तातोपानी कुण्डमा डुबेर शरीर र मनको मैलो पखालियो, पार्टीलाई शुद्दीकरण गरौं: नेता पौडेल

 फागुन २५, २०७५ शनिबार २०:२३:४७ | प्रताप बानियाँ
unn.prixa.net


म्याग्दी – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षको अवधिमा वर्तमान सरकारले केही पनि काम नगरेको बताउनुभएको छ । 

नेपाली कांग्रेस म्याग्दीको बिपी स्मृति भवनको उद्घाटन र बेनीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले एक वर्षमा सरकारले एउटा पनि काम गर्न नसकेको बताउनुभएको हो । 

सभापति देउवाले चुनावमा विभिन्न आश्वासनहरु बाँडेर कम्युनिष्टले चुनाव जिते पनि गएको एक वर्षमा जनताको पक्षमा काम नगरेको आरोप लगाउँदै केपी ओली नेतृत्वको सरकारले काम गर्ने शैली सुधार नगरे नेपाली कांग्रेस आन्दोलनमा जान बाध्य हुने बताउनुभयो । 

उहाँले देशमा भ्रष्टाचार बढेको, हत्या हिंसा लुटपाट र बलात्कारका घटनाहरु दिनानुदिन बढिरहेको भए पनि सरकारले केही गर्न नसकेको भन्दै कम्युनिष्ट सरकारविरुद्ध देशैभर आन्दोलन गर्ने चेतावनी दिनुभयो । 

सोही आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले १ वर्षमा विकासको जग नभई भ्रष्टाचारको जग बसालेको आरोप लगाउनुभयो । 

उहाँले देशमा भ्रष्टाचार मौलाउँदै गएको, वाइडबडी विमान खरिद प्रकरण सेलाएको र ३३ किलो सुनकाण्ड कता हरायो ? भनेर सरकारलाई प्रश्न गर्दै सुनकाण्डमा सानालाई कार्वाही गरेको र ठूला मान्छेहरु दुलाभित्र पसेर बसेको बताउनुभयो । 

नेता पौडेलले पार्टी सभापति देउवाप्रति लक्षित गर्दै तातोपानी कुण्डमा नुहाएर शरिरको मैलो र मनको मैलो पखालिएको हुँदा पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो

नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले कांग्रेस नेतृत्वको सरकारको पालामा सुरुवात गरिएका कामलाई अहिलेको सरकारले आफूले गरेको भनेर गलत प्रचार गरेको बताउनुभयो । 

उहाँले अहिले कुनै किसिमको बाधा व्यवधान नभए पनि सरकारको कामले गति लिन नसकेको भन्दै उहाँले बहुमतले शासन गर्दैगर्दा विवेक प्रयोग गर्न नसके दुर्घटना हुनसक्ने बताउनुभयो । 
     

अन्तिम अपडेट: चैत २७, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया