आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
आइतबारदेखि एसईई परीक्षा सुरु भएको छ । एसईई परीक्षामा अभिनेत्री करिश्मा मानन्धर पनि सहभागी भएकी छन् ।
एसईईको तयारीका लागि भनेर उनी विध्यालयमा भर्ना भएर नियमित कक्षासमेत लिएकी थिइन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन् । यही विद्यालयबाट उनले एसईई को तयारी गरेकी हुन् ।
अभिनेत्री मानन्धरले अध्ययन गरेको त्रिवेणी पब्लिक बोर्डिङ स्कुलको सेन्टर विजय स्मारक माविमा परेको छ । काठमाण्डौको डिल्ली बजारमा रहेको विद्यालयबाट उनले एसईई दिइरहेकी छिन् । करिश्माले कक्षा ७ पढ्दा पढ्दै पढाइबीचैमा छोडेर सिने क्षेत्रमा लागेकी थिइन् ।
उनी चलचित्र नगरीमा आउँदा मात्र १४ वर्षकी थिइन् । एकपछि अर्को चलचित्रमा प्रशंसा हुन थाले पछि उनले पढाई बिर्सिइन् र चलचित्र क्षेत्रमा नै रमाउन थालिन् ।
चलचित्रमा काम गरिरहँदा उनलाई पढाइको कत्ति पनि आवश्यकता महसुस भएन । उनी सुन्दर, सफल र कुशल अभिनेत्रीको नामले सबै माझ परिचित बन्दै गइन् । उनी लामो समय अमेरिका बसिन् । अमेरिकामा रहँदासम्म पनि उनलाई पढाईले बाधा गरेको थिएन । अमेरिकाको लामो बसाई पछि उनी नेपाल फर्किइन् ।
नेपाल फर्किए पछि भने उनी राजनीति तर्फ आकिर्षित भइन् । उनी डाक्टर बाबुराम भट्टराईको नायाँ शक्ति पार्टिमा आबद्ध भइन् । त्यसपछि भने उनलाई पढाई खड्किन थाल्यो । पढाईलाई उमेरले छेक्दैन भने जस्तैे उनलाई पनि उमेरले रोकेन । उनी कक्षा ८ बाट आफ्नो अध्ययनलाई अघि बढाइन् । विद्यालय त नियमित जान्थिन् नै त्यससँगै एकाउन्ट र गणित विषयको ट्यूसनसमेत पढ्न थालिन् ।
एसईईकै लागिउनले निकै मेहनत गरेकी छन् । उनले एसईई धेरै कुरा त्यागेकी छिन् । हरेक वर्षको होलीमा उनी आफ्नै घरमा साथीसँगसहित विभिन्न पत्रकारहरुलाई डाकेर रमाइलो गर्ने गर्थिन् । तर, यस वर्ष भने एसईई दिने भएकोले कसैलाई डाकिनन् । धेरैले उनलाई फोनसमेत गरे उनका कतिपय शुभ चिन्तक त उनको घरमै पुगेर फर्किए ।
विद्यालय भर्ना भएको सुरुवाती दिन करिश्माको लागि सहज थिएनन् । आफ्ना छोरी समान साथीहरुसँगै बसेर पढ्नुपर्दा उनीहरुसँग घुलमिल हुन निकै गाह्रो भयो । सबैजनाले धेरै बेर हेरिरहन्थे । तर, बिस्तारै उनले सबै कुरा स्वीकारिन् । आफूलाई सहज बनाइन् । ‘लक्ष्य लिए पछि असम्भव भन्ने के नै हुन्छ र’ उनी भन्छिन् ।
यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । एसईई परीक्षामा सहभागी परीक्षार्थी मध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।
मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।