राजस्थानलाई हराउँदै कोलकाता इण्डियन प्रिमियर लिगको शीर्ष स्थानमा

 चैत २५, २०७५ सोमबार ६:५०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

लिगको सुरुआती ५ खेलमा ४ जित र १ पराजयको नतिजाका साथ ८ अंक जोडेर कोलकाता शीर्ष स्थानमा पुगेको हो । समान खेलबाट समान ८ अंक भएपछि कोलकाताले चेन्नईलाई रनरेटका आधारमा पछि पारेको हो । ५ खेलबाटै सनराइजर्स हैदराबादको ६ अंक छ ।

घरेलु टोली राजस्थानले दिएको १ सय ४० रनको लक्ष्य कोलकाताले १३.५ ओभरमै २ विकेट गुमाएर भेट्टायो ।

ओपनर क्रिश लिन र सुनील नारीनले पहिलो विकेटका  लागि ९१ रनको साझेदारी गरेपछि कोलकाताको निकै सहज जित हासिल भएको हो । लिनले ३२ बलमा ५० रन बनाउँदा नारिनले २६ बलमा ४७ रनको योगदान गरे ।

रोविन उथप्पा २६ र शुभम गिल ६ रनमा अविजित रहे । बलिङतर्फ राजस्थानका श्रीयास गोपालले २ विकेट लिए ।

यसअघि सवाइ मानसिंह रंगशाला जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले स्टिभ स्मिथको ७३ रनको सहयोगमा निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ३९ रनको योगफल बनाएको थियो ।

ओपनर तथा कप्तान अजिंक्या राहणे ५ रनको स्कोरमै आउट भएपछि आएका स्मिथले अर्का ओपनर जस बटलरसँग मिलेर दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । बटलर ३७ रनको ब्यक्तिगत स्कोरमा आउट भए । ५९बल खेलेर स्मिथले ७ चौका र १ छक्का प्रहार गरे ।

बलिङतर्फ कोलकाताका ह्यारी गुर्नेले २ विकेट लिए । यसअघि आजै भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लोरबिरुद्ध ४ विकेटको जित निकालेको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया