मध्य बर्खा झल्काउने ‘प्रिमनसुन’

 बैशाख ३, २०७६ मंगलबार १०:१८:४२ | अशाेक काेइराला
unn.prixa.net

काठमाण्डौ – सामान्यतया चैत, वैशाखमा उखरमाउलो गर्मी हुन्छ । नेपालको सन्दर्भमा तराई क्षेत्रमा बाहिर निस्कँदा खलखली पसिना आउँछ । पहाडी भूभागमा पनि चैत, वैशाख महिनामा चर्को घाम लाग्छ । 

तर यो वर्ष चैत, वैशाख महिनामै बर्खा लागेजस्तो भएको छ । मौसमविद्हरु अंग्रेजी महिनाका मार्च, अप्रिल र मे महिनालाई मनसुन पूर्वार्द्ध अर्थात् प्रिमनसुनका रुपमा बुझ्ने गर्छन् । मौसमविद्हरुका अनुसार क्षणभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जँदै हल्का र क्षणिक वर्षा हुने ‘प्रिमनसुन’ को लक्षण हो । तर अहिलेको मौसमी गतिविधिलाई हेर्दा मध्य बर्खा जस्तै लाग्छ ।

बिहानै आकाश कालो निलो हुन्छ । बेला बेलामा पानी पर्छ । केहीबेर रोकिएजस्तो भए पनि केहीबेरमा नै बदली भैरहन्छ । राति पनि वर्षा भैरहन्छ । वैशाख लाग्दासमेत चिसो घटेको छैन । गएका वर्षहरुमा चैत महिनामा नै थन्क्याइने ज्याकेट काठमाण्डौका बासिन्दाले वैशाख लाग्दा पनि लगाएर हिँडिरहेका छन् ।
हिउँदमा पानी पर्नुको कारण मौसविदले दिने जवाफ हो – पश्चिमी वायुको प्रभाव ।

सामान्यतया नेपालमा हिउँदका बेला भूमध्यसागरबाट भारतको जम्मु कश्मीर हुँदै  नेपालमा वायु प्रवेश गर्छ । यही वायुले हिमालमा हिमपात गराउँछ भने पहाडी भूभागमा सामान्य वर्षा गराउँछ । 

मध्य फागुनपछि भने विस्तारै यो प्रणाली निष्क्रिय हुँदै जान्छ, त्यसपछि मनसुन प्रवेश गर्नुअघि स्थानीय वायुको प्रभावले वर्षा गराउँछ । फागुन महिनाको मध्यबाट बिस्तारै तापक्रम बढ्दै जाने हुनाले अपरान्हसम्म वायुमण्डलको तल्लो सतहको हावा बेस्सरी तात्छ र माथि जान्छ । त्यसले छिट्टै बादल विकास हुन्छ । साँझपख हावा हुरी र असिनासहित पानी पर्छ । 

तर यो वर्ष प्रिमनसुनी समयमा यस प्रकारले वर्षा भैरहेको छैन । बिहान, दिउँसो बेलुका र राति पनि पानी परिरहेको छ । यो वर्ष पहिलो पटक पुस २३ गते काठमाण्डौमा हिउँदे वर्षा भएको थियो । त्यसपछि लगातार रुपमा भित्रिएको पश्चिमी वायुका कारण हरेक साता पानी परिरह्यो । यो क्रम वैशाख लाग्दा पनि रोकिएको छैन । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार मंगलबारदेखि फेरि मौसममा बदलीको सम्भावना छ । पश्चिमी वायुको प्रभावले केही दिन मौसममा सुधार नआउने महाशाखाले जनाएको छ । 

पश्चिमी वायु, स्थानीय वायु सक्रिय हुँदा लामो समयदेखि नै मौसममा सुधार नआएको महाशाखाका मौसमविद बताउँछन् । यसपाली प्रिमनसुन छिट्टै सक्रिय भएकाले पनि मौसममा बदली भैरहेको मौसमविदहरुको तर्क छ । प्रिमनसुनी समयमा पश्चिमी वायु स्थानीय वायुको प्रभावका आधारका सक्रिय र निष्क्रिय हुन्छ । यो वर्ष पश्चिमी वायुसँग स्थानीय वायु सक्रिय हुँदा यसको प्रभाव बढेको मौसमविद बताउँछन् । 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाको तथ्यांक अनुसार यो वर्ष सोमबारको काठमाण्डौको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस मापन गरिएको छ भने न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ । 

गएको वर्ष अप्रिल १५ (वैशाख २) मा काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै, सन् २०१७ मा अप्रिल १५ (वैशाख २) मा काठमाण्डौको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस नै मापन गरिएको थियो भने न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको थियो । 

हिजोआज प्रिमनसुन सक्रिय भएर पानी परिरहेको र धेरै वर्षा भएको जस्तो लागे पनि गएको मार्च महिनामा वर्षाको मात्रा औसत रहेको मौसमविदको दाबी छ ।

प्रिमनसुनको सुरुवाती महिना मार्चमा काठमाण्डौमा औसत ३४ मिलिमिटर वर्षा हुन्छ । यो वर्ष ४७ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । यस्तै अघिल्लो वर्ष मार्च महिनामा औसतभन्दा कम २७ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले भन्नुभयो ‘अहिलेसम्मको तथ्यांकलाई हेर्दा यो वर्ष अप्रिल महिनामा भने औसतभन्दा केही बढी वर्षा हुने सम्भावना बलियो छ ।’ सामान्यतया अप्रिल महिनामा काठमाण्डौमा ६१ मिलिमिटर वर्षा हुन्छ । महाशाखाको तथ्यांक अनुसार मंगलबारसम्ममा ३८ दशमलव ४० मिलिमिटर वर्षा भैसकेको छ । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

अशाेक काेइराला

अशाेक काेइराला वातावरण क्षेत्रमा रुची राख्नु हुन्छ।  

तपाईको प्रतिक्रिया