‘नेपाली समर्थक भगवान हुन्, उनीहरुकै कारण हामीले लर्ड्समा खेल्न पाउँदैछौं’

 असार १३, २०७५ बुधबार १३:२२:५४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडाै‌ं - नेपाल, नेदरल्याण्ड्स र मेरिलिवोन क्लबबीच इंल्याण्डको लर्ड्समा हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिएको छ । आउँदो जुलाई २९ गतेदेखि हुने खेललाई मान्यता दिइएको आईसीसीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नेपाल र नेदरल्याण्ड्सले एकदिवसीय मान्यता पाइसकेकाले पनि यो सिरिजलाई अन्तर्राष्ट्रिय ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजको मान्यता दिइएको आईसीसीले जनाएको छ । यो मान्यतापछि नेपालले सन् २०१५ पछि पहिलोपटक आईसीसीको मान्यताप्राप्त ट्वेन्टी ट्वेन्टी खेल खेल्न पाउने भएको हाे । सबैजसो क्रिकेटरले इंल्याण्डको लर्ड्समा खेल्न पाउनुमा आफूलाई भाग्यमानी ठान्छन ।

त्यसमाथि भर्खरै एकदिवसीय मान्यता पाएको नेपाली खेलाडी खुशी नहुने त कुरै भएन । नेपाल, नेदरल्याण्ड्स र मेरिलिवोन क्लबबीच हुने ट्वेन्टी ट्वेन्टी खेललाई आईसीसीले मान्यता दिएकोबारे नेपाली टोलीका कप्तान पारस खड्कासँग उज्यालाेका लागि अर्जुन पोख्रेलले गरेको कुराकानी ।

लर्ड्समा खेल्न पाउनु आफैँमा ठूलो कुरा भैहाल्यो, त्यसमाथि आईसीसीले नै मान्यता दिएको छ, कत्तिको खुशी हुनुहुन्छ ?

हो, लर्ड्समा खेल्न पाउनु नै आफैँमा ठूलो अवसर हो हामी सबैका लागि । त्यसमाथि एमसीसी  र नेदरल्याण्ड्सँग हुने खेललाई आईसीसीले मान्यता दिँदा झनै खुशी छौं । अस्ति भर्खर एमसीसीले जारी गरेको एउटा प्रेस रिलिजमा महेला जयबर्धने एमसीसीको क्याप्टेन हुँदैरहेछन्, अरु नाम चलेका खेलाडी पनि खेल्दै रहेछन् । स्थापित खेलाडीहरुसँग लर्ड्समा खेल्न पाउनु त निकै ठूलो कुरा हो । ३ वर्षको अन्तरालपछि हामीले टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेल्ने मौका पाएका छौं, राम्रो प्रदर्शन गर्न सक्छाैँ भन्ने आशा छ ।

नेपालले त्यतिधेरै पहल गरेको त देखिन्न, तर नेपाल जस्तो भर्खरै एकदिवसीय मान्यता पाएको देशलाई लर्ड्सले किन यति धेरै महत्व दिएको होला ?

पहलै नभएको त होइन, भएको छ । पहिले पटक सन् २०१४ मा म युके जाँदाखेरी युकै मै बस्ने प्रशान्त कुँवरसँग भेट भएको थियो । त्यहाँ हामी एउटा कार्यक्रममा गएको बेला इंग्याण्ड क्रिकेट बोर्डका केही अफिसियलसँग भेटघाट भएको थियो । चिनजान भएपछि बैठकहरु गरौं न त भन्ने कुरा भयो । 

हामीले एमसीसी क्लबमै गएर एउटा छलफल गर्याैँ । २०१४ को विश्वकपमा नेपालले राम्रो प्रदर्शन गरेकोमा उहाँहरुले प्रशंसा गर्नुभयो । राम्रो कुराकानी भयो । त्यसै समयमा नेपाल र बेलायतको औपचारिक सम्बन्धको २ सय वर्ष पुगेको अवसरमा हामीले लर्डसमा खेलौं न भन्ने प्रस्ताव राख्यौं । नेपाली क्रिकेटको अवस्था, हजारौं फ्यान  देखेर प्रस्ताव पारित गर्नुभयो र खेल भयो ।

अहिले त नेपालले एकदिवसीय मान्यता पाएको छ, लर्ड्समा पछिल्लो समय हामीले खेल्दा ५/६ हजार नेपाली दर्शक पुगेका थिए । यस्ता कुराले एमसीसीलाई छुट्टै सकारात्मक सन्देश दिएको छ । एसोसिएट देशमा क्रिकेटको क्रेज देखेर एमसीसीले हामीलाई अवसर दिएको जस्तो लाग्छ, यसको ठूलो कारण हाम्रा हजारौं फ्यान नै हुन् । नेपालमा क्रिकेटलाई निकै माया गरिन्छ भन्ने छुट्टै छवि बनेको छ, त्यसले गर्दा थप सहज भएको छ ।

विश्वका धेरै मैदानमा खेलिसक्नुभएको छ, तर लर्ड्समा खेल्दा छुट्टै मज्जा आउनुपर्ने कारण चाहिँ के हो ?

मलाई लाग्छ लर्ड्समा खेल्नु क्रिकेट खेल्ने हरेक खेलाडीको सपना नै हुन्छ होला  । हामीले त्यो इच्छा पहिले नै पूरा गर्न पायौं, फेरि खेल्न पाउने भयौं, लर्ड्समा खेल्ने भन्दा वित्तिकै छुट्टै उत्साह आउँछ नी । विश्व क्रिकेटको इतिहास बोकेको लर्ड्समा कुनै पनि प्रतियोगिता हुँदा संसारभरको नजर परेको हुन्छ । यस्तो अवसरलाई हामी सदुपयोग गर्न चाहान्छौं, यदि सभ्य भएर राम्रो खेल्यौं भने फेरी पनि अवसर आउन सक्छ ।

यति धेरे उत्साहका कुरा गर्नुभयो, तर एकदिवसीय मान्यता पाइसकेपछि त नेपाली क्रिकेट सुनसान जस्तो देखिन्छ, किन यस्तो भएको होला ?

एकदिवसीय मान्यता पाउनेवित्तिकै नेपालमा वर्षा लागेजस्तो भयो । वर्षाको मुखमै हामीले मान्यता पायौं । बीचमा एकदुईवटा घरेलु प्रतियोगिता त भए, तर अन्तर्राष्ट्रिय चाँहि हुन पाएन । अहिले अरु देश हेर्नुभयो भने पनि धेरै प्रतियोगिता भएका छैनन् । इंल्याण्ड, स्कटल्याण्ड, आयरल्याण्ड जस्ता देशमा त भैरहेका छन्, तर अरु देशमा पनि त्यस्तो व्यस्त त छैनन् ।

आउँदो अगष्टमा हामी नेदरल्याण्ड्सँग खेल्दैछौं । त्यसपछि चाँहि हामीले धेरैभन्दा धेरै एकदिवसीय खेलको लागि पहल गर्नुपर्छ । सीमित समयको लागि पाएका मान्यतालाई खेर फाल्नु हुन्न । युएई, आयरल्याण्ड, अफगानिस्तान लगायतका देशसँग हामीले प्रस्ताव गर्नुपर्छ । चाँडै नै हाम्रो क्रिकेट संघ निलम्बन फुकुवा भएर पूर्ण रुपमा काम गर्न सक्नुपर्छ । त्यसपछि सिरिज त खेल्न पाउँछौं हामीले । 

क्यान फुकुवाको कुरा गरिहाल्नुभयो, वैशाखमा आईसीसीले भनेअनुसारकै विधान पारित गरेको थियो, जुनमा हुने बैठकले निलम्बन फुकुवा गर्ने भनिएको थियो, प्रक्रिया के भैरहेको छ, केही जानकारी छ तपाईँलाई ?

यसमा खासै त मलाई थाहा छैन । मैले थाहा पाएअनुसार एउटा मोनिटरिङ कमिटी बन्दैछ रे त्यसले चुनाव गराउने होला । आईसीसीका र नेपालका गरेर ५ जना जति बस्ने त्यो कमिटीले जिल्ला तहदेखि चुनाव गराउने भन्ने थियो, तर यो कुरा कहाँ पुगेको छ भन्ने चाँहि थाहा छैन ।

अन्तिम अपडेट: चैत ८, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया