खोजेको यति कुरा पनि बोलेनन् । किन भन्ने कुरा नेपालीलाई थाहा छ, नेपालीलाई थाहा नभएको कुरा उनै जानुन् ।

मोदीका लागि मात्र सफल भ्रमण

पहिलोपटक नेपाल आउँदा मोदीले नेपालीको मन जितेका थिए । त्यतिबेला संविधान सभाको बैठकमा सम्बोधन गर्दै उनले भनेका थिए, ‛नेपाल यस्तो भूमि हो, जसले भगवान बुद्धलाई जन्म दियो ।......हिन्दूस्तानले त्यस्तो कुनै लडाइँ जितेको छैन, जुन जितका लागि नेपालीको रगत नबगेको होओस् ।....म तपाईंहरुलाई नमन गर्न आएको हुँ । संविधानसभाबाट बन्ने संविधान विश्वका लागि पनि उदाहरणीय बन्नेछ ।′

मोदीले यसो भन्दा संविधानसभाको हल तालीले गुञ्जिएको थियो । आम नेपाली फुरुंग भए । यसअघि कुनै पनि भारतीय प्रधानमन्त्रीले यसरी नेपालको प्रशंसा गरेको थिएन । १७ वर्षपछि नेपाल आउने पहिलो भारतीय प्रधानमन्त्रीको रुपमा मोदीले गरेको त्यो भ्रमण साँच्चिकै अविस्मरणीय थियो । उनी सबै नेपालीका आदरणीय व्यक्ति बनेका थिए ।

तर संविधानसभाले संविधान बनाउँदै गर्दा मोदी नेतृत्वको भारतीय सरकारले अनावश्यक हस्तक्षेपको प्रयास गर्यो । संविधान जारी हुन नदिन चलखेल गर्यो । आफूले भनेअनुसारको संविधान नबनेपछि नेपालमाथि अघोषित नाकाबन्दी लगायो । नेपाल आउँदा नेपाली नागरिक र नेपालको संविधानसभाको खुलेर प्रशंसा गर्ने मोदी सरकारले नेपालीलाई अनाहकमा दुःख दियो । त्यहीबेलादेखि नेपालीले थाहा पाए, मोदी भाषण जति मीठो गर्छन्, उनको व्यवहार त्यति नै नमिठो हुँदो रहेछ ।

अहिले पनि नेपाल आउँदा मोदीले नाकाबन्दीको कुरा नझिके पनि अरु कुरा गरेर नेपालीको मन जित्ने प्रयास गरेका छन् । तर यसमा उनको आफ्नै स्वार्थ छ भन्ने कुरा घाम जत्तिकै छर्लंग छ । अर्को वर्ष भारतमा हुने आमचुनावमा आफ्नो लोकप्रियता बढाउने नियतले उनी अहिले नेपाल आएको सबैलाई राम्रोसँग थाहा छ । 

नेपाल लगायत छिमेकी देशहरुसँगको सम्बन्ध बिगारेको भन्दै भारतभित्रै आलोचना बढेपछि मोदीको शाख गिर्दो छ । गुमेको शाख फिर्ता गर्न नसके फेरि चुनाव जित्न अप्ठेरो पर्छ । छिमेकीसँगको सम्बन्ध राम्रो छ भन्ने सन्देश दिने उदेश्यले उनी नेपाल आएका हुन् । नाकाबन्दीको कुरा नझिक्दा पनि सम्बन्ध सुधारको सन्देश पुग्छ भन्ने उनलाई लागेको छ ।

त्यसैले नाकाबन्दीबारे एक शब्द पनि नबोली उनी नेपालको दुई दिने भ्रमण सकेर दिल्ली फर्किए । नेपालसँग बिग्रिएको सम्बन्ध पुरानै अवस्थामा फर्कियो भन्ने उनलाई लागेको छ । तर नाकाबन्दीको पीडा भुल्न नसकेका आम नेपालीका लागि भने उनको भ्रमण अधुरो, अपुरो र बेमौसमी मात्र भएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया