महायज्ञबाट बनाउन थालिएको क्यान्सर अस्पताल सञ्चालनको तयारीमा

 असार ९, २०७५ शनिबार १८:१६:२० | गोविन्द शर्मा
unn.prixa.net

बाँके – खजूराका बासिन्दाले यज्ञ लगाएर संकलन गरेको रकमबाट निर्माण सुरु भएको क्यान्सर अस्पताल झण्डै १० वर्षपछि संचालनको अन्तिम चरणमा पुगेको छ ।

आर्थिक वर्ष २०६६/६७ मा स्वास्थ्य मन्त्रालयबाट १०० शैयाको पूर्वाधार निर्माण स्वीकृति लिए पनि अहिले ५९ शैया निर्माण भएको छ । अस्पतालका लागि स्थानीय बासिन्दाले धनधान्याञ्चल महायज्ञबाट तीन करोड २६ लाख रुपैयाँ संकलन गरेका थिए भने सरकारले २७ करोड रुपैयाँ अनुदान दिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले अस्पतालको बहिरङ्ग सेवाको सुभारम्भ गर्ने कार्यक्रम तय भएको अस्पताल विकास समितिका अध्यक्ष किस्मतकुमार कक्षपतीले जानकारी दिनुभयो । 

अस्पतालमा बहिरङ्ग सेवा संचालन भएपछि क्यान्सरका बिरामीलाई पहिलो चरणको सेवा दिने र थप उपचार आवश्यक पर्ने बिरामीलाई भरतपुरलगायतका अन्य क्यान्सर अस्पतालमा रिफर गरिने अस्पतालले जनाएको छ । अहिले ओपीडी भवन निर्माण भइसकेकाले बहिरङ्ग सेवा सुरुवात गर्न लागिएको र अब रेडियोलोजी तथा रेडियसन भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष कक्षपतीले जानकारी दिनुभयो । 

ओपीडी भवनमा ल्याब, एक्सरे, भिडियो एक्सरे जडान भइसकेको छ भने मोडुलर ओटी जडान गर्ने काम भइरहेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर विश्वराम पौडेलले जानकारी दिनुभयो । क्यान्सर अस्पताललाई आगामी आर्थिक वर्षका लागि सरकारले २० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । क्यान्सर रोगको सम्पूर्ण उपचारका लागि उपकरण खरिदमा अझै पनि करिब १६ करोड रुपैयाँ अपुग देखिएको अस्पताल विकास समितिका अध्यक्ष कक्षपतीले जानकारी दिनुभयो । 
अस्पतालका कार्यकारी निर्देशक डाक्टर पौडेलले बहिरङ्ग सेवा संचालन भएसँगै स्तन क्यान्सर र पाठेघरको क्यान्सरको भीआईए परीक्षण पनि सुरु हुने जानकारी दिनुभयो । अस्पतालले विशेषज्ञ चिकित्सकको माग गरेपनि पर्याप्त आवेदन नपरेको उहाँले बताउनुभयो । 
‘बहिरङ्ग सेवाको सुरुवातपछि केमो सेवा पनि सुरु गर्ने तयारीमा छौं’, डाक्टर पौडेलले भन्नुभयो, ‘छिटोभन्दा छिटो क्यान्सर उपचार सुरुवात गर्न प्रयासरत छौं ।’ 
 

अन्तिम अपडेट: चैत १३, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया