राष्ट्रिय पूँजी निर्माणका लागि सरकार र निजी क्षेत्र मिल्नुकाे विकल्प छैन : डा. भट्टराई

 चैत १०, २०७५ आइतबार १४:२६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय सहमतिका साथ अघि बढन सरकारलाई आग्रह गर्नुभएको छ । 

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले वस्तु तथा सेवाको उत्पादनमा जोड दिएर आवश्यक योजना बनाउन पनि सरकारलाई सुझाव दिनुभयो । आइतबार संघीय संसदको अर्थ समितिको बैठकमा उहाँले तत्कालका निम्ति राष्ट्रिय औद्योगिक पूँजीमा जोड दिएर मात्रै समाजवादी उन्मुख अर्थतन्त्र निर्माण हुने भएकाले त्यसै अनुसारको योजना बनाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

संयोजक भट्टराईले राष्ट्रिय पूँजी निर्माणका लागि सरकार र निजी क्षेत्रले मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । उत्पादन र उत्पादकत्व बढाएर मात्रै राष्ट्रिय पूँजीको निर्माण गर्न सकिने संयोजक भट्टराईको भनाइ छ ।

संयोजक भट्टराईले राष्ट्रिय पूँजीको विकास गरेर मात्रै सामाजिक सुरक्षाको दायरालाई बढाउन सकिनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले पाँच वर्षभित्र मुलुकमा दोहोरो अंकको आर्थिक वृद्धि हुने दीर्घकालीन सोच सहितको १५ औं योजनाको खाका प्रस्तुत गर्नुभएको थियो । खाकाकाे एक वर्षभित्र करिब १ हजार मेघावाट जलविद्युत उत्पादन गर्ने उल्लेख गरिएको छ ।

तामाकोसी जलविद्युतलगायतको आयोजना सम्पन्न हुने भएकाले एक वर्षभित्र करिब १ हजार मेगावाट थप विद्युत उत्पादन गर्ने योजना तय गरिएको पनि राष्ट्रिय योजना आयोगका सहसचिव खोमराज कोइरालाले जानकारी दिनुभयो ।

आयोगले तयार पारेको १५ औं योजनाको मस्यौदामा मुलुकलाई समृद्ध बनाउन वैदेशिक लगानी भित्र्याउन जोड दिने पनि उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया