प्रमुख निर्वाचन आयुक्त यादवले अवकाश लिए

 चैत १०, २०७५ आइतबार १७:११:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आइतबारबाट अवकाश लिनु भएको छ । 

२०६३ सालयता २ कार्यकाल प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएका प्रमुख निर्वाचन आयुक्त यादवले आइतबारबाट अवकाश पाउनु भएको हो ।

यादवलाई कान्तिपथमा रहेकाे निर्वाचन आयोगकाे कार्यालयमा आइतबार कार्यक्रम गरेर बिदाइ गरिएको छ । बिदाइ समारोहमा अवकाशप्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले ११ महिनाभित्र संघ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले लोकतन्त्रको सबलीकरणका लागि इमान्दारिताका साथ आफ्नो सवैधानिक दायित्व पूरा गर्न निर्वाचन आयोग सधैं सफल हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन गर्ने मिति कानुनमै व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गर्नुभयो । आम निर्वाचन लगायतका सबै निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्न निर्वाचन कानुनमै निर्वाचनको मितिसहितको कार्यतालिका तय हुनुपर्ने उहाँको तर्क छ ।

यादवले विभिन्न तहका लागि गर्नुपर्ने उपनिर्वाचनको काममा पनि ढिलाइ नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन छोटो समयमै सम्पन्न गराउन अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादव सफल हुनु भएको थियो ।

उहाँले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी पहिलो पटक २०६३ सालमा पाउनु भएको थियो । निर्वाचन आयोगको नेतृत्वको रुपमा सफल हुनु भएका यादवको पहिलोभन्दा दोस्रो कार्यकाललाई सफल मानिन्छ ।

यादवको अवकाशसँगै कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगकी आयुक्त इला शर्माले सम्हाल्नु हुनेछ ।

 

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया