जेलबाटै लालूले लेखे पत्र : उमेरले साथ दिएको छैन, म कैद छु तर मेरो विचार कैद छैन

 चैत २७, २०७५ बुधबार १९:५०:३१ | एजेन्सी
unn.prixa.net

भारतको राष्ट्रिय जनता दल(आरजेडी)का अध्यक्ष तथा बिहारका पूर्व मुख्यमन्त्री लालूप्रसाद यादवले जमानतका लागि दिएको रिट खारेज भएपछि जेलबाटै पत्र लेखेका छन् ।

उनले पत्रमा आफूलाई उमेरले साथ नदिएको उल्लखे गरेका छन् । आफू जेलमा कैद भए पनि आफ्ना विचार कैद नभएको उनले बताएका छन् । 

दाना भ्रष्टाचार प्रकरणमा जेलमा रहेका लालुले खराब स्वास्थ्यको कारण देखाउँदै आफूलाई धरौटीमा रिहा गर्न रिट दायर गरेका थिए । जसलाई बुधकार अदालतले खारेज गरेको छ । 

बुधबार लालूले ट्विटरमार्फत बिहारका नागरिकलाई सम्बोधन गर्दै लेखेका छन्, ‘४४ वर्षमा यो पहिलो चुनाव हो, जसमा म तपाईँहरुबीचमा छैन । चुनावी उत्सवमा तपाईँहरु समक्ष हुन नपाएको अफसोच छ । तपाईँहरुको कमीको महसुस गरिरहेको छु । त्यसैले यो पत्र तपाईँहरु सबैको नाममा लेखेको छु । आशा छ यो तपाईँहरुले पढ्नुहुन्छ र लोकतन्त्र र संविधानलाई बचाउनुहुनेछ ।’

लालूले ट्वीटका साथै आफ्नो पत्रको प्रति पनि अपलोड गरेका छन् । उनले पत्रमा लेखेका छन्, ‘राँचीको अस्पतालमा एक्लै भएका बेला तपाईँहरुसँग कुरा गर्न मल लाग्यो । चुनावको बिगुल बजिसकेको छ । तर यस पटकको चुनाव अलि बेग्लै छ । सबैथोक दाउमा छ । देश, समाज, तपाईँका हक, इज्जत र गरिमा पनि दाउमा छ ।’

लालू अगाडि लेख्छन्, ‘लडाईँ वार–पारकै छ । मेरो घाँटीमा सरकार र केही चालबाजहरुको फन्दा छ । उमेरसँगै शरीरले पनि साथ दिइरहेको छैन । तर देश र नागरिकको लडाईँमा मेरो साथ रहनेछ ।’

पत्रमा लालूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि कडा आलोचना गरेका छन् । उनी लेख्छन्, ‘आरक्षण तथा संविधान विरोधी नरेन्द्र मोदीलाई हराउने लडाईँमा गर वा मरको भावनाको आवश्यकता पर्छ । हरेक नागरिक लालू बन्नैपर्छ । त्यसैगरी डटेर लाग्नुपर्छ । अगाडि जति नै मुश्किल होस्, डर तथा धम्की होस्, लालच वा खतरा नै किन नहोस् । सबै डटेर यसको सामना गर्नुपर्छ र गरिबगुरुवाको सम्मान र प्रतिष्ठा जोगाउनुपर्छ ।’

भारतमा अप्रिल ११ देखि मे १९ सम्म गरी सात चरणमा लोकसभा चुनाव हुँदैछ । लालू जेलमा भए पनि आरजेडीका तर्फबाट उनका छाेराहरु तेजश्वी यादव र तेजप्रताप यादव चुनावी मैदानमा रहेका छन् ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया