८० राजाको राजतिलक र दुई साम्राज्यको राजपाट झेलेकाे नोट्रे डाम क्षणभरमै खरानी !

 बैशाख ३, २०७६ मंगलबार १४:५७:४५ | एजेन्सी
unn.prixa.net

विश्वभरका क्याथाेलिकहरुकाे आस्थाकाे केन्द्र नाेट्रे डाम साेमबार राति निमेषभरमै खरानी भयाे ।  नाेट्रे डाम ८ सय ५० वर्ष पुरानाे हाे । नाेट्रे डाम पेरिसको प्रमुख पर्यटकीय स्थल रहँदै आएको छ । पछिल्लो आठ दशकदेखि पेरिसको पहिचान बन्दै आएको छ ।

प्रसिद्ध लेखक भिक्टर ह्यूगोले यसै चर्चको नाममा सन् १८३१ मा  ‘हञ्चब्याक अफ् नाेट्रे डाम’ उपन्यास लेखेका थिए । जसलाई फ्रेन्च साहित्यको अति नै महत्वपूर्ण कृति मानिन्छ । यो भन्दा अगाडि अन्तिम पटक फ्रान्सेली राज्य क्रान्तिको बेला पनि यो चर्चमा क्षति पुगेको थियो ।

त्यतिबेला चर्च विरोधीहरुले त्यहाँ भएका सन्तहरुका मूर्तिलाई भत्काएका थिए  । यो चर्चले फ्रान्सको बदलिएको इतिहास देखेको छ । ८० राजाहरुको राजतिलक, दुई साम्राज्यको राजपाट, पाँच गणतन्त्रको गठन र दुई विश्वयुद्धलाई झेलिसकेको छ ।

सन् ११६३ मा सुरु भएर यो चर्च निर्माण सम्पन्न गर्न १८० वर्ष लागेको थियो । हरेक वर्ष यहाँ २ हजारभन्दा बढी विभिन्न कार्यक्रमहरु आयाेजना गरिँदै आइएकाे छ ।यस्ताे ऐतिहासिक धराेहर आगाेले खरानी हुँदा पेरिसवासी मात्रै हाेइन, पूरा विश्व समुदाय नै स्तब्ध भएकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाेट्रे डाम आगलागी घटनालाई विश्वकै एउटा दु:खदायी घटना भएकाे बताएका छन् ।

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोँले चर्चमा आगो लागेपछि भावुक हुँदै भने, ‘पुरै देश जलिरहेको छ ।’ यो स्मारकलाई जलिरहेको देखेर कतिपयहरुका आँखा पनि रसाए चाहे ती आस्तिक हुन या नास्तिक ।

विश्वकै सबैभन्दा बढी घुमिने देश फ्रान्स हो । तर फ्रान्सको सबैभन्दा बढी घुमिने त्यहाँको स्मारक आइफेल टावर नभएर नाेट्रे डाम  भएको बताइन्छ । फ्रान्समा रहेका ९९ प्रतिशत टाउनहरुको जनसंख्या एकदिनमा नाेट्रे डाम घुम्न जाने मानिसहरुको सङ्ख्या भन्दा कम भएको बताइन्छ ।

वर्षमा एक करोड तीस लाख पर्यटकले नोट्रे डामको प्रमुख द्वार पार गर्ने गर्छन् । यसअनुसार एकदिनमा नाेट्रे डामले झण्डै ३५ हजारभन्दा बढी पर्यटकलाई स्वागत गर्छ ।

फ्रान्सका राष्ट्रपतिले नागरिकबाट चन्दा संकलन गरेर यो स्मारकलाई पुनर्निर्माण गर्ने भनेका थिए । तर फ्रान्सका एकजना अर्बपति फ्राँस्वा हेनरी पिनल्टले सोमबार राति स्मारकमा आगो लागेको घण्टाभित्रै आफू र आफ्नो परिवारले एक सय मिलियन युरो सहयोग गर्ने घोषणा गरेका छन् ।

 उनले भनेका छन्, ‘यो फ्रान्सको सम्पत्ति हो । हाम्रो इतिहास बोकेको यस स्मारकलाई निर्माण गर्नु हाम्रो दायित्वय हो ।’

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया