परदेशी भन्छन् : ३३ किलो सुन छिरेको एयरपोर्टबाट चकलेट छिराउन सकिनँ

‘विदेशबाट बढी सामान नल्याउनुहोस्, विमानस्थलले जफत गर्दैन’

 माघ २७, २०७५ आइतबार १६:२८:५१ | उज्यालो सहकर्मी

काठमाण्डौ – ‘माफ गर्नुहोस आमा, ३३ किलो सुन छिरेको एयरपोर्टबाट मैले तपाईँका लागि ल्याएको दुई पोका चकलेट छिराउन सकिनँ,’ गएको शुक्रबार योगेश चापागाईँले ट्वीट गर्नुभयो । 

‘मेरो देशको मन्दिरको मुर्ती चोेरेर बिदेश पुराइन्छन यही विमानस्थलबाट, तर मेरो पसिनाको केही चिनो मेरो देशभित्र छिर्न सक्दैन किनकी न्याए मरेको मेरो देशमा सरकारको मनपरी छ,’ एसबी क्षेत्रीले फेसबुकमा लेखेको स्ट्यास हो यो । 

सरकारले विदेशबाट फर्किनेले झिटिगुण्टा निर्देशिका भन्दा बढी सामान ल्याउनेको सामान जफत गर्न थालेपछि वैदेशिक रोजगारीमा गएकाहरुले सरकारप्रति यस्तै असन्तुष्टि जनाइरहेका छन् । 

विदेशबाट फर्कनेहरुले ल्याएका सामान विमानस्थलमा जफत गरिएको भन्दै बिरोध पनि भैरहेको छ । भन्सार शुल्क सम्बन्धी नयाँ नियमले प्रवासी नेपालीहरुलाई समस्या भएको भन्दै गैरआवासीय नेपाली संघले पनि बिरोध जनाएको छ ।

तोकिएकोभन्दा बढी सामान नल्याउनुस् जफत हुँदैन : भन्सार कार्यालय

तर त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भने झिटीगुण्टा सम्बन्धी नियम कार्यान्वयन मात्रै गरेको भन्दै तोकिएकोभन्दा बढी सामान नल्याउन अनुरोध गरेको छ । 

‘विदेशबाट सामान ल्याउन नपाउने भन्ने होइन, पाइन्छ’ विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्रकुमार ठाकुरले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘तर नियमअनुसार ल्याउनुहोस्, बढी नल्याउनुहोस् ।’

अरु सामानमा भन्दा पनि सुन र रक्सी आयातमा कडाई गरिएको उहाँले बताउनुभयो । ‘विदेशबाट रक्सी र सुन धेरै आउन थालेपछि हामीले कडाई गरेका हौं’ उहाँले भन्नुभयो, ‘रक्सी र सुनसँगै अरु सामान पनि तोकिएको भन्दा बढी ल्याउन पाईंदैन ।’

विदेशबाट रक्सी र सुन धेरै आउन थालेपछि भन्सार कार्यालयले सामानको जाँचमा कडाई गरेको छ । 

कडाई गरेसँगै सामान पनि धेरै जफत भएका छन् । केही दिनअघि मात्र भन्सार कार्यालयले जफत गरिएका बिभिन्न सरसामान लिलामी गर्न सूचना निकालेको छ । दुई करोड ७ लाख मूल्य बराबरका वस्तुको लिलामी प्रक्रिया अघि बढाइएको भन्सार कार्यालयले जनाएको छ ।

लिलामी गर्न लागिएका सामानमा रक्सी, ह्वीस्की, मोबाइल, स्मार्ट वाच, ड्रोन क्यामरा, खेलकुदका सामान लगायत छन् । 

कुन सामान कति ल्याउन पाइन्छ ?

‘निजी गुण्टा, झिटी भारी’  निर्देशिका अनुसार विदेशबाट एक लिटरसम्म रक्सी ल्याउन पाइनछ । विदेशबाट फर्किंदा लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, औषधी उपचार गराई फर्केका बिरामीका औषधी, शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान सजिलैसँग ल्याउन पाइन्छ । यी सामान ल्याउँदा भन्सार शुल्क लाग्दैन । 

यस्तै एक वटा ट्यावलेट, ल्यापटप वा कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेन ड्राइभ, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक थान मात्र ल्याउन पाइन्छ ।

वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष काम गरेर फर्किंएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन पाउँछन् । तर अरु नै कामले विदेश गएर एक वर्ष नबिताई फर्किएको भएमा भन्सार छुट पाईंदैन । यसरी टिभी ल्याएमा विमानस्थलमा भन्सार तिर्नुपर्ने हुन सक्छ ।

 
विदेशबाट घर फर्किंदा आफन्तलाई मोबाइल ल्याइदिने चलन पनि छ । तर निर्देशिका अनुसार एक थान मोबाइल ल्याउँदा मात्र भन्सार छुट पाइन्छ । पेशागत सामानमा पनि भन्सार तिर्न पर्दैन । तर त्यसो भन्दैमा जति पनि ल्याउन पाइन्छ भन्ने चाहिँ हुँदैन । बिभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका आफ्नो पेशासँग सम्बन्धित सामानमा पनि भन्सार लाग्दैन ।

डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सामग्री, संगीत क्षेत्रमा लागेकाहरुले गितार, हार्मोनियम लगायतका बाजा १ र १ थान ल्याउँदा भन्सार तिर्नुपर्दैन ।

कति सुन ल्याउन पाइन्छ ?

सुनको गहनामा पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहनाको भन्सार तिर्न पर्दैन । 

विदेशमा काम गरेर फर्किने नेपाली कामदारले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् । तर त्यसका लागि कर तिर्नुपर्छ । ५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका हिसाबले कर तिर्नुपर्ने हुन्छ ।

 यसअनुसार १० ग्रामको ५२ सय र ५० ग्रामको २६ हजार रुपैयाँ भन्सार लाग्छ । ५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५० ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६२ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्छ ।

१०० ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ । सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ । ठूलो परिमाणमा सुनको गहना ल्याएमा पनि विमानस्थलमै जफत हुन्छ । 

के सामान ल्याउन पाईंदैन ?

विदेशबाट फर्किंदा एउटाभन्दा बढी टिभी ल्याउन पाईंदैन । ३२ इन्चभन्दा ठूलो टिभी ल्याएमा इन्चअनुसार भन्सार महशुल तिर्नुपर्छ ।  कतिपय सामानमा एकैपटक ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्ने व्यवस्था छ । 

म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पंखा र रेडियो एक एक थान ल्याउन सकिन्छ । तर, यी सामानमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ । 
झिटीगुण्टा सम्बन्धी यो निर्देशिका तत्काल परिवर्तन हुने सम्भावना नरहेको विमानस्थल भन्सार कार्यालयले स्पष्ट पारेको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया