प्रधानमन्त्रीलाई कांग्रेसकाे प्रश्न: वाइड बडी कहाँ गयो? वाइड बडी प्रकरण आकाशमा बिलायो?

 चैत १०, २०७५ आइतबार १८:२७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सदनको उपेक्षा गरेको आरोप लगाएको छ ।  

संघीय संसदको तेश्रो अधिवेशन अन्त्यको अवसरमा आइतबार प्रतिनिधिसभामा नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदारले सरकारले सदनलाई उपेक्षा गरेको टिप्पणी गर्नुभएको हो ।

उहाँले सार्वभौम संसदलाई उपेक्षा गर्ने सरकारको शैलीलाई नेपाली कांग्रेसले स्वीकार नगर्ने भन्दै सत्तापक्षलाई जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । उहाँले संसदलाई मिच्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो ।

प्रतिपक्षी दलको तर्फबाट सरकारलाई रचनात्मक समर्थन रहने भन्दै उहाँले सार्वभौम संसद, संविधान र लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाउने, स्वतन्त्र न्यायलयमाथि र प्रेसमाथिको हस्तक्षेप आफूहरुलाई स्वीकार्य नहुने बताउनुभयो ।

उहाँले लोकतन्त्रमा सरकार संसद प्रति उत्तरदायी हुनुपर्नेमा त्यसो हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकार संसदप्रति उत्तरदायी भएको देखिएन । यो संसदमा धेरै सवालहरु उठेका छन् । सरकार सदनप्रति उत्तरदायी हुन्छ तर सरकारले सदनको उपेक्षा गरेको छ । सदनभित्र जे प्रश्न उठिरहेका छन् सरकार अहिलेसम्म जवाफ दिन तयार भइरहेको छैन किन ?’ 

निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता नलागेबाट पनि देशकाे शान्ति सुरक्षाको अवस्था घामजस्तै छर्लङ्ग भएको भन्दै उहाँले शान्ति सुरक्षाको अवस्थाबारे सरकारले सदनमा किन जानकारी दिन सकेन भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो ‘सदनमा आवाज उठ्छ । सरकार भाग्छ । मन्त्रीहरुको जवाफ खोज्छ प्रश्नोत्तरमा । मन्त्रीहरु भाग्छन् । प्रधामन्त्री ज्यू कतिचोटी सदनमा आइतबारको दिन प्रश्नउत्तरमा उभिनुभएको छ ? सदनप्रति सरकार उत्तरदायी हुन सकेको छैन । जनताको सदन भन्दा शक्तिशाली सरकारक हुन सक्दैन । यही सदनबाट सरकार बन्छ र विघटन हुन्छ । यही सदनबाट बारम्बार सभामुख ज्युले रुलिङ गर्नुभएको छ । निर्देशन दिनुभएको छ । तर त्यो आदेशको पालना भएको छ सभामुख महोदय ?’ 

उहाँले लाल प्रतिवेदन सार्वजनिक गर्ने राजपाको मागमा पनि प्रधानामन्त्रीले गोलमोटल जवाफ दिएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्रीले भनेजस्तो भ्रष्टाचार नियन्त्रण नभएको उहाँले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचार नियन्त्रण भएको छैन । थियो भने वाइड बडी कहाँ गयो? वाइडवडी प्रकरण आकाशमा बिलायो? सुनका अपराधीहरु खोज्दै जाँदा ठूलो माछा भनेर भनिएका ठूला अपराधी को हुन् ? प्रधानमन्त्री ज्यूले बताइदिनुभएको भए हुन्थ्यो । यी ठूला माछाहरु अहिले फुत्किएका छन् है, सात समुन्द्र पार गएका छन\ है भनेर बताइदिएको भए सन्तुष्टि हुन्थ्यो ।’ 

उहाँले विप्लव समूहलाई शक्तिको प्रयोग नगरी रणनीतिक दृष्टिले वार्ता मार्फत सहमतिमा ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

विधेयक फिर्ता लिन माग

कांग्रेसले संसदमा दर्ता भएका ३ वटा विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ ।

उपनेता गच्छदारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुत्ततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सूचना प्रविधि विधेयक फिर्ता लिन आग्रह गर्नुभयो ।

राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधानविरुद्ध भएको टिप्पणी उहाँले गर्नुभयो ।

त्यसैगरी राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय प्राथमिकताका योजनाको नाममा प्रधानमन्त्रीलाई शक्तिशाली बनाउने गरी ल्याइएको र सञ्चार जगतको अधिकारलाई संकुचित गर्ने उद्देश्यसाथ सूचना प्रविधि विधेयक ल्याईएकाले यी विधेयक सरकारले फिर्ता गर्नुपर्ने तर्क उहाँले गर्नुभयो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया