प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
सल्यान – सल्यानको शारदा नगरपालिका १५ थाङनेखोला र शिद्ध कुमाख गाउँपालिका–१ पटारे जोड्ने झोलुंगे पुल चुँडिएको १६ वर्षसम्म पनि बन्न सकेको छैन । पुल बन्न नसकेपछि स्थानीय बासिन्दाहरुले समस्या झेल्दै आएका छन् ।
पुल बन्न नसक्दा स्थानीयले ज्यान जोखिममा राखेर खोला तर्ने गरेको स्थानीय त्रिभुवन कवरले बताउनुभयो । वर्षामासमा ज्यान जोखिममा राखेर खोला तर्छाैं,’ कवरले भन्नुभयो,‘अन्य समयमा भने काठको अस्थायी पुल बनाएर खोला वारपार गर्छौँ ।’
उहाँले नुनदेखि सबै कुरा खोला तरेर किन्न जानुपर्ने हुँदा पुल नहुँदा स्थानीयले निकै सास्ती भोग्नुपरेको बताउनुभयो ।
‘गाउँघरको सबै बेच्न खोला पारी जानुपर्छ,’ उहाँले थप्नुभयो, ‘बजारदेखि सडक यातायात पनि खोलापारी भएकोले पुल नहुँदा निकै समस्या छ ।’
१६ वर्ष अघि सो पुल स्थानीयहरु यात्रा गरिरहेको बेला चुँडिएको थियो । तत्कालिन माओवादीले सेनालाई लक्षित गरी पुलको एकतर्फको तार काटिदिएका कारण स्थानीयले यात्रा गरेको बेला पुल चुँडिदा एकजनाले ज्यान गुमाएका थिए ।
पुलको पुनर्निर्माणको लागि राजनितिक दलका नेताहरुले पटक पटक चुनावी एजेन्डा बनाए पनि पुलको पुनर्निर्माणका लागि कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ ।
२०५९ सालमा पुल चुँडिदा स्थानीय बुद्धिमान रावलको ज्यान गएको थियो भने केही घाइते भएका थिए । चुँडिएको पुल मर्मत नभएपछि लामो समयसम्म वेवारिसे रहेका पुलका सामाग्री समेत हराएका छन् ।
स्थानिय समाजसेवी विष्णु न्यौपानेले पुल नभएका कारण दैनिकजसो विद्यालय जाने बालबालिका बढी प्रभावित बनेको बताउनुभयो ।
यता शारदा नगरपालिका १५ का अध्यक्ष हेमेन्द्र सेजुवालले पुलको लागि आफूले केही ठाउँमा कुरा गरेको भए पनि अहिलेसम्म सफल नभएको बताउनुभयो ।
उहाँले पुल अति आवश्यक भएकोले पुनर्निर्माणमा सहयोगको लागि सबैलाइ आग्रह पनि गर्नुभयो ।