प्रहरीका २ भ्यान एक आपसमा ठोक्किए

 चैत ६, २०७५ बुधबार ९:१५:५२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – इलाका प्रहरी कार्यालय पाटन बैतडीको बा १ झ १२३९ नम्बरको भ्यान र जिल्ला प्रहरी कार्यालय दार्चुलाको ना १ झ ५८५ नम्बरको भ्यान एक आपसमा ठोक्किएका छन् । 

बैतडीबाट पाटनतर्फ गइरहेको इलाका प्रहरी कार्यालय पाटनको भ्यान र दार्चुलाबाट बैतडी सदरमुकाम गइरहेको जिल्ला प्रहरी कार्यालयको भ्यान आपसमा जुधेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो ।

मंगलबार बेलुका ७ बजेतिर दशरथचन्द राजमार्गको दशरथचन्द नगरपालिका–४ कठपतेमा ठोक्किएका भ्यानहरुमा दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाही र इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटी सवार हुनुहुन्थ्यो । भ्यान एक आपसमा ठोक्किए पनि प्रहरी प्रमुखसहित अन्य प्रहरी सुरक्षित रहेका छन् । सामान्य चोटपटक बाहेक अन्य क्षति नभएको र ठोक्किएका दुबै भ्यानहरुको अघिल्लो भागमा मात्रै क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको भ्यान मर्मतका लागि बैतडी सदरमुकामतर्फ गइरहेको र इलाका प्रहरी कार्यालय पाटनको भ्यान जिल्ला अदालतबाट थुनुवाको म्याद थप गरी कार्यालयतर्फ फर्किरहेको बेला दुर्घटनामा परेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया