विदेशी लगानी भित्रँदा साना व्यवसायी त्रसित हुनु पर्दैन

 चैत १७, २०७५ आइतबार ११:४९:३६ | डा. रामशरण महत
unn.prixa.net

हाम्रो देशको अर्थ व्यवस्था कमजोर छ । हामी गरिब देशमा पर्छौँ । हामी अर्धविकशित देशमा पर्छौँ । हाम्रो आन्तरिक लगानीले मात्रै आर्थिक बृद्धि हुन सक्दैन । आर्थिक विकास तीव्र गतिले हुन सक्दैन । त्यसकारण वैदेशिक लगानीको आवश्यकता पर्छ । 

वैदेशिक लगानी हाम्रो जस्तो गरिब देशलाई मात्रै होइन हामीलाई अझ बढी छ । धनी देशले पनि वैदेशिक लगानी आकर्षित गरिरहेको हुन्छ । जस्तो अहिले विश्वमा जति पनि वैदेशिक लगानी भइरहेको छ, त्यसको ठूलो हिस्सा अमेरिका जस्तो देशमा जान्छ । चीन जस्तो देशमा जान्छ ।

कूल वैदेशिक लगानीको ३ प्रतिशत मात्रै दक्षिण एसियामा छ । ३ प्रतिशतको पनि ठूलो हिस्सा भारतमा जान्छ । केही हिस्सा बंगलादेशमा छ, श्रीलंकामा छ, पाकिस्तानमा छ । नेपालमा त ०.१ प्रतिशत मात्रै छ । विश्वको कूल वैदेशिक लगानीमा नेपालको हिस्सा ०.१ प्रतिशत मात्रै छ अहिले । यसको अर्थ वैदेशिक लगानी हामीलाई खाँचो छ । आवश्यक छ । 

धनी देशले आर्थिक बृद्धि गर्नका लागि, रोजगारीका अवसर सिर्जनाको लागि, आर्थिक अवसर नयाँ सिर्जना गर्नको लागि, नयाँ प्रविधिको लागि, यो सबै उत्पादकत्व बढाउनका लागि वैदेशिक लगानी आकर्षित गरिरहेका हुन्छन् । त्यो चाहिन्छ पनि । 

नेपाललाई पनि यसैका लागि वैदेशिक लगानी चाहिएको हो । हामीले वैदेशिक लगानी चाहिन्छ भनेर अहिले मात्रै होइन सन् १९९० को दशकमा २०४९/०५० मा पनि सम्मेलन गरेका थियौँ । त्यसबेला विदेशी लगानी त करिब करिब प्रतिबन्ध नै जस्तो थियो । 

अहिले झनै हाम्रो देशमा वैदेशिक लगानी आवश्यक छ । अहिलेको सरकारले पनि यसैलाई जोड दिएको छ ।

म पनि योजना आयोगमा थिएँ । नेपाली कांग्रेसको सरकार थियो । हामी सबै मिलेर कानुनमा संशोधन गर्दै नयाँ नीति ल्याएर निजी क्षेत्रलाई वैदेशिक लगानी मात्रै होइन,  स्वदेशी लगानी प्रवर्द्धन गर्नु पर्छ भनेर काम गरेका थियौँ ।

कतिपय क्षेत्र जस्तो जलस्रोत, दूरसन्चार, हवाई सेवा लगायतका क्षेत्रमा निजी लगानी पनि आउन नपाउने अवस्था थियो । त्यसमा हामीले खुला गर्दै निजी लगानी र वैदेशिक लगानी भित्र्याएका थियौँ । त्यसबेला देशको आर्थिक बृद्धिदर पनि बढेको थियो । 

तर त्यसपछि लामो समयसम्म देश द्वन्द्वमा धकेलियो । त्यसले गर्दा विकासका गतिविधि पछाडि परे । त्यसकारण अहिले झनै हाम्रो देशमा वैदेशिक लगानी आवश्यक छ । यो कुरो अहिले मात्रै महसुस भएको होइन, पहिलेबाटै हुँदै आएको हो ।

अहिलेको सरकारले पनि त्यसैलाई जोड दिएको छ । समय परिस्थितिअनुसार नियम कानुनहरु पनि सुधार गर्दै जानु पर्छ, संशोधन गर्दै जानु पर्छ । केही ऐन कानुन संशोधन गर्यौँ भनेर सरकारले भनेको पनि छ । यो सकारात्मक कुरो हो ।   

सम्झौता गर्दैमा लगानी आइहाल्दैन 

लगानी सम्मेलनमा कतिपयले लगानी गर्न इच्छा देखाएका छन्, सम्झौता गरेका छन् । त्यो राम्रै कुरा हो । तर त्यो भइहाल्दैमा लगानी आईहाल्यो भन्नु उपयुक्त हुँदैन । 

अहिले देशमा लगानी गर्ने वातवरण पनि उपयुक्त देखिँदैन । त्यसमा केही शंका नै छैन ।

यसअघि पनि लगानी सम्मेलनमा १४ सय अर्ब लगानीको समझदारी पत्रमा हस्ताक्षर भएको थियो, तर पछि आएन । खर्बौँको लगानी खाली एउटा बैठकमा बस्दैमा तुरुन्त आईहाल्ने होइन । 

उसले पछि अध्ययन गर्छ अनि बल्ल लगानी गर्छ । देशको परिस्थिति कस्तो छ, प्रशासनिक सहजता के छ ? आर्थिक अध्ययन, प्रतिफलको अध्ययन, प्राविधिक अध्ययन गरिसकेपछि बल्ल लगानी गर्ने हो । यदि चित्त नबुझे उनीहरु फेरि फिर्ता जान्छन् । 

भाषण गरेर मात्रै लगानी बढ्दैन 

अहिले देशमा लगानी गर्ने वातवरण पनि उपयुक्त देखिँदैन । त्यसमा केही शंका नै छैन । किनभने लगानीको वातावरण भएको भए झन थपिँदै जानु पर्ने थियो । गएको वर्ष भन्दा पनि यो वर्ष लगानी कम आएको छ । 

स्थिर सरकार हुनेबित्तिकै लगानी आईहाल्छ भन्ने कुनै ग्यारेण्टी हुँदैन । स्थिर सरकार भए पनि प्रशासनमा कुनै स्थिरता देखिएको छैन । हिजो एउटा मात्रै सरकार थियो, आज तीन तीनवटा सरकार छन् । यसमा पनि कतिपयलाई कन्फ्युजन होला ।

स्थिर सरकारमा त लगानीप्रति विश्वास बढ्दै जानुपर्ने हो नि । तर हेर्नुस् नेप्सेको सूचकहरु कति घटेको छ । बैंकहरुमा तरलता देखिएको छ । ठाउँठाउँमा बम बिस्फोट भएर अलिकति असुरक्षाको स्थिति पनि देखिएको छ । त्यसैगरी विश्व बैंकको तथ्यांकले नेपालको लगानीको वातावरण झन बिग्रेको भनेर देखाउँछ । 

हल्लाखल्ला गरेर भाषण गरेर कुरो गरेर, प्रचार गरेर मात्रै लगानी बढ्ने होइन । लगानी भन्ने चिज भाषण गर्नेबित्तिकै आइहाल्ने होइन ।

त्यसकारण स्थिर सरकार हुनेबित्तिकै लगानीको वातवरण राम्रो भो भन्ने होइन । त्यो त सरकारको व्यवहार कस्तो हुन्छ, प्रशासनिक व्यवहार कस्तो छ, नेपालको पूर्वाधारमा सुधार आयो कि आएन, व्यक्तिगत सम्पत्तिको सुरक्षा के छ भन्ने कुराले निर्भर गर्छ । 

त्यसैले हल्लाखल्ला गरेर भाषण गरेर कुरो गरेर, प्रचार गरेर मात्रै लगानी बढ्ने होइन । लगानी भन्ने चिज भाषण गर्नेबित्तिकै आइहाल्ने होइन । विकास भन्ने चिज कति कठिन कुरो हो भन्ने थाहा छैन । भाषण गर्नेबित्तिकै सबै कुरा भइहाल्यो नि, मैले भन्नेबित्तिकै सबै आइहाल्छ नि भन्ने मानसिकता त्याग्नु पर्छ । 

हिजो यहाँ आइसकेको लगानी पनि फिर्ता गएको अवस्था छ । पश्चिम सेतीको निर्माण गर्छु भनेर आएको चीनको थ्रि गर्जेज फिर्ता भयो । कतिपय कुरामा उसलाई चित्त बुझेन होला । मेलम्चीकै पनि कन्ट्रयाक्टर फिर्ता भयो । तल्लो तामाकोशी आयोजनामा अर्बौँ लगानी गरिसकेको नर्वेजियन कम्पनी पनि फिर्ता भयो । 

त्यसकारण लगानी आउँछ भन्नेबित्तिकै आउने होइन । आउँछ भन्नु राम्रै हो सकारात्मक कुरा नै हो । तर आउने वातावरण बनाउँदै जानु पर्छ । त्यसका लागि प्राविधिक पक्ष, शान्ति सुरक्षाको पक्ष, प्रशासनिक पक्ष, समग्र देशको सुशासनको पक्षमा निर्भर रहने हो । 

देश विकासमा सबै जुट्नु पर्छ 

देशको हितको लागि हामी जहिल्यै पनि बोल्छौँ । मैले लगानी सम्मेलनमा पनि नेपालमा लगानीको वातावरण रहेको भनेर लगानीकर्तालाई लगानी गर्न आह्वान नै गरें । 

नेपालको सरकार खराब छ, यहाँको प्रशासन खराब छ भन्ने कुरो हुँदैन । यो भनेको त यहाँको आन्तरिक समस्या हो ।

सुधार त सरकारले गर्नु पर्ने छ । देशमा लगानी गर्ने वातावरण छैन भनेर मैले विदेशीलाई कसरी भन्न सक्छु । नेपालमा यत्रो ठूलो जलस्रोत छ । भौगोलिक विविधता छ । हावापानी र मौसम विश्वमा उत्कृष्ट छ । नेपालमा मात्रै बजार होइन । छिमेकी देशसम्म जाने अवस्था छ । 

भारतसँग व्यापार सम्झौता छ । चीनसँग छ । साफ्टाको सदस्य नै छ । नेपालको बजार सानो छ भनेर नसोच्नुस बजार ठूलो छ । यो त विदेशीलाई आकर्षण गर्न, विदेशीको इन्ट्रेस्ट जागोस् भन्नका लागि हो ।

नेपालको सरकार खराब छ, यहाँको प्रशासन खराब छ भन्ने कुरो हुँदैन । यो भनेको त यहाँको आन्तरिक समस्या हो । यो हामी नै मिलेर सुधार गर्नु पर्छ । विदेशीलाई भन्ने कुरो होइन । 

उत्पादनमूलक परियोजना जरुरी

परियोजना भन्ने कुरो लगानी सम्मेलनमा राख्दैमा लगानी आइहाल्ने होइन । उनीहरुको इन्ट्रेस्ट अनुसार हुने हो । तर सम्मेलनमा राखिएका अधिकांस परियोजनाको डिटेल फिजिबिलिटी अध्ययन नभएको मैले पाएँ ।  

जस्तो उत्पादनमूलक उद्योगको बारेमा परियोजनाहरु कमी रहे । अहिले हामीलाई एकदमै ठूलो आवश्यकता भनेको उत्पादनमूलक परियोजना हो । नेपालको व्यापार घाटा यति धेरै बढेको छ । झण्डै १२ सय अर्ब भन्दाबढी हामीले आयात गरिरहेका र्छौँ । तर निर्यात अलिकति पनि छैन । कूल आयातको ७ प्रतिशत धान्न सक्ने पनि निर्यात गर्न सकिरहेका छैनौँ । 

कुनै समयमा हामीले ५० प्रतिशत धान्न सक्ने अवस्थामा पुर्याएका थियौँ । देशमा उत्पादित हुने औद्योगिक वस्तुहरु, कृषिका वस्तुहरु विदेश बजारमा जानु त परै जाओस्, नेपालको आवश्यकता पूरा गर्न पनि सकि राखेका छैनौँ । उतैबाट ल्याउनु पर्ने अवस्था छ । 

त्यसैले उत्पादनमूखी उद्योगहरुमा अहिले धेरै सम्भावना छ । नेपालको बजार सानो भन्ने लाग्ला तर यो भन्दा ठूलो बजार हिन्दुस्तान नजिकै छ । चीन नजिकै छ । साफ्टाको हामी सदस्य बनेका छौँ । इन्टरनेशनल मार्केटमा हामीले विभिन्न सुविधा पाउँछौँ । अमेरिकी बजारमा पनि विभिन्न ७७ वटा वस्तुहरु बिनाभन्सार लैजान सकिने अवस्था छ । त्यसैले अहिले लगानीकर्ताले यहाँ प्रतिबद्धता नजनाए पनि पछि पनि अध्ययन गरेर आउन सक्नेवाला छन् । 

तर अहिले हतार हतारमा सम्मेलन गरियो । यसको टाइमिङ यो भन्दा अलि बढि उपयुक्त समयमा अझ बढी तयारी गरेर गर्नुपर्ने थियो । अहिले त केन्द्र र प्रदेश सरकारबीचमा नै झगडा छ । यो सबै कुरामा सुधार गरेर आयोजना गरेको भए अझ बढी प्रभावकारी हुन्थ्यो । 

प्रशासन संयन्त्र सुधार्नु जरुरी 

हाम्रो प्रशासन क्षेत्रमा सुशासनको कमजोरी देखेर वाक्क भएर विदेशी लगानीकर्ताहरु फर्कन सक्छन् ।

वैदेशिक लगानी भित्र्याउने सवालमा सबैभन्दा पहिले त हाम्रो प्रशासन संयन्त्रमा नै सुधार ल्याउनुपर्ने अवस्था छ । हरेक ठाउँमा पैसा नखुवाई काम नहुने । अनि अल्मल्याइ दिने, झण्झट बनाइदिने । अनि कानुनले दिएको सुविधा पाउन पनि वर्षौँ कुर्नुपर्ने । जस्तो उदाहरणका लागि मेलम्चीको ठेकेदार कम्पनी सीएमसीकै कुरा लिँदा हुन्छ । उसैले बकाइदा  भनेको हो कमिसन माग्न थाले, झुलाए भनेर । 

त्यसैले हाम्रो प्रशासन क्षेत्रमा सुशासनको कमजोरी देखेर वाक्क भएर विदेशी लगानीकर्ताहरु फर्कन सक्छन् । अर्को कुरो कतिपय पूर्वाधारको कमजोरी छन् । ठूलठूला हाइवेहरु छैनन् । यस्ता कारणले पनि लगानी आउन नसकेको हो ।  

त्यस्तै आफूले उत्पादन गरेको वस्तुको व्यापार कस्तो हुन्छ त्यो पनि हेर्छन् लगानीकर्ताले । मान्छेले अर्बौँ खर्बौँको लगानी यसै मजाकले गर्ने होइन । उसलाई सबै पक्षमा प्रतिफल पनि राम्रो देख्नु पर्यो, सुरक्षाको प्रत्याभूति पनि राम्रो हुनुपर्यो । सवै पक्षहरु राम्रो देख्यो भने मात्रै उसले लगानी गर्ने हो । 

अहिले कानुन पनि हतार हतारमा ल्याइएको छ । कानुन पास गर्नेबित्तिकै त्यो लागू गर्ने सवालमा हाम्रो प्रशासन कत्तिको सक्षम छ, त्यसमा पनि भर पर्छ ।अहिले कृषिमा वैदेशिक सहायता ल्याउनै हुन्न भनेर रोकिएको छ ।

झण्डै २ सय अर्बभन्दा बढीको कृषि बस्तु विदेशबाट आउँछ । कतिपय कृषि बस्तुहरु विदेशबाट ल्याउनु पर्ने अवस्था छ । त्यसमा पनि विदेशी लगानी विदेशी प्रविधि भित्र्याएर फाइदा लिन सकिन्थ्यो । तर विधेयकमा कृषिमा लगानी भित्र्याउन नपाउने भनिएको छ । यसले त नकारात्मकता निम्ताउने काम गर्यो नि ।  

एकल बिन्दुको कुरो पनि नयाँ हुँदै होइन । यो त पञ्चायतकै बेला देखिको हो । त्यसमा पनि समयमै काम नगर्ने । समयमै निर्णय नदिने प्रचलन पुरानै हो । यो कति व्यवहारिक हुन्छ, त्यसमा भर पर्छ । 

कृषि क्षेत्रमा पनि विदेशी लगानी अपरिहार्य छ । धान मकै कोदो रोप्नका लागि नल्याए हुन्छ । तर उच्च उत्पादनका लागि चाहिन्छ नै । 

स्थिर सरकार भनेको छ, तर प्रशासन स्थिर छैन । एकै वर्षमा एउटा मन्त्रालयमा तीन पटक सरुवा हुन्छ । त्यसले परिणाम राम्राे दिँदैन । यस्तो हुनु हुँदैन ।  

विदेशी लगानी भित्रँदा साना व्यवसायी त्रसित हुनुपर्दैन

विदेशी लगानी भित्रँदा साना व्यवसायी विस्थापित हुँदैनन् । पहिले पनि विदेशी बैंक ल्याउँदा यहाँका बैंक विस्थापित हुन्छन् भनेर विरोध नै भएको थियो तर त्यस्तो भएन । हुँदैन पनि । यो नबुझ्नेहरुले हल्ला मात्रै गरेका हुन् । 

त्यसो हुँदा कृषि क्षेत्रमा पनि विदेशी लगानी अपरिहार्य छ । धान मकै कोदो रोप्नका लागि नल्याए हुन्छ । तर उच्च उत्पादनका लागि चाहिन्छ नै । हामीलाई भनेको उत्पादकत्व कसरी बढाउने, आयात प्रतिस्थापन कसरी घटाउने भन्ने नै हो । स्वदेशी लगानीकर्ताहरु त्रसित हुनुपर्ने कुनै कारण नै छैन ।  

देशको राष्ट्रिय ढुकुटी बढ्दा, राष्ट्रको आय बढ्दा त्यसबाट स्वतः नागरिकले फाइदा पाउँछन् । रोजगारीको सम्भावना बढ्छ । आम्दानी बढ्छ । अनि हामी सबलतातिर लम्कन्छौँ । 

यस्ता सम्मेलनले नेपालको परिस्थितिका बारेमा, नेपालको नियम कानुन, लगानी सम्बन्धि नीति, करसम्बन्धि नीति, आयात निर्यात सम्बन्धि नीतिको बारेमा, नेपालमा लगानीको सम्भावनाको बारेमा विदेशी लगानी कर्तालाई जानकारी हासिल गर्ने माध्यम बन्छ । 

यही जानकारीको आधारमा उनीहरु लगानी गर्न इच्छुक हुन्छन् । र त्यसपछि उनीहरुले लगानी गरे भने नेपाललाई फाइदा हुन्छ । 

(पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतसँग नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित)

अन्तिम अपडेट: जेठ ३२, २०७६

डा. रामशरण महत

डा. महत पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया