दक्षिण कोरियाले ल्यायो फाइब–जी दूरसञ्चार सेवा

 चैत २०, २०७५ बुधबार १७:२५:४६ | रासस
unn.prixa.net

सियोल - दक्षिण कोरियाले विश्वमै पहिलो पूर्ण–विकसित फाइभ जीको मोबाइल नेटवर्क विकास गरेको जनाएको छ । तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को मार्नेछ ।

फाइभ जीको ताररहीत यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन पाउरोटी सेकाउने टोस्टर मेसिनदेखि टेलिफोन, विद्युतीय कारदेखि विद्युत प्रसारण लाइनसम्मको व्यवस्थापनमा सघाउनेछ ।

दक्षिण कोरियाको यस प्रविधिले संयुक्तराज्य अमेरिका र चीनबाट ठूलै चुनौतीको सामना गर्नुपर्ने छ । नवीन प्रविधि विकासमा दक्षिण कोरिया समकालीन विश्वमा निकै अघि मानिन्छ ।

कोरियाको यो पछिल्लो प्रविधि हालको चौथो पुस्ताको मोबाइल प्रविधिभन्दा झण्डै २० गुणा ज्यादा तीव्र बेगको हुनेछ । पाँचौं पुस्ताको प्रविधि प्रयोगबाट एक सेकेन्डभन्दा कम समयमा एउटा सिंगो चलचित्र डाउनलोड गर्न सकिनेछ । 

पाँचौं पुस्ताको नेटवर्कका कारण चालकविहीन सवारी साधनदेखि विविध किसिमका विद्युतीय उपकरण स्वचालित रुपमा चलाउन सहज हुनेछ । औद्योगिक रोबोट, ड्रोन र अरु इन्टरनेट आधारित उपकरण चलाउन यस प्रविधिले सहजता ल्याउने छ ।

एक अध्ययनअनुसार पाँचौं पुस्ताको मोबाइल नेटवर्कका कारण सन् २०३४ सम्ममा विश्व अर्थतन्त्रमा करिब पाँच खर्ब ६५ अर्ब अमेरिकी डलरको कारोबार हुनेछ ।

संयुक्त राज्य अमेरिकाले चीनको हुवावेमाथि पाँचौं पुस्ताको टेलिकम नेटवर्क खरिद नगर्न विश्व समुदायलाई आग्रह गरिरहेको छ । तीव्र गतिको इन्टरनेटका कारण चीनले विश्वबाटै महत्वपूर्ण सूचना संग्रह गर्ने अमेरिकी दाबी छ ।

 चिनियाँ कम्पनी हुवावेले अमेरिकी दाबी असत्य रहेको जनाएको छ । हुवावेले पनि पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि विकास गरिसकेको छ ।

कोरियाले पाँचौं पुस्ताको टेलिकम प्रविधि विकास गरेको घोषणा गरेकै दिन सामसुङ इलेक्ट्रोनिक्सले पनि पाँचौं पुस्ताको टेलिकम प्रयोग गर्न मिल्ने ग्यालेक्सी एस–१० स्मार्टफोन सार्वजनिक गरेको छ ।

दुई सातापछि नै एलजीले पनि भी–५० मोडेलको नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । तर यी स्मार्टफोनको बजार मूल्य बढी हुनेछ ।

यसै वर्षको अन्त्यतिर ३० लाखभन्दा बढी कोरियालीले पाँचौं पुस्ताको टेलिकम सेवा लिन थाल्ने के.टी. कम्पनीका उपाध्यक्ष ली पिल–जाईले बताउनुभयो ।

कोरियामा हालसम्म कुनै पनि कम्पनीले पाँचौं पुस्ताको टेलिकम सेवा देशभर उपलब्ध गराएका छैनन् । अमेरिकामा पनि केही ससाना क्षेत्रमा यस्तो सेवा उपलब्ध हुन थालेको छ र यो सेवा वाइफाइबाट मात्र उपलब्ध हुन्छ । कतारको टेलिकम कम्पनी उरेडूले दोहामा पाँचौं पुस्ताको टेलिकम सेवा प्रदान गर्न थालेको छ, तर फाइभ–जी सेवा सञ्चालन गर्ने उपकरणको अभाव छ ।

अमेरिकी कम्पनी भेरिजोनले अर्को सातादेखि अमेरिकी सहरहरु सिकागो र मिनियापोलिसका मोबाइल उपभोक्ताका लागि पाँचौं पुस्ताको टेलिकम सेवा उपलब्ध गराउँदैछ । यसै वर्षको अन्त्यसम्ममा देशका ३० भन्दाबढी सहरमा यो सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

जापानमा पनि सन् २०१९ भित्रै सीमित क्षेत्रमा फाइभ–जी सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ । अर्को वर्षको टोकियो ओलम्पिक्स अघि नै फाइभ–जी सेवा पूर्ण रुपमा उपलब्ध गराउने जापानको तयारी छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया