२६८ रोजगार संयोजकका लागि झण्डै १० हजारको आवेदन

 चैत ९, २०७५ शनिबार १९:१:१३ | उज्यालो सहकर्मी

काठमाण्डौं – प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयन लागि दोस्रो पटक माग गरिएको रोजगार संयोजकका लागि झण्डै १० हजार जनाले आवेदन दिएका छन् । 

२ सय ६८ जना संयोजकका लागि गएको फागुन ३० गते आवेदन माग गरिएकोमा ९ हजार ८ सय ७४ जनाको आवेदन परेको हो । आवेदन दिने शनिबारसम्मको म्याद दिएकोमा अधिकृतका लागि ६ हजार ९ सय ७१ जना र नायब सुब्बाका लागि २ हजार ९ सय ३ जनाको आवेदन परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

आवेदनहरुबाट तोकिएको मापदण्डका आधारमा स्वचालित कम्प्युटर प्रणालीबाट माग गरिएको सङ्ख्याको तीन गुणा बढीको नाम अबको १० दिनपछि प्रकाशित गरिनेछ । त्यसपछि कम्प्युटर प्रणालीबाटै परीक्षा लिएर संयोजक छनौट गरिनेछ । 

प्रदेश १ मा आवश्यक १३० अधिकृत तहमध्ये ६७ जना मात्र पास भएका छन् भने नायव सुब्बामा ७ जना मागिएकोमा ५ जनाको मात्र उत्तीर्ण भएका छन् । प्रदेश १ मा सुब्बामा २ र अधिकृत तहमा ६३ जनाको पदपूर्ति हुन बाँकी छ ।

प्रदेश २ का आवश्यक १३६ अधिकृतमा ९८ जनाले मात्र नाम निकालेका छन् भने ११२ सुब्बा चाहिनेमा ९५ जना मात्र उत्तीर्ण भएका छन् । प्रदेश २ मा सुब्बामा १७ र अधिकृत तहमा ३८ जनाको पदपूर्ति हुन बाँकी छ ।

प्रदेश ३ मा ११२ जना अधिकृत तहका कर्मचारी माग भए पनि ९५ जना मात्र पास भएका छन् । प्रदेश ३ मा अधिकृत तहमा १७ स्थानमा पदपूर्ति हुन बाँकी छ ।
गण्डकी प्रदेशमा पनि ७४ जना अधिकृत तहका कर्मचारी चाहिएकोमा ६१ जनाले मात्र नाम निकालेका छन् ।  गण्डकी प्रदेशमा अधिकृत तहमा १३ जनाको पदपूर्ति हुन बाँकी छ ।

प्रदेश पाँचमा अधिकृत तहमा चाहिने जति उम्मेदवार पास भएका छन् । तर नासू तहमा ६२ जना माग भए पनि २० जनाले मात्र कम्प्युटर परीक्षा पास गरेका छन् । सुब्बा तहमा ४२ जनाको पदपूर्ति हुन बाँकी छ ।

कर्णाली प्रदेशमा ६२ अधिकृत मागिएकोमा २० जना मात्र उत्तीर्ण भएका छन् भने १७ जना सुब्बा चाहिनेमा ९ जनाले मात्र नाम निकालेका छन् ।  कर्णाली प्रदेशमा अधिकृत तहमा २० र सुब्बामा ८ स्थानमा पदपूर्ति हुन बाँकी छ ।

सुदूरपश्चिममा ८२ जना अधिकृत तहका रोजगार संयोजक मागिएकोमा ३३ जना मात्र उत्तीर्ण भएका छन् । सुदूरपश्चिम प्रदेशमा अधिकृत तहमा ४९ स्थानमा पदपूर्ति हुन बाँकी छ ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया