अमेरिकी दबाबका बाबजुद हुवावेको राजश्वमा १९ प्रतिशतले वृद्धि

 चैत १५, २०७५ शुक्रबार १४:५२:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - विश्वको सबैभन्दा ठूलो टेलिकम (दूरसञ्चार) उपकरण निर्माता कम्पनी हुवावेको राजश्व सन् २०१८ मा १९.५ प्रतिशतले बढेर १०७.१३ अर्ब डलर पुगेको छ । 

पहिलोपटक कम्पनीको राजश्वले एकसय अर्ब अमेरिकी डलरको आँकडा पार गरेको हो । 

हुवावेको उपभोक्ता व्यापारमा पनि राम्रै वृद्धि भएको छ । हुवावेको राजस्व वृद्धि सन् २०१७ भन्दा २०१८ मा निकै राम्रो रहे पनि कूल नाफा भने त्यति उत्साहजनक छैन । 

हुवावेका लागि यो महत्वपूर्ण छ किनकि अमेरिकालगायत विश्वका कैयौं देशमा हुवावेले गत वर्षदेखि संकटको सामना गरिरहनु परेको छ । अमेरिकाले भनेको छ, ‘चीनले जासुसीको लागि हुवावेको नेटवर्कको प्रयोग गर्न सक्छ । हुवावेको उपकरण सुरक्षित छैन । अमेरिकाले सहयोगी देशमाथि पनि दबाब बनाउने कोशिश गर्दै फाइभ जी (५जी) मोवाइल नेटवर्कको विस्तारमा भाग लिनबाट हुवावेलाई रोक्न चाहेको छ ।’

संयुक्त अधिराज्य बेलायतमा पनि हुवावेको चिन्ता बढ्दै गएको छ । बेलायती सरकारले गएको बिहीबार सफ्टवेयर डेभलपमेन्ट (उपकरण विस्तार) को तरिका चिन्ताजनक भएको बताएको छ । 

हुवावेले भने यो घटनालाई गम्भीरतापूर्वक लिइरहेको बताएको छ । यो मुद्दा समाधान गर्नका लागि बेलायती सरकारसँग कुराकानी भइरहेको उसले बताएको छ । 
यसै महिना हुवावेले अमेरिकाविरुद्ध मुद्दा पनि दर्ता गरेको छ । अमेरिकी कानुनका अनुसार, यहाँको सरकारी एजेन्सीहरुलाई हुवावेको उपकरण खरिद गर्नबाट वञ्चित गरिएको छ । 

गएको डिसेम्बरमा क्यानडामा हुवावेका मुख्य वित्तीय अधिकारी (सिएफओ) मेङ्ग वाङ्झाउलाई गिरफ्तार गरिएको थियो । 

क्यानडाले अमेरिकाको आग्रहमा उनलाई गिरफतार गरेको थियो । अमेरिकाले अनुसार, हुवावेले बैंकसँग बेइमानी गरेको र प्रतिबन्ध लगाउँदा पनि इरानसँग व्यापार गरेको आरोप लगाउँदै आइरहेको छ । 

हुवावेले भने अमेरिकाले लगाएको आरोप गलत भएको बताउँदै आएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया