अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले घेरे त्रिवि उपकुलपति कार्यालय

 फागुन ६, २०७५ सोमबार १३:२७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरेका छन् ।

स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दवाब दिँदै अनेरास्ववियू र अनेरास्ववियू(क्रान्तिकारी)ले सोमबार कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयका उपकूलपति तीर्थराज खनियाँको कार्यालयमा एक घण्टा घेराउ गरेका हुन् । नेपाल विद्यार्थी संघको मिलेमतोमा स्ववियू निर्वाचन टार्ने काम उपकूलपतिले गरेपछि त्यसको विरोधमा उपकूलपति कार्यालय घेराउ गर्नु परेको अनेरास्ववियूका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो । 

फागुन १४ गतेका लागि तय गरिएको स्ववियू निर्वाचनको कार्यतालिका सोमबार नै सार्वजनिक गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयको कार्यतालिकामा उल्लेख गरिएको छ । यही कार्यतालिका अनुसार स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेकोमा अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)को आपत्ति छ ।

सचिव लामिछानेले चैत्र १४ गते भित्र निर्वाचन सम्पन्न हुने गरी स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरे त्रिवि पदाधिकारीविरुद्ध सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिनुभयो ।

घेराउका क्रममा विद्यार्थी नेताहरुले स्ववियू निर्वाचन टार्न लागि परेको भन्दै त्रिविका उपकूलपति खनियाँको राजीनामा माग गर्दै चर्का नाराबाजी पनि गरेका थिए । सचिव लामिछानेले कांग्रेस निकट नेपाल विद्यार्थी संघको मिलेमतोमा उपकूलपति खनियाँ आफैँ स्ववियू निर्वाचन टार्न लागि परेको आरोप लगाउँदै आक्रोश व्यक्त गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया