इण्डियन प्रिमियर लिग : चेन्नईले बेंग्लाेरलाई ७ विकेटले हरायो

 चैत १०, २०७५ आइतबार ६:३७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

शनिबारदेखि सुरु भएको इण्डियन प्रिमियर लिगको पहिलो खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा भएको खेलमा चेन्नईले रोयल च्यालेञ्जर्स बेंग्लोरलाई ७ विकेटले पराजित गर्‍याे ।

टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोर १७.१ ओभरमा ७० रनमा अलआउट भयो । उसका लागि पार्थिव पटेलले सर्वाधिक २९ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् । यस क्रममा विराटन कोहली ६ रन, माइन अलि र एबी डि भिलियर्सले ९–९ रन बनाए । अन्यको प्रदर्शन अझ खराब रह्यो । 

चेन्नईले उत्कृष्ट फिल्डिङ देखाउँदा बैंग्लोरका ८ जना खेलाडी क्याचआउट भएका थिए । बलिङतर्फ हरभजन सिंह र इम्रान ताहिरले तीन तीन विकेट लिए भने रविन्द्र जडेजाले दुई तथा र ड्वाइन ब्राबोले एक विकेट लिए ।

७१ रनको कमजोर लक्ष्य चेन्नईले १७.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍याे । ओपनर शेन वाट्सन रनको खाता नै खोल्न नपाउँदै बाहिरिए पनि अम्बाती रायाडुले २८ तथा सुरेश रैनाले १९ रनको योगदान दिए । चेन्नईका ब्याट्सम्यान सुरेश रैना आईपीएलमा पाँच हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । विस्फोटक ब्याटिङ गर्ने रैना दुई हजार रन र तीन हजार रन पूरा गर्ने पहिलो खेलाडी पनि थिए ।  

यो संस्करण अघिल्ला संस्करणभन्दा पृथक रह्यो । अघिल्ला संस्करणमा तामझामका साथ उद्घाटन गर्दै आएको भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले यो पटक कार्यक्रममा केही पनि खर्च गरेन । उद्घाटन समारोहमा खर्च हुनेभन्दा बढी रकम बीसीसीआईले भारतीय सेनालाई दान दिएको छ । 

बीसीसीआईले भारतीय आर्मीलाई एघार करोड, केन्द्रिय रिजर्भ पुलिस फोर्सलाई ७ करोड दिएको छ भने भारतीय नेभरी र एयरफोर्सलाई एक–एक करोड दिएको छ ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया