शेयर बजार सामान्य बढ्याे
चैत १५, २०८० बिहिबार
काठमाण्डौ – चर्चित लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीत फेरि जस्ताको तस्तै यूटयूबमा राख्न राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले आग्रह गर्ने निर्णय गरेको छ ।
भ्रष्टाचार र बेथितिलाई समेटेर बनाएको शर्माको गीतलाई लिएर केही विरोध भएपछि शर्माले शनिबार साँझ यूटयूबबाट गीत हटाएका थिए । आइतबार शर्माको पक्ष लिँदै सरकारको व्यापक विरोध हुन थालेपछि प्रतिष्ठानले बैठक बसेर गीत फेरि यूटयूबमा हाल्न आग्रह गर्ने निर्णय गरेको हो ।
आइतबार बसेको बैठकले शर्माको गीतको विषयमा लामो छलफल गरेको र गीतमा जनमानसबाट उठेका आक्रोस समावेश रहेको भन्दै अन्य कुनै पनि खालका आपत्ति जनाउने विषय नभएको पनि प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन यूटयूबमा राख्न गीतका सर्जक शर्मालाई आग्रह गरिएको छ ।
यस्तै बैठकले संगीत विकास बोर्ड वा संगीत सेन्सर बोर्ड गठन गर्नुपर्ने आफ्नो मागका बारेमा सरकारलाई पुनः स्मरण गराएको छ ।
यस्तै आजै गीत बन्द गर्ने विरोध गर्दै काठमाण्डौको माइतीघर मण्डलामा विरोध प्रदर्शन समेत गरिएको छ ।
‘गीत बन्द होइन भ्रष्टाचार बन्द गर्नुपर्छ’ भन्ने नारा लगाउँदै युवाहरुले केहीबेर विरोध प्रदर्शन गरेका थिए । बिरोध प्रदर्शनमा विवादमा परेको शर्माको गीत बजाउँदै नाचगान समेत गरिएको थियो ।