बैंकर्स र उद्योगीबीच अर्थ मन्त्रालयमै चर्काचर्की, ब्याजदरको विवाद समाधान गर्न अर्थमन्त्री र गभर्नर छलफलमा

 फागुन ६, २०७५ सोमबार १७:४५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – बैंकहरुले ब्याजदर घटाउने कि नघटाउने भन्ने विषयमा बैंकर्स र उद्योगी व्यापारीबस्च अर्थ मन्त्रालयमै चर्काचर्की भएको छ । 

अर्थमन्त्री डाक्टर युवराज खतिवडा, गभर्नर चिरिञ्जिवी नेपालसहित मन्त्रालयमा भएको छलफलमा बैंकर्सले उद्योगी व्यापारीलाई स्वार्थको आधारमा ब्यादर घटाउन भनेको आरोप लगाएपछि व्यापारीले त्यसको विरोध गरेका थिए । 

अर्थसचिव राजन खनालले स्थिति शान्त बनाएपछि भएको छलफलमा ब्याजदर घटाउन सकिने ठाउँमा सोच्न सकिने बैंकर्सले प्रतिवद्धता जनाएको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले जानकारी दिनुभयो ।

‘उहाँहरुले आरोप लगाएपछि हामीले विरोध गर्‍यौँ, उहाँहरु झन उग्र हुनुभयो, झण्डै हात हाहालको स्थिति आयो, तर अर्थसचिवज्यूले वातावरण शान्त बनाउनुभयो’, शारडाले उज्यालो अनलाइनसँग भन्नुभयो । 

समस्या बल्झाउने भन्दा पनि समाधान गर्ने बाटोमा अघि बढ्ने सहमति गरेर बैंकर्स र व्यापारी अर्थ मन्त्रालयबाट बाहिरिएका छन् । बैंकहरुलाई कस्तो निर्देशन दिने भन्ने विषयमा अहिले अर्थमन्त्री खतिवडा, गभर्नर नेपाल र अर्थसचिव राजन खनालबीच छलफल भैरहेको छ । 

बैंकहरुले चर्को ब्याजदर नघटाउँदा उद्योग व्यापारमा समस्या परेको भन्दै उद्योगी व्यापारी आन्दोलनमा छन् । उनीहरुले गएको शनिबार प्रधानमन्त्रीसँग पनि छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री ओलीले तत्कालै ब्याजदर घटाउन अर्थमन्त्री र गभर्नर चिरिञ्जिवी नेपाललाई  निर्देशन दिँदै ब्याजदर नघटे आफूले हस्तक्षेप गर्ने चेतावनी दिनुभएको थियो ।

उद्योगी व्यापारीले ब्याजदर घटाउन माग गर्दै आन्दोलन गरे पनि बैंकरहरुले भने अहिले ब्याजदर घटाउन सक्ने अवस्था नरहेको बताउँदै आएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया