ससुरालीले जोक्कर भन्लान् कि भन्ने डर लाग्थ्यो : जितु नेपाल

 फागुन १३, २०७५ सोमबार १८:३०:४९ | मनोज दाहाल
unn.prixa.net

काठमाण्डाै – कुनै समय थियो कलाकार जितु नेपाल कसैलाई एकदमै मन पराउँथे । तर उनले मन पराएकी युवतीले भने उनलाई वास्ता नगर्ने रहिछन् । जब ती युवतीले जितुलाई मन पराउन थालिन जितुको उनीप्रतिको चाहना मरिसकेको थियो । उनको पहिलो प्रेम फक्रन नपाउँदै ओइलायो ।

२८ वर्षको भएपछि जितुलाई घरबाट बिहे गर्न दबाब आउन थाल्यो । मागी बिहेको कुरा अघि बढ्यो । नातेदारमार्फत एउटी केटीको कुरा आयो । केटीको नाम मुना थियो । केही आफन्तसहित जितु ती युवतीलाई हेर्न गए । उनीहरुले एकअर्कालाई मन पराए, र बिहे हुने भयो ।

मुना र जितुको विवाह भएको १४ वर्ष पूरा भइसकेको छ । १४ वर्षअघि आजैका दिन उनीहरु विवाह बन्धनमा बाँधिएका थिए । प्रस्तुत छ, वैवाहिक जीवनबारे उनीसँगको अन्तर्वार्ताको सम्पादित अंश उनकै शब्दमा ।

पहिलो पटक केटीको घर जाँदा हिलोमा चिप्लिएर लडेँ 

महाराजगञ्जको नारायणगोपाल चोक नजिकै मुनाका आफन्तको डेरा थियो र त्यही डेरामा हाम्रो पहिलो भेट भयो । पहिलो भेटमा एकअर्कालाई हेराहेर भयो ।त्यतिबेला म  गीताञ्जलि नामक टेलिभिजन कार्यक्रम चलाउँथे । पहिलो पटक केटी हेर्न जाँदा धुस्रे र फुस्रे भएर पुगेको थिएँ । भेट्नेबित्तिकै मैले मुनालाई नमस्कार गरेको अझै सम्झिन्छु । 

त्यो बेलासम्म मैले मुनालाई चिनेको थिइनँ । पछि मात्र थाहा भयो मैले जसलाई नमस्कार गरेको थिएँ, मुना उनै रहिछन् । पहिलो पटकको हेराइमा नै मलाई मुना मन परिसकेकी थिइन् । त्यसपछि त मलाई मुनाले अस्वीकार पो गर्ने हुन् कि भन्ने डर लाग्न थाल्यो । 

त्यसैले पनि म जति सक्दो छिटो विवाह गर्न चाहन्थेँ । तर हामीले एक अर्कालाई हेरे पनि मुनाका बुवाआमाले नहेरी कुरा अघि बढ्न सम्भव थिएन । त्यसको केही दिनपछि मलाई मुनाको घर मै आउन निम्ता आयो । मेरो खुशीको सीमा थिएन । मलाई कतिखेर मुनालाई भेट्ने र हेर्ने जस्तो भैसकेको थियो । 

उनलाई भेट्नको हतारले मैले तीव्र गतिमा बाइक चलाएर मुनाको घर फर्पिङतिर लागेँ । बाटो चिप्लो थियो म त चिप्लिएर लडेँ, हिलाम्मे भएँ । 

हिलोले सबै लुगा बिग्रियो । त्यहाँ नजिकै कुवा रहेछ, कुवामा गएर हिलो यसो पुछपाछ गरेर मुनाको घर पुगेँ । अन्ततः मुनाको आमाबुवा पनि छोरी दिन सहमत हुनुभयो । 


पहिले उनैले फोन गरिदिए हुन्थ्यो जस्तो लाग्थ्यो

उनको घरबाट फर्किनुभन्दा पहिला उनलाई आफ्नो फोन नम्बर दिन चाहन्थेँ, तर अप्ठ्यारो लाग्यो । परिवारकै एक सदस्यलाई नम्बर दिएर फर्किएँ । उनले आफैले बुझेर फोन गरिदिए हुन्थ्यो जस्तो लागेको थियो । त्यतिबेला म अपरिचित नम्बरबाट फोन आउनासाथ हत्तपत्त उठाइहाल्थेँ, मुनाले नै हो कि भनेर ।

एक दिन त्यसै भयो, नयाँ नम्बरबाट फोन आयो । मैले पनि फोन उठाएर सोधिहालेँ, ‘को बोल्नु भएको ?’ उताबाट उत्तर आयो, ‘म मुना बोलेको ।’ म खुसीले उफ्रिएँ फ्याट्टै सोधिहालेँ, ‘ए तिमी, के छ खबर ? तिमीलाई म मन परेँँ कि नाइँ ? बिहे गर्ने होइन त ?’ उनले लजाउँदै भनिन्– ‘छ्या तपाईंँ त ।’ 

त्यसपछि त के थियो र, भर्खरै लभ परेका केटाकेटी जस्तै हामीहरु  फोनमा झुम्मिन थाल्यौँ । उनी परिवारमा भएका कुराकानी मलाई सुनाउन थालिन् । उनी आफ्नो परिवारको बारेमा जति सुनाउँथिन् मलाई त्यति नै आफ्नोपनको अनुभूति हुन्थ्यो ।

फोटो हेर्ने बाहनामा भेट

एक दिन उनले केही अगाडि खिचिएका फोटो हेर्ने भनिन् । यही बहानामा भेट गर्नु थियो । मलाई पनि देख्न मन लागिरहेको थियो । उनलाई कलंकीमा भेटेँ अनि कालिमाटीको बेकरी क्याफेमा ल्याएँ । मम अर्डर गर्याैां । बेकरीमा सँगै बस्दा अलि अप्ठ्यारो लाग्यो । 

उनले मेरो प्रशंसा गरिन्, मैले उनको । निकै समयदेखि सोध्न मन लागिरहे जसरी अनकनाउँदै सोधिन्– ‘तपाईँ ड्रिङ्स गर्नुहुन्छ कि हुन्न?’ 

मैले नढाँटी भनेँ, ‘अलि–अलि गर्छु ।’ आधा घण्टा त्यहाँ बसेपछि उनलाई घर पुर्याइदिएँ र म फर्किएँ । 

अन्माउने बेला मुना रुँदा नरमाइलो लाग्यो

२०५९ फागुन १३ गते हाम्रो बिहे भयो । तुलसी घिमिरे, शिवहरि पौडेल, दीपकराज गिरी लगायत कलाकर्मी जन्ती हुनुहुन्थ्यो । साथीहरू मलाई जिस्क्याउँदै थिए । हाँस्य कलाकारबीच बिहेको माहोल नै रमाइलो थियो । 

बिदाइका बेला बेहुलालाई बोकेर बाहिर निकाल्ने चलन रहेछ तर मलाई भने त्यो ठिक लागेन र मैले भो पर्दैन भने ।  हैन, बोक्नैपर्छ भन्न थालेपछि मैले पनि जोक्स गरिदिएँ, ‘बोक्ने नै हो भने कि त बोकेरै घरसम्म पुर्‍याउनुपर्छ, होइन भने एकैछिनको लागि बोक्नुर्दैन ।’

मुना अन्माउने बेला रुन थालिन् । मलाई नरमाइलो लाग्यो । अब बेहुलो न परियो, सबैका अगाडि नरोउँ भन्दै फकाउन पनि नमिल्ने । मनमा नरमाइलो लागिरहेको थियो । 

ससुरालीले जोक्कर भन्लान् कि भन्ने डर लाग्थ्यो

मेरो वास्तविक लभ चाहिँ विवाहपछि पर्‍यो । बिहेपछि म उनलाई मुना भनेर सम्बोधन गर्थें, उनी बाबा भनेर बोलाउँथिन् । अहिले पनि त्यसै गर्छौंँ । बिहेको दुई महिनामै बुबा बित्नुभएपछि हामी हनिमुन मनाउन गएनौँ ।

गीताञ्जली कार्यक्रम सकेर राति १०–११ बजे आउँदा उनी रिसाउँथिन् । बिहे गरेका दुई वर्षपछि पहिलो सन्तानका रुपमा छोरी समृद्धि जन्मिइन्, त्यसको दुई वर्षपछि छोरो सक्षम जन्मियो । 

एकपटक कार्यक्रमकाे सिलसिलामा मुनालाई पनि पूर्वाञ्चलतिर लिएर गएको थिएँ । त्यहाँ मलाई जतिखेरै अन्त व्यस्त भएको देख्दा उनी रिसाएजस्तो गर्थिन् । तर, अहिले त उनले यी सबै कुरा बुझिसकेकी छिन् ।

पहिलोपटक ज्वाइँ बनेर ससुराली जाँदाको अनुभूति पनि रमाइलै हुँदो रहेछ । सबैले सम्मान गर्ने । खानामा पनि अनेक प्रकारका तरकारी हुने । तर मलाई अप्ठ्यारो लाग्थ्यो । ज्वाइँ मान्छे केही बोलिहाल्न पनि भएन । यसै त हाँस्यकलाकारलाई जोकर भन्छन्, कतै कस्तो ज्वाइँ रैछ भनि पो हाल्छन् कि भन्ने डर लाग्थ्यो ।

छिनमै झगडा, छिनमै मिलन

नाम अनुसार हाम्रो राशि मेष र वृश्चिक हो । यी दुई राशि एकअर्कासँग कहिल्यै नमिल्ने र एकअर्कालाई नभइ नहुने पनि हुन्छन् रे । हाम्रो सम्बन्ध पनि त्यस्तै छ, छिनमै झगडा छिनमै मिलन । प्राय भान्सा सम्हाल्ने र कोरीबाटीमा समय लगाउने कुरामा उनीसँग ठाकठुक चल्छ । 

म सधैँ भान्सा तिमीले नै सम्हाल्नुपर्छ भन्छु । उनी चाहिँ तपाईंले परिवारसँग बढी समय बिताउनुपर्छ भनेर करकर गर्छिन् । कतै पार्टीमा जानुपर्दा म एकैछिनमा तयार भइहाल्छु, उनलाई भने मेकअप गर्नमै समय लाग्छ ।

यस्तै कुरामा सामान्य ठाकठुक पर्छ । तर विवादलार्ई सामान्य बनाउन म नै अघि सर्छुृ, ‘जीवनमा म तिमीसँग जहिल्यै पनि हारेको छु ।’ यस्तो सुन्दा उनी फिस्स हाँस्छिन्, मलाई पनि रमाइलो लाग्छ । 

हामीबीच उमेरमा आठ वर्षको फरक छ । कहिलेकाहीँ मनमुटाव भए पनि सुखसाथ जीवन बिताइरहेका छौँ । उनले मेरो जीवन सार्थक बनाएकी छिन् । उनीबिनाको मेरो जीवन निरर्थक झैँ लाग्छ ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया