मेरी छोरी-बुहारी रेडियोमा बोल्छिन् भनेर गर्व गरौँ न !

 चैत २६, २०७५ मंगलबार १६:५:२० | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डाै –

‘नानी के गर्ने ?’

‘म रेडियोमा काम गर्छु । ’

‘ए रेडियोमा । के गर्ने नि ?’ 

‘म समाचार डेस्कमा काम गर्छु ।’

‘सजिलै रैछ त । गाडी लिन आइहाल्छ, अफिस गएर बस्ने अनि समाचार भन्ने नै त रहेछ ।’

सुनेपछि झनक्क रिस उठ्छ । केही भन्दिनँ । तर एक पटक होइन, पटकपटक भेट्ने मान्छे र आफन्तले नै यस्तै कुरा दोहोर्याइरहन्छन् । 

ल आफैले पनि गरेर देखाउ न त ? जवाफ घाँटीसम्म आउँछ, तर थुकसँगै फेरि घुटुक्क निलिन्छ । 

त्यतिबेला झन् भाउन्न हुन्छ, जतिबेला भन्छन्, ‘जागिर खाने, बच्चा पाउने अनि घरका काम गर्ने तिमी मात्रै एक्ली होइनौँ, अरुले नि गरेका छन् ।’ 

संसारका धेरै छोरी, बुहारी अनि आमा अहिले कामकाजी छन् । काम गर्ने सबैको खुट्टो तान्नै पर्दछ ? जतिसुकै कठिन अवस्थामा काम गर, तर तिमीले गरेको कामको जवाफ ‘तैले मात्र खाको छ र जागिर’ भन्नेमा नै टुंगिन्छ । 

त्यही काम छोरा, ज्वाईं अनि बाबुले गर्दा चटारो देखिन्छ । भ्याइनभ्याइ देखिन्छ । छोराले गरे सगरमाथाको चुचुरो, छोरी-बुहारीले गरे फूलको थुंगो । 
फेरि घोत्लन्छु, कसरी भनूँ, ‘रेडियोको जागिर पधेँरामा पानी भर्न जाँदा गरेको गफ स्तो होइन । चार जना उभिएर फलानोको घरमा पाकेको तिउन तरकारीको बास्ना लिएजस्तो होइन ।’

हरेक समाचार भेरिफाई गरेर लेख्नु, ‘फेसबुकमा समाचार हेरेर यस्तो अरे...’ भने जस्तो कहाँ छ सजिलो । रेडियोमा त अरे नै चल्दैन, फेरि पनि भन्न मन लाग्छ । बच्चा बिरामी हुँदा वा सानो छँदा । रातभर दूध चुसाएर अनिदो बस्दा । आँखा मिच्दै अँध्यारोमै रेडियोमा पुगेर काम गर्दाको मर्म र अनुभव उनैले मात्र गर्न सक्छिन् जसले भोगेकी छिन् । 

लेख्दै गर्दा छेउमा रहेकी सहकर्मी भन्छिन्, ‘आज रातभर सुतेकै छैन । नानी-बाबु नसुतेरै, फ्रेस नै हुन सकेको छैन ।’ उनले यो भनेर नसक्दै फेरि उही कुरा सम्झन्छु, ‘बच्चा सबैले पाएका छन्, सबैले जागिर खाएकै छन्, तिमीले मात्र होइन ।’

हुन त बिहानदेखि रातिसम्म काममा खटिँदा ‘कठै थाकिस्’ समेत नभन्नेलाई यी कुरा थाहा हुने कुरै भएन । मन यसैगरी बुझ्छ ।

अर्काथरी थप्छन्, ‘ए रेडियोको पो जागिर ! अलि पैसा आउने काम गर्नु नि ! रेडियोमा जागिर गरेर कति पाइन्छ पैसो ? खान लाउन त पुगेको छ  नि ?’

शानले भन्न मन लाग्छ, ‘पुगेको छ, पुर्‍याएकी छु ।’ तर आफैले मात्र काम गरेकोजस्तो फूर्ति लगाएकी हेरन भन्ने अपजस आउला भनेर जवाफलाई घाँटीमै गाँठो पारेर राख्छु । किनकी इँटाको जवाफ पत्थर हुँदै होइन । हुन त, यी र यस्ता समस्या भोग्ने म मात्र होइन । लाग्छ,  रेडियोमा काम गर्ने धेरैजसोले यी समस्या झेलेका र झेल्दै छन् । 

हरेक घण्टामा १० मिनेट वा निश्चित तोकिएको समयमा समाचार भन्नु मात्रै रेडियोको जागिर होइन । अनि रेडियोमा गरेको जागिरले खानै नपुग्ने पनि होइन । अहिले ७ सय ४० वटा एफएम रेडियो दर्ता छन् । तर, यीमध्ये केही सञ्चालनमा छैनन् ।

तर, यसो भन्दैमा सबै एफएम रेडियोलाई एकै घानमा हाल्न मिल्दैन । अनि रेडियोमा काम गर्नेले १० मिनेट समाचार पढेर मात्र बस्छन् त ? त्यसो होइन र हुँदा पनि हुँदैन ।

एकपटक छोरी-बुहारी रेडियोमा काम गर्छन् भनेर गर्वले छाती फुलाउ न । ल मेरी छोरी-बुहारीले पनि समाचार भन्छिन् सुन्नु है भनेर छिमेकमा भनौँ न । कति सुहाउँछ । कति उदाहरणीय बन्छ । 

पत्रकार महासंघका अनुसार अहिले २ हजारभन्दा धेरै महिला पत्रकारितामा छन् । कोही रेडियो, कोही टिभी, अनलाइन र कोही अखबारमा छन् । तर विविध कारणले उनीहरु सबै पत्रकारितामा सक्रिय भने छैनन् ।

विभिन्न अध्ययनका अनुसार ७० प्रतिशतभन्दा बढी महिलाले दाम नआउने काम गर्दछन् । तर बाँकी प्रतिशतले दाम नआउनेसँगै दाम आउने काम पनि भ्याएका छन्/गरेका छन्, गर्दै पनि छन् । 

घर आफन्तसँगै नयाँ नौलाले कुरा काटे पनि रेडियोको जागिरबाट हामी महिलाले नाम, दाम र माम पाएका छौँ । 

अन्तिम अपडेट: मंसिर ६, २०७६

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया