नेपालकै अग्लो पुलमा नयाँ वर्षको रौनक

 बैशाख १, २०७६ आइतबार १७:३०:७ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वत र बागलुङ जोड्ने गरी कालीगण्डकी नदी माथि निर्माण भएको नेपालकै अग्लो पुलमा नयाँ वर्षको रौनक छाएको छ । कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने गरी निर्माण भएको याे झोलुङ्गे पुलमा नयाँ वर्ष मनाउन आउने आन्तरिक पर्यटकहरुको भिड लागेको हो । 

एक सय ६६ मिटर अग्लो पुलमा नयाँ वर्ष मनाउन र अवलोकन गर्नकै लागि देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु पर्वतमा भित्रिएका छन् । पुल अवलोकनकै लागि समूहगत रुपमा आएका लमजुङका सुविन भट्टराइले नयाँ वर्षको अवसरमा घुमफिरका क्रममा पर्वतमा आएको बताउँदै झोलुङ्गे पुल हेर्न लायक भएको बताउनुभयो । 

कालीगण्डकी नदीको खोचमा निर्माण भएको याे पुल एक सय ६६ मिटर अग्लो छ भने तीन सय ४७ मिटर लामो समेत छ । २ फागुन २०७१ मा पुल निर्माण भएकाे हाे ।  दुई जिल्लाको सम्बन्धलाई जोड्ने गरी पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँबाट बाग्लुङ नगरपालिकाकाे कैयामा याे पुल निर्माण भएको हो । 

दिउँसोको समयमा पुलमा मात्रै ५ सय भन्दा बढी यात्रुहरु रहेको पुल निर्माण समितिका सदस्य राम शर्माले जानकारी दिनुभयो । गएकाे वर्षको जति सहभागिता नभए पनि प्रतिकुल मौसमका बाबजुद पनि पुल अवलोकन गर्न आउनेको संख्या सन्तोषजनक रहेको उहाँले बताउनुभयाे ।  

पर्यटकीय शहर पोखराबाट ६० किलोमिटरको दुरीमा दुई घण्टामा पर्वत सदरमुकाम कुश्माबजारमा पुग्न सकिन्छ । कुश्मा बजारमा पुगेपछि  त्यहाँबाट २ किलोमिटर दुरीमा पुलसम्म पुग्न सकिन्छ । पुलसम्म पुग्नका लागि कुश्मा नगरपालिकाले विभिन्न निकायको सहयोगमा पुल सम्म पुग्न सडक कालोपत्रे पनि गरिसकेकाे छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया