शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
बैतडी – दशरथचन्द नगरपालिका वडा नम्बर–१, कलौनमा सडक पुगेपछि स्थानीयहरुले वर्षौंदेखिको सपना पूरा भएको बताएका छन् । यसअघि त्यही सडक निर्माणको माग राख्दै स्थानीय हरिजितसिंह टेर वडा कार्यालयनजिक अनसनसमेत बस्नुभयो ।
अहिले दशरथचन्द नगरपालिका र वडा नम्बर १ को कार्यालयको पहलमा सडक पुगेपछि स्थानीयहरु खुशी भएका छन् । दशरथचन्द राजमार्गदेखि झण्डै सात किलोमिटरको दूरीमा रहेको त्यस ठाउँमा सडक नहुँदा स्थानीयहरुले उत्पादन गरेका तरकारीसमेत बजारसम्म पुर्याउन निकै सकस हुने गरेको थियो ।
गाउँमा सडक पुगेपछि उत्पादित तरकारीलाई बजारसम्म पुर्याउन सहज भएको किसान परमानन्द भट्टले बताउनुभयो । आफूले फलफूलको नर्सरीसमेत स्थापना गरेकाले नर्सरीबाट उत्पादित बोटविरुवाहरु बिक्रीका लागि बजारसम्म पुर्याउन पनि सहज भएको उहाँले बताउनुभयो ।
यस्तै बिरामीहरु, गर्भवती महिलाहरुलाई पनि स्वास्थ्य संस्थामा पुर्याउन सहज भएको महिला स्वास्थ्य स्वयंसेविका ईश्वरी भट्टले बताउनुभयो । गाउँमा सडक पुगेपछि आफूहरुलाई निकै खुशी लागेको स्थानीय बयोवृद्ध शेरबहादुर पाण्डेले बताउनुभयो । आफ्नै जीवनकालमा गाउँमा सडक पुगेपछि निकै खुशी लागेको उहाँले बताउनुभयो ।
सडक निर्माणका लागि दबाब दिन यसअघि अनसनसमेत बसेका 'अनसन बाजे' का रुपमा परिचित स्थानीय हरिजितसिंह टेरले गाउँमा सडक पुग्दा आफ्नो मनमा आनन्द छाएको बताउनुभयो । ‘सडक निर्माणका लागि अनसन बसेको थिएँ । अहिले घरमै गाडी आएको देख्दा निकै खुशी लागेको छ’, उहाँले बताउनुभयो ।
स्थानीयहरुले अब यस सडकलाई स्तोरन्नति गर्नुपर्ने माग गरेका छन् । गाउँमा सडक पुगेपछि अब खानेपानीको सुविधासमेत पुर्याउनुपर्ने स्थानीयहरुको माग छ ।