सुडान : सेनाद्वारा राष्ट्रपति अपदस्थ गरी गिरफ्तार

 चैत २९, २०७५ शुक्रबार ७:४०:२६ | एजेन्सी
unn.prixa.net

सुडानमा झण्डै ३० वर्ष सत्तामा रहेका राष्ट्रपति ओमार अल–बाशीरलाई पदच्युत गरेर गिरफ्तार गरिएको रक्षामन्त्रीले बताएका छन् । 

सरकारी टेलिभिजनमा बोल्दै देशको सेनाले अब दुई वर्षे संक्रमणकालको जिम्मा लिने र त्यसपछि निर्वाचन हुने रक्षामन्त्रीले बताए । 

उनले देशमा तीन महिनाको लागि संकटकाल लागू गरिएको पनि जानकारी दिएका छन् । 

कडा शासकका रुपमा चिनिएका बाशीर जसरी सत्तामा आएका थिए बहिर्गमन पनि त्यसरी नै भएको छ । 

सुडानी सेनाद्वारा पदच्युत गरिएका बाशीरको शासनकालमा भएका घटनाहरू यहाँको राजनीतिक परिवर्तनका महत्वपूर्ण पाटाका रूपमासमेत हेर्ने गरिएको छ ।

उनले सन् १९८९ मा कू गरेर सत्ता हत्याएका थिए । अहिले सुडानी सेनाले पनि उनलाई कु नै गरेर हटाइदिएको छ ।  

पछिल्लो समयमा झण्डै चार महिनादेखि उनीविरुद्धमा भएको आन्दोलनको आडमा सेनाले उनलाई हटाएको हो । सेनाले अब दुई वर्षमा निर्वाचन गराएर लोकतान्त्रिक प्रक्रिया मार्फत् सत्ता हस्तान्तरण गर्ने जनाएको छ ।

सुडानमा झण्डै ३० वर्ष शासन गरेका बाशीरको जन्म सन् १९४४ जनवरी १ मा होश बान्नागा भन्ने ग्रामीण क्षेत्रमा भएको थियो । यो ठाउँ सुडानको राजधानी खार्तुमदेखि एक सय किलोमिटर टाढा पर्दछ । 

सन् १९७३ मा सैन्य सेवामा प्रवेश गरेका बाशीर एक वर्षपछि अरब र इजरायलको युद्वमा इजिप्टको तर्फबाट लडेका थिए । 

सन् १९८९, जुन ३० मा उनी सुडानी सेनाको ‘ब्रिगेड कमाण्डर’ बनेका थिए । त्यसपछि उनले निर्वाचनबाट गठित लोकतान्त्रिक सरकारलाई मुश्लिमहरुको सहयोगमा अपदस्त गरेर सत्ता हातमा लिएका थिए । 

गएको केही महिनायता राष्ट्रपति बाशीरकाविरुद्ध विरोध प्रदर्शनहरू हुँदै आएका थिए ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया