सरकारले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्ने

 चैत १०, २०७५ आइतबार १३:२०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले तोकिएको भन्दा बढी शुल्क असुल गर्ने मेडिकल कलेजमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

शिक्षा सचिव खगराज बरालले तोकिएको भन्दा बढी शुल्क लिने गण्डकी मेडिकल कलेजलगायतका कुनै पनि कलेजको सम्बन्धन खारेज गर्नेलगायतका कडा कारबाही गर्ने चेतावनी दिनु भएको हो ।

आइतबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले सरकारको नियम विपरित कुनै पनि मेडिकल कलेजले बढी शुल्क लिएको पाइएमा सम्बन्धित पक्षले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने र यो सम्बन्धमा आवश्यक छानबिन गरी कारबाही गर्ने व्यवस्था पनि सरकारले गरिसकेको स्पष्ट पार्नुभयो । 

सरकारले चिकित्सा शास्त्र अन्तरगत एमबीबीएसका लागि उपत्यका भित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बीडीएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क तोकेको छ ।

सचिव बरालले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजमाथि छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वकै उच्च स्तरीय समिति बनाइएको पनि समितिलाई जानकारी दिनुभयो । उहाँले गण्डकी मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान गर्न मन्त्रिपरिषद बैठकले नै सम्बन्धित निकायलाई निर्देशन दिएको पनि स्मरण गराउनुभयो ।

सचिव बरालले गण्डकी मेडिकल कलेजलाई विद्यार्थीसँग उठाएको बढी शुल्क एक महिना भित्र फिर्ता गरिसक्न निर्देशन दिइएको पनि बताउनुभयो । उहाँले यो मेडिकल कलेजमा लगाइएको तालाबन्दी खोल्ने काम पनि सरकारले गरिसकेको बताउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले कानुन विपरित जथाभावी शुल्क असुली गर्ने मेडिकल कलेजमाथि कारबाही नगरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए । समितिका सदस्य खगराज अधिकारीले कानुन विपरित गतिविधि गरिरहेका मेडिकल कलेजहरुलाई किन कारबाही गर्न ढिलाई गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण समेत गराउनु भयो ।

समितिका अर्का सदस्य गगन थापाले मेडिकल कलेजहरुमा जथाभावी शुल्क असुली गर्नेलाई निलम्बन गर्नेलगायतका काम गर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले निजी मेडिकल कलेजहरुलाई जथाभागी शुल्क असुली गर्न नदिन सरकारले सरकारी मेडिकल कलेजलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

समितिले मेडिकल कलेजहरुले जथाभावी शुल्क असुल गर्न थालेको उजुरी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी तथा उनका अभिभावकहरुले गरेपछि सो सम्बन्धमा के भइरहेकोे छ ? भनेर सरकारसँग आवश्यक छलफल सुरु गरेको हो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया