थकाली समुदायको ‘तोरन्ल पर्व’ - फागु पूर्णिमा सुरु (फोटाेफिचर)

 चैत ५, २०७५ मंगलबार १८:३८:१२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले आजदेखि तोरन्ल पर्व अर्थात यस वर्षको (फागु पूर्णिमा) मनाउन थालेका छन् ।

थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर तोरल्न पर्व हर्षोल्लासका साथ मनाउन सुरु गरेको हो । 

तोरन्ल पर्वको अवसर पारेर बेनीमा थकाली समुदायले तारो हान्ने खेल, भेषभूषा प्रदर्शनी र नाचगानलगायतका कार्यक्रमहरु आयोजना गरेका छन् ।

फागु पूर्णिमा पर्वलाई थकाली भाषामा तोरन्ल पर्व भनेर चिन्ने गरिन्छ । हिन्दू धर्मावलम्बीहरुले जसरी आफ्ना दिवङ्गत पितृको उद्दारका लागि श्राद्ध गर्ने गर्दछन् ।

त्यसैगरी थकाली समुदायले पनि फागु पूर्णिमाको अवसरमा आफ्नो पितृहरुको सम्झना गर्दै यो चाड मनाउने थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीले जनाएको छ । 

यस पर्वमा थकाली समुदायले आफ्ना छोरी ज्वाँई, भान्जाभान्जी, आफन्त तथा नातागोतालाई बोलाएर मीठामीठा परिकारहरु बनाएर खुवाउने प्रचलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचनले जानकारी दिनुभयो ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार, उत्तरी अन्नपूर्ण गाउँपालिकाको दाना र भूरुङ–तातोपानी तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दरबाङ क्षेत्रमा गरी जिल्लाभर झण्डै ३ सय घरधुरीको हाराहारीमा थकाली समुदायको बसोबास रहेको छ । 

यसैगरी नेपालमा १९ क्षेत्र तथा जापान र बेलायतमा एक–एक क्षेत्र रहेको थकाली सेवा समितिले जानकारी दिएको छ । आदिवासी जनजातिभित्र पनि थोरै सङ्ख्यामा थकाली समुदाय रहेका छन् ।

यस पर्वको अवसरमा थकाली समुदायको अभिन्न अङ्ग मानिने तारो हान्ने खेल (धनुषवाण) आयोजना गरिएको छ ।

तोरन्ल पर्व (फागुपूर्णिमा) तथा ताराेखेलको म्याग्दीको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।

आउँदो तीन दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरेर तोरन्ल पर्व मनाइने थकाली सेवा समिति बेनी क्षेत्रका सचिव सुन्दरमान शेरचनले बताउनुभयो । 

उहाँका अनुसार पाँचवटा पर्व मनाउने थकाली समुदायमा सबैभन्दा प्रमुख चाड तोरन्ल पर्वलाई मानिएको छ ।

सबैसँग मिलेर बस्न सक्ने, सरसफाइमा ध्यान दिने र मीठोमीठो खानाका साथै परिकारहरु बनाउने विशेषता थकाली समुदायसँग रहेको छ ।

‘खाना मीठो थकाली’को भन्ने भनाइ पनि सुन्नमा पाइन्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया