विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारकाे निर्णय !

 फागुन २८, २०७५ मंगलबार २१:०:४४ | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकाे छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

विप्लव नेतृत्वको नेकपाले राजनीतिक गतिविधिभन्दा पनि आपराधिक क्रियाकलाप अगाडि बढाएकाले त्यस समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उज्यालाे अनलाइनलाई जानकारी दिनुभयाे । परराष्ट्र मन्त्री ज्ञवालीले विप्लव समूहले राजनीतिक गतिविधि नगरेकाे र आपराधिक समूहले गर्ने गतिविधि गरेकाले एक आपराधिक समूहकै रुपमा व्यवहार गरिने जानकारी दिनुभयाे ।

आपराधिक समूह घाेषणा भएसँगै विप्लव समूहका नेता तथा कार्यकर्ता सबैलाई जुनसुकै बेला पनि प्रहरीले पक्राउ गरी कारबाही गर्न सक्नेछ ।

त्यस्तै विभिन्न राजनीतिक तथा सशस्त्र समूहसँग वार्ता गर्न गठन भएको तत्कालीन सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले आजै मात्र गृहमन्त्रीलाई भेटी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिविधिका बारेमा जानकारी दिएको उज्यालोलाई जानकारी दिनुभयो । 

विप्लव समूहलाई निरन्तर वार्ताका लागि आह्वान गर्दा पनि चासो नदेखाइ हिंसात्मक गतिविधिमा संलग्न भएको र नागरिकको जिउधनमाथि नोक्सान पुर्याउने खालका काम गरेकाले सरकार कडा कदम चाल्न बाध्य भएको पाण्डेले बताउनुभयो ।

‘विप्लवलाई कम आँक्नु हुन्न : चौकीमै हान्न सक्छन्’

वार्तामा आउनका लागि समूहका केन्द्रीय स्तरका नेतासँग पटक–पटक पहल हुँदा पनि तत्परता नदेखाएपछि क्याबिनेटले नेपाली नागरिकको जिउधनको सुरक्षाको ग्यारेण्टी गर्न विप्लव समूहलाई प्रतिबन्ध लगाएको र उनीहरुको गतिविधिमाथि निगरानी राख्ने कदम अगाडि बढाएको पनि पाण्डेले जानकारी दिनुभयो । 

वार्ता टोलीको समयावधि सकिए पनि आफूहरुले पटक–पटक अनौपचारिक रुपमा पहल गर्दा समेत कुनै चासो नदेखाइ हिंसात्मक गतिविधि देखाएकाले पनि विप्लव नेतृत्वको नेकपामाथि कडा कदम चाल्न सरकार बाध्य भएको पाण्डेले बताउनुभयो ।

आजै मात्र प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको बताउनु भएको थियो । 

प्रधानमन्त्रीले विप्लवका क्रियाकलाप गैरराजनीतिक भएको बताउँदै भन्नुभएको थियो, ‘बम पड्काउने, आतङ्कित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्, जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग केको वार्ता ? उनीहरुलाई कानुनबमोजिम नियन्त्रणमा लिइन्छ ।’

अन्तिम अपडेट: चैत १३, २०८०

उपेन्द्रराज पाण्डेय

उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया