स्याटेलाइट नेपालको, काम भारत र चीनकै

३ अर्ब नहुँदा मेगा स्याटेलाइट बनेन

 फागुन २६, २०७५ आइतबार १३:५३:१२ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाडौँ – नेपालले आफ्नै पहिलो भू–उपग्रह अर्थात ‘स्याटेलाइट’ प्रक्षेपण गर्दैछ । छात्रवृत्तिमा जापान पढ्न गएका नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले नेपालकै स्याटेलाइट निर्माण गरेका हुन् । उनीहरुले निर्माण गरेको ‘नानो स्याटेलाइट’ आउँदो वैशाखमा अमेरिकाबाट प्रक्षेपण गरिनेछ ।

मास्के यसअघि नै अध्ययनका लागि जापान गएका थिए । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) मा प्राविधिक अधिकृत पदमा कार्यरत श्रेष्ठ भने ६ महिनाअघि मात्रै जापान पुगेका हुन । जापानको क्युटेक विश्वविद्यालयमा अध्ययनरत दुवै वैज्ञानिक स्याटेलाइट निर्माणमा अनुसन्धान गरिरहेका छन् । 

विश्वविद्यालयको स्याटेलाइट निर्माण युनिटमा समावेश दुवै वैज्ञानिकले नेपालको स्याटेलाइट निर्माण गरेका हुन । यसअघि अरु देशको स्याटेलाइट निर्माण गरिरहेको युनिटले नेपालका लागि पहिलो स्याटेलाइट निर्माण गरेको नास्टका प्रविधि संकायका प्रमुख डा.रवीन्द्र ढकालले जानकारी दिनुभयो ।

‘विश्वविद्यालयको स्याटेलाइट निर्माण युनिटले यसअघि अरु देशका लागि स्याटेलाइट बनाउँदै आएको थियो’ उहाँले भन्नुभयो, ‘नेपाली वैज्ञानिक पनि सहभागी भएपछि हाम्रो आग्रहमा नेपालको स्याटेलाइट निर्माण भएको हो ।’

नेपालको पहिलो तर न्यानो स्याटेलाइट

उहाँका अनुसार स्याटेलाइट निर्माणका लागि राष्ट्रिय योजना आयोग  र सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सिफारिसमा नास्टले जापानको क्युटेक विश्वविद्यालयलाई आग्रह गरेको हो । डेढ वर्षअघि गरेको आग्रह अनुसार निर्माण भइरहेको नेपालको पहिलो स्याटेलाइट डेढ महिनापछि अमेरिकाबाट प्रक्षेपण गरिने छ ।

नास्टले नै दिएको १ करोड ५० लाख रुपैयाँमा निर्माण भएको स्याटेलाइट पूर्णतया दुई जना नेपाली वैज्ञानिककै अग्रसरतामा निर्माण भएको वैज्ञानिक ढकालले बताउनुभयो ।  ‘छात्रवृत्तिमा अध्ययन गर्न गएका दुई विद्यार्थीलाई दिइएको १ करोड ५० लाख रुपैयाँमा स्याटेलाइट निर्माण भएको हो । यसका लागि छुट्टै अरु बजेट लागेको हो ।’ उहाँले भन्नुभयो ।

नेपालले पहिलो पटक प्रक्षेपण गर्न लागेको यो स्याटेलाइट ‘नानो’ अर्थात सानो हो । जुन अहिले भारत र चीनका स्याटेलाइटबाट पैसा तिरेर नेपालले लिइरहेको ‘एक्सिस’ यसबाट लिन सकिँदैन । अर्थात् नेपालले वार्षिक ३ अर्ब भाडा तिरेर भारत र चीनकै स्याटेलाइटबाट आफ्ना कामलाई निरन्तरता दिनुपर्नेछ ।

‘नानो स्याटेलाइट’बाट नेपालले तत्काल केही तस्बिर र जानकारी मात्रै लिनेछ । पृथ्वीकै अक्षमा राखिने यो स्याटेलाइटबाट नेपालले आफ्नो भूगोल, मौसम, इन्टरनेट एक्सिस र अरु स्याटेलाइटका जानकारी पनि प्रदान गर्नेछ ।

स्याटेलाइटबाट आउने सूचना संकलनका लागि ललितपुरको खुमलटारमा रहेको नार्क परिसरमा ‘ग्राउण्ड स्टेशन’ निर्माण गरिंदैछ । यसका लागि ३० लाख रुपैयाँ खर्च लाग्नेछ ।

नास्टका प्रविधि संकाय प्रमुख ढकालका अनुसार झण्डै दुई करोड रुपैयाँको लागतमा ‘न्यानो स्याटेलाइट लञ्च’ गरिनेछ ।  

काम भारत र चीनकै स्याटेलाइटबाट !

अहिले नेपालमा स्याटेलाइटका जति पनि काम छन्, ती सबै चीन र भारतका स्याटेलाइटबाट भइरहेको हो । यसका लागि नेपालले वार्षिक ३ अर्ब रुपैयाँ भाडा तिर्नु परिरहेको छ । 

‘मेगा स्याटेलाइट’बाट अहिले भइरहेका काम नानो स्याटेलाइटबाट हुन सक्दैन । त्यसैले केही तस्बिर र जानकारी नानो स्याटेलाइटबाट लिन सकिने भए पनि अहिले भइरहेका कामका लागि भारत र चीनकै स्याटेलाइटमा भर पर्नुपर्ने नास्टका वैज्ञानिक ढकालले बताउनुभयो ।

‘हामीले न्यानो स्याटेलाइट निर्माणका लागि जुन पहल गरेका छौँ,  यसले नेपालमा अनुसन्धान क्षेत्र विस्तार हुनेछ । त्योभन्दा ठूलो कुरा हाम्रो आफ्नै स्याटेलाइट हुनेछ । तर मेगा स्याटेलाइटबाट अहिले भइरहेका काम भने भारत र चीनकै सहयोग लिइरहनुपर्नेछ’ उहाँले भन्नुभयो । 

उहाँका अनुसार ३ अर्ब बजेटमा मेगा स्याटेलाइट पनि प्रक्षेपण गर्न सकिन्छ । तर सरकारको लगानी र ध्यान नपुगेकाले बर्सेनि अर्बौ रुपैयाँ विदेसिए पनि नेपालले आफ्नै स्याटेलाइट निर्माण गर्ने विषयमा कुनै अग्रसरता लिन सकेको थिएन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने अबको तीन वर्षमा मेगा स्याटेलाइट निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । 

विज्ञान र प्रविधिमा लगानी कति छ ?

नेपालको कूल ग्राहस्थ उत्पादन अर्थात जीडीपी अनुसार विज्ञान र प्रविधिको क्षेत्रमा शून्य दशमलव ३८ प्रतिशत बजेट मात्रै छुट्याइने गरेको छ । यसअघि विज्ञान तथा प्रविधि मन्त्रालय गठन गरिए पनि सरकारपिच्छे त्यसलाई गाभ्ने र टुक्र्याइने गरेको छ ।

अहिले विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा मन्त्रालयमा गाभेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बनाइएको छ ।

शिक्षामा वार्षिक कूल जीडिपीको १० प्रतिशत बजेट छुट्याइए पनि विज्ञान तथा प्रविधिमा भने अहिलेसम्म १ प्रतिशत बजेट पनि छैन । जसकारण नेपालको अनुसन्धान क्षेत्रमा थुप्रै अवसर भए पनि वैज्ञानिकहरु विदेश पलायन हुन बाध्य छन् ।

विज्ञान तथा प्रविधि क्षेत्रमा लगानी र आकर्षण बढाउन नास्टले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवद्र्धन नीति २०७५’ निर्माण गरेको छ । नास्टका बरिष्ठ वैज्ञानिक दिनेश भुजुको नेतृत्वमा गठित ९ सदस्यीय समितिले निर्माण गरेको नीतिको मस्यौदा गएको हप्ता शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई बुझाइएको छ ।

‘विज्ञान र प्रविधिको क्षेत्रमा बजेट बढाउन र स्थानीय तहदेखि नै नयाँ नयाँ आविष्कारलाई प्रोत्साहन गर्न नयाँ नीति निर्माण गरेका छौँ’ समितिका सदस्य तथा नास्टका अर्का बरिष्ठ वैज्ञानिक सुरेश ढुंगेलले भन्नुभयो, ‘नीतिको मस्यौदा सरकारमार्फत संसदमा पेश भएर आएमा नेपालको विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ उपलब्धि हात लाग्नेछ ।’ 

यसअघि २०४६ सालमा विज्ञान तथा प्रविधि कार्यविधीमा टेकेर नास्ट गठन भएको थियो । त्यसपछि २०६१ सालमा यो कार्यविधि परिमार्जन भएपनि कार्यान्वयन हुन सकेको थिएन ।

नेपाल दक्षिण एसियाको चौथो देश 

स्याटेलाइटमा भारत दक्षिण एसियाको शक्तिशाली देश हो । भारतसँगै पाकिस्तानसँग पनि आफ्नै स्याटेलाइट छ । भारत र पाकिस्तानपछि आफ्नै स्याटेलाइट हुने देश बंगलादेश हो ।

जसले केही वर्षअघि मात्रै मेगा वा पूर्ण स्याटेलाइट प्रक्षेपण गरेको हो । आफ्नै स्याटेलाइट हुने चौथो देश नेपाल बनेको छ । तर पूर्ण क्षमताको मेगा स्याटेलाइट प्रक्षेपण गर्न नेपाललाई अझै केही वर्ष लाग्नेछ ।

दक्षिण एसियामा अफगानिस्तान, श्रीलंका, भुटान र माल्दिभ्ससँग अहिले पनि आफ्नै स्याटेलाइट छैन । 

अन्तिम अपडेट: चैत १२, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

2 Comments

  • Arun

    March 12, 2019, 5:02 p.m.

    Nepal is not the 4th country to have satellite, because Bhutan has already nanosatellite in the space, under Birds-2 project and under Birds-3, Nepal and Srilanka are going to launch in April.

  •  0 Reply
  • Swabhiman Sapkota

    March 10, 2019, 10:58 p.m.

    बार्षिक ३ अरब भाडा तिर्न बजेट हुने तर त्यहि ३ अरब आफ्नो स्यटलाइट बनाउन लाई नहुने ?

  •  0 Reply

तपाईको प्रतिक्रिया