पूर्व राजा शाहलाई सडकमै समर्थकको भव्य स्वागत (फोटो फिचर)

 चैत २१, २०७५ बिहिबार १८:३०:० | सुजता सुनुवार
unn.prixa.net

इलाम – पहिलो पटक पूर्वी पहाडको यात्रामा निस्कनु भएका पूर्व राजा ज्ञानेन्द्र शाहले बिहीबार इलामका सर्वसाधारणलाई भेट्नु भएको छ । सत्ताच्यूत भएपछि पहिलो पटक पूर्वको यात्रामा निस्कनु भएका पूर्व राजा शाहलाई समर्थकहरुले सडकमा नै भव्य स्वागत गरेको थियो । 

इलाम नगरपालिकाको चोक बजारदेखि मन्दिरसम्म लामबद्ध भएर उभिएका सयौँ नागरिकलाई सडकमा नै भेटेर पूर्व राजा शाहले स्वागत स्वीकार गर्नु भएको छ । इलामका जानकार गोपाल श्रेष्ठबाट माईस्थान मन्दिरका बारेमा जानकारी लिइसकेपछि उहाँले मन्दिरमा करिब २० मिनेट पूजापाठ गर्नु भएको थियो । 

विभिन्न सांस्कृतिक झाँकी र नारा जुलुससहित शाहको स्वागत गरिएको थियो । पूर्व राजा शाहका समर्थकले ‘हाम्रो राजा हाम्रो, देश प्राणभन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’, ‘मेची काली के भन्छ ज्ञानेन्द्र राजा चाहियो भन्छ’, ‘नेपाली जनता के भन्छन्, राजसंस्था ले भन्छन्’ लगायतका नारा लगाएका थिए । प्लेकार्डमा  पूर्व राजा र पूर्व रानीको फोटोसमेत थियो । 

राजसंस्था हटेको एक दशक बितिसके पनि पूर्व राजा शाहलाई भव्य स्वागत गरिएको थियो । गएको आइतबार इलाम आउनु भएका उहाँ आफ्नो निजी धार्मिक भ्रमणका लागि पूर्वी पहाड आएको बताइएको छ ।

गएको १७ गते आइतबार साँझ नै इलाम आइपुग्नु भएका उहाँ सदरमुकामको समिट होटलमा बास बस्नु भएको थियो । पूर्व राजा शाह १८ गते सोमबार बिहान पाँचथर पुग्नु भएको थियो ।

पाँचथरबाट १९ गते साँझ इलाम आइपुग्नु भएका उहाँ २० गते होटलमा नै बस्नु भएको थियो ।  दिउँसो शाहले माईस्थान मन्दिरमा पूजाअर्चना गरेर बिहीबार नै झापाको बुधबारे जानु भएको छ । 

पूर्व राजा शाहबाट एक लाख सहयोग 

पूजापछि पूर्वराजा शाहबाट नगद एक लाख रुपैयाँ सहयोग प्राप्त भएको भ्रमण व्यवस्थापन तथा प्रचारप्रसार समितिका हरि श्रेष्ठले जानकारी दिनुभयो ।

सहयोग रकम माइस्थान धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास समितिलाई बिहीबार नै समितिको वैठक बसी हस्तान्तरणसमेत गरिएको छ । समितिले  प्राप्त रकमबाट अक्षय कोष खडा गर्ने जनाएको छ । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया