२५ वर्ष पछिको नेपाल : २२ सय किमि रेल, ४० हजार मेगावाट बिजुली

 चैत २०, २०७५ बुधबार ११:२३:४१ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि काठमाण्डौमा सुरु भएको छ । बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन सोचसहितको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधार पत्रको मस्यौदा पत्रलाई अन्तिम रुप दिनेछ । 

बैठकमा प्रधानमन्त्री, मन्त्रीहरु, सबै सचिवहरु, प्रदेशका मुख्यमन्त्री र मन्त्री, प्रदेश सचिवहरु महानगरपालिकाका मेयर, अर्थविदलगायतको सहभागिता छ । आयोगले समृद्ध नेपालको लागि ४ र सुखी नेपालीका ६ वटा सोचलाई आधार बनाएर दीर्घकालीन सोचसहितको पन्ध्रौं योजनाको मस्यौदामा समेटेको छ ।

कार्यक्रममा आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले समृद्ध नेपालको लागि दोहोरो अंकको आर्थिक बृद्धिदरसहित तीव्र विकास र उत्पादनसहित आत्मनिर्भरका योजना तय गरिएको जानकारी दिनुभयो । १४ औं योजनाले लिएका धेरैजसो सूचक लक्ष्य नजिक पुगेको र यसले पन्ध्रौँ योजना कार्यान्वयनमा सहज हुने पनि उहाँले दाबी गर्नुभयो ।

पन्ध्रौँ पञ्चवर्षीय योजनाको मस्यौदामा विक्रम संवत् २०८१ सम्म आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुर्‍याउने, प्रतिव्यक्ति आय १६०० अमेरिकी डलर पुर्‍याउने, गरिबी १३ प्रतिशतमा झार्ने, साक्षरता दर ९० प्रतिशत पुर्याउने, विद्यालय भर्नादर ९९.५ प्रतिशत पुर्‍याउने उल्लेख छ । 

यस्तै बेरोजगारी दर ११ बाट ६ प्रतिशतमा झार्ने, १५ हजार किमि कालोपत्रेसहितको लोकमार्ग हुने, ७६ किलाेमिटर द्रुतमार्ग पूरा हुने, ११२ किमि रेलमार्ग बनाउने, ९९ प्रतिशत परिवारमा बिजुली पुर्‍याउने, ७५ प्रतिशतमा इन्टरनेट पुर्‍याउनेलगायतका लक्ष्य पनि पन्ध्रौँ योजनाको मस्यौदामा उल्लेख छ । 

यस्तै विक्रम संवत २१०० अर्थात् २५ वर्षपछि प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डलर पुर्‍याउने, गरिबी ५ प्रतिशतमा झार्ने, बेरोजगारी दर ३ प्रतिशतमा झार्ने, ४० हजार मेगावाट बिजुली उत्पादन, ३३ हजार किमि राष्ट्रिय लोकमार्ग बनाउने, २ हजार किमि द्रुतमार्ग, २२ सय किमि रेलमार्ग बनाउने, शतप्रतिशत नेपाली इन्टरनेटको पहुँचमा पुर्‍याउने र विक्रम संवत २१०० सम्ममा नेपाल उच्च आय भएको समृद्ध देश बन्ने आयोगको मस्यौदामा उल्लेख छ । 

२ दिनको छलफलपछि आधारपत्रको मस्यौदाको टुंगो लगाइने योजना आयोगले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया