औषधि भन्दै खानामा जडिबुटी मिसाएर खाएपछि एककाे मृत्यु, पाँच बिरामी

 फागुन २८, २०७५ मंगलबार २०:२८:२० | सन्ताेष रुचाल

धनकुटा –  औषधि भन्दै खानामा जडिबुटी मिसाएर खाना खाएपछि बिरामी परेका धनकुटा नगरपालिका–९, बेलहाराका माधव प्रधानको मृत्यु भएको छ । 

सोमबार बेलुकी खानामा जडिबुटी मिलाएर खाएर सुतेका प्रधान राति बिरामी भएपछि मंगलबार बिहान उपचारका लागि धनकुटा अस्पताल लगिएको थियो । धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । ६२ वर्षीय प्रधान बेलुकीको खाना खाएर सुत्नु भएको थियो । प्रधानसँगै परिवारका अन्य ५ जनालाई नै रिंगटा लाग्ने वान्ता आउन थालेपछि छिमेकीको सहयोगमा अहिले धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । 

प्रधानको परिवारका बिरामी परेका थप ५ जना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको एसपी गुरुङले जानकारी दिनुभयो । मृतक प्रधानले ताप्लेजुङको पाथिभारा मन्दिर दर्शन गर्न जाँदा गएको मंसिरमा जिउ नदुख्ने औषधि भनेर मन्दिर छेउमा बेच्न राखिएको जडिबुटी किनेर ल्याउनु भएको थियो ।

सोमबार घरमा पूजाआजा सकेपछि जडिबुटी पकाएर खानासँग खाएपछि उनीहरुलाई रिंगटा लाग्ने, वान्ता आउने समस्या सुरु भएको थियो । जडिबुटीलाई बेलुकाको खानामा मिसाएर खाने सल्लाह अनुसार जडिबुटी मिसाएको खाना सबै परिवारले खाएपछि बिरामी परेको पारिवारिक स्रोतको बताएको छ ।     

बिरामी हुनेमा मृतक प्रधानकी ६१ वर्षीया श्रीमती नरमाया प्रधान, ३७ वर्षीया छोरी सिमा प्रधान, ३१ वर्षीया छोरी कविता प्रधान, ३१ वर्षीय ज्वाइँ दिपक प्रधान र नाति ११ वर्षीय कुशल प्रधान रहेको एसपी गुरुङले बताउनुभयो । जडिबुटी विषाक्त भएकाले परिवार नै बिरामी परेको हुन सक्ने भएपछि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

मृतक स्वयम्ले जडिबुटी ताप्लेजुङबाट खरिद गरी ल्याएकाले कोबाट कसरी किनेको भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया