मुस्ताङमा बाक्लो हिउँ, सेताम्मे भयाे जाेमसाेम बजार (फोटोसहित)

 माघ २६, २०७५ शनिबार १४:२७:१३ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमालपारीको जिल्ला मुस्ताङमा यसवर्ष चौथोपटक भारी हिमपात भएको छ । देशैभर बिहीबारदेखि परेको वर्षासँगै मुस्ताङमा भने शुक्रबारदेखि हिमपात पर्न थालेको हो । 

मुस्ताङको सदरमुकाम जोमसोम बजारमा मात्रै डेढदेखि २ फीटसम्म हिउँ जमेको मुस्ताङका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले टेलिफोनमार्फत जानकारी दिनुभयो । उपल्लो मुस्ताङको लोमान्थाङमा ३ फीटभन्दा बढी हिउँ जमेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

मुस्ताङ जिल्लाको तल्लो सिमाना घाँसादेखि सबै क्षेत्रमा भारी हिमपात भएको खड्काको भनाइ छ । हिमपातका कारण अहिले मुस्ताङमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको छ भने ४ दिनदेखि हवाइ उडान ठप्प भएको उहाँले बताउनुभएको छ । जोमसोम विमानस्थलको धावनमार्गमा बाक्लो हिउँ जमेको छ । 

हिमपातले सडक, भिरपाखा, डाँडाकाँडा, घरबस्ती सबै क्षेत्र सेताम्मे देखिएका छन् । हिमपातले गर्दा म्याग्दीबाट मुस्ताङ र मुस्ताङबाट म्याग्दीतर्फ यातायात सेवा सञ्चालन हुन सकेको छैन । घरको छतमा समेत बाक्लो हिउँ जमेका कारण थप हिमपात भएको खण्डमा कच्ची घर तथा माटोले बनेका घरहरु भत्कन सक्ने सम्भावना रहेको बताइएको छ । 


अहिले जोमसोमको तापक्रम माइनस २ डिग्री सेल्सियसमा पुगेको छ । हिमपातका कारण जोमसोमबाहेक कागबेनी, मुक्तिनाथ, लोमान्थाङसहित अन्य ठाउँमा सञ्चार सम्पर्क विच्छेद भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । हिमपातपछि अत्यधिक मात्रामा चिसो बढेको हुँदा स्थानीयवासिन्दा घरभित्रै आगो तापेर बस्न बाध्य भएका छन् ।


अहिले पनि मुस्ताङको डाँडाकाँडाहरुमा हिमपात भैरहेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले टेलिफोनमा बताउनुभयो । यसैगरी मार्फामा गाडीले विद्युतको पोलमा ठक्कर दिएपछि केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा अवरुद्ध बनेको उहाँले बताउनुभयो । हिमपातका कारण अवरुद्ध विद्युत मर्मत र सुरु गर्न समस्या भैरहेको जनाइएको छ । 


यसअघि परेको हिउँ पग्लिन बाँकी नै रहेको अवस्थामा पुनः भारी हिमपात भएपछि स्थानीयको दैनिकी अत्यन्त कष्कटर बनेको छ भने जनजीवन नराम्रोसँग प्रभावित भएको छ । पटकपटक परेको वर्षा र हिमपातले पर्यटक र सर्वसाधारण सास्ती खेपिरहेका छन् । 

अन्तिम अपडेट: चैत ८, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया