मिटूको आरोप लागेर घर बसेका नाना पाटेकर यस फिल्मबाट गर्दैछन् ‘कमब्याक’

 फागुन १, २०७५ बुधबार १२:११:२ | एजेन्सी
unn.prixa.net

भारतमा मिटू अभियानको सुरुवात अभिनेत्री तनुश्री दत्ताले गरेकी थिइन् । तनुश्रीले फिल्म ‘हर्न ओके प्लीज’ को सेटमा अभिनेता नाना पाटेकरले उनीमाथि दूर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तनुश्रीले यस विषयमा १० वर्ष अघि नै आवाज उठाएकी थिइन् तर बलिउडमा उनको आरोपलाई कसैले चासो दिएनन् । तर १० वर्ष पछि तनुश्रीले त्यस घटनालाई मिटू अभियानसँग जोडेर सार्वजनिक गरेपछि भने अधिकांशले उनको साथ दिए ।

तनुश्रीको आरोप पछि बलिउड फिल्म ‘हाउसफूल ४’ बाट नाना पाटेकरलाई निकालियो । यसका साथै नाना पाटेकरले काम गर्ने भनिएका अन्य धेरै प्रोजेक्टबाट पनि बाहिरिए । तर अहिले बलिउडमा मिटू अभियान सेलाउँदै गइरहेको छ । तसर्थ बलिउड फिल्म निर्माता फिरोज नाडियाडवाला उनको सुपरहिट फ्रेन्चाइज ‘वेलकम ३’ मा अभिनेता नाना पाटेकरलाई कास्ट गरेका छन् । 

यस फिल्मको निर्देशन अहमद खानले गर्ने बताइएको छ । फिल्म ‘वेलकम ३’ मा नाना पाटेकरलाई कास्ट गरिएको खबर अहिले बलिउडमा चर्चाको विषय बनेको छ । तर फिल्म निर्माण पक्षले भने अहिले नै नाना पाटेकरको कास्टिङको कुरालाई स्वीकार गर्न खोजेको छैन । निर्माण यूनिट अहिले नै यस विषयमा केही बोलेर कुनै पनि किसिमको विवादमा फस्न नचाएको बताइएको छ । 

फिल्म ‘वेलकम ३’ मा नाना पाटेकर बाहेक अभिनेता जोन अब्राहम, अनिल कपूर र परेश रावल पनि फाइनल भइसकेको बताइएको छ । यस अघिका फिल्म ‘वेलकम’ र ‘वेलकम ब्याक’ मा अभिनेता नाना पाटेकरको महत्वपूर्ण भूमिका रहेको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया