एसईई परीक्षा स्थगनको विरोधमा सप्तरीमा विद्यार्थीहरुले गरे राजमार्ग अवराेध

 चैत १६, २०७५ शनिबार १२:५३:५० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएपछि प्रदेश न. २ को एसईई परीक्षा स्थगित गरिएको विरोधमा विद्यार्थीहरुको प्रदर्शन दुई दिनदेखि जारी छ । 

यसैक्रममा शनिबार बिहानैदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खर्चूहिया र कल्याणपुरमा विद्यार्थीहरुले यातायात अवरुद्ध पारेका छन् ।

बिहानैदेखि सयौं विद्यार्थीहरुले प्रधामनमन्त्री केपी शर्मा ओली , शिक्षा मन्त्री गिरीराज पोखरेल लगायतको राजीनामाको माग गर्दै राजमार्ग २ घण्टासम्म अवरुद्ध पारेका हुन । राजमार्ग अवरुद्ध भएका कारण सयौं सवारी साधन तथा हजाराैँ यात्रुहरु बीचबाटोमै अलपत्र परेका थिए । 

यस्तै विद्यार्थीहरुको आन्दोलनको क्रममा प्रहरीले विद्यार्थी नेतालाई पक्राउ गरी कुटपिट गरेको विरोधमा शनिबार बिहानैदेखि विभिन्न विद्यार्थी संगठनहरुले सप्तरी सदरमुकाम राजविराजमा बृहत विरोध पदर्शन गरेका छन् ।

राष्ट्रीय विद्यार्थी संघका नेता रंजीत कुमार यादव तथा कुन्दन मण्डललाई प्रहरीले पक्राउ गरी निर्घात कुटपिट गरेको विरोधमा बिहानैदेखि विद्यार्थी संगठनहरुले राजविराजमा प्रद्धर्शन गरेका हुन । 

प्रदेश न. २ मा एसईई परीक्षा स्थगित भएपछि सप्तरीको सदरमुकाम राजविराजमा शनिबार परीक्षा दिन गएका विद्यार्थीहरुले परीक्षा स्थगित भएको थाहा भएपछि सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले  विद्यार्थीको भविष्यसँग खेलबाड भइरहेको भन्दै सप्तरीको प्रशासनविरुद्ध समेत चरको नारा लगाउँदै प्रदर्शन गरेका हुन ।  

प्रदेशका जिल्लाहरुमा विद्यार्थीहरुले प्रदर्शन गर्दै शिक्षामन्त्री मुर्दावाद, प्रश्नपत्र आउट गर्नेलाई कडा कारबाही गर, विद्यार्थीको भविष्यसंग खेलवाड नगर जस्ता नारा लगाउँदै प्रदर्शन गरिएको छ । परीक्षार्थीहरुले शिक्षामन्त्री गिरी राजमणी पोखरेलको राजीनामा समेत मागेका छन् ।

यसैबीच राष्ट्रिय विद्यार्थी संघले एक विज्ञप्ति जारी गर्दै हाल एसईई परीक्षाको प्रश्नपत्र संघीय सरकारको पूर्ण निगरानीमा रहेकोले प्रश्नपत्र चुहावटको जिम्मेवारी पनि संघीय सरकारले लिनुपर्ने माग गरेका छन् ।

संघका केन्द्रिय अध्यक्ष किशोर कुमार यादवद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, यस्ता घटनाहरुबाट संघीयतामा नै प्रहार गर्ने संघीय सरकारको षडयन्त्र रहेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया