म्यानपावरको लापरबाही :  राहदानीमा म्यानपावर र होटलको स्टिकर !

 बैशाख ४, २०७६ बुधबार १४:२३:४६

उमा पौडेल / नवलपरासी 

नवलपरासी – नवलपरासीका ओमनारायण हरिजन वैदेशिक रोजगारीमा जान काठमाण्डौको एक्सेस पार्टनर प्रालिमा पुग्नुभयो । उहाँले म्यानपावरलाई आफ्नो पासपोर्ट बुझाउनुभयो । केही दिनमा उहाँ मार्बल फिक्सरमा यूएई जाने टुङ्गो लाग्यो । 

उहाँले म्यानपावरलाई आफूले जिल्ला प्रशासनबाट बनाउँदा जस्तै कतै दाग नलागेको अनि नकोरिएको पासपोर्ट दिनुभएको थियो । तर म्यापावरबाट पासपोर्ट पाउँदा त्यो पासपोर्ट हो भनेर चिन्ने कुनै ठाउँ नै थिएन । 

एकापट्टी म्यानपावरको नाम, ठेगाना अनि सम्पर्क नम्बर लेखिएको कागजमा ओमनारायणको नाम, जाने देश र काम उल्लेख भएको कागज टाँसिएको थियो भने अर्कोपट्टी ओमनारायण काम गर्न जाने कम्पनी र देशको नाम लेखिएको थियो । 

ओमनारायणकै जस्तो दुर्गती भयो अयोध्या राजभरको राहदानीको पनि । उहाँको राहदानीको बाहिर राहदानी हो भनेर चिन्ने ठाउँ नै नराखी काठमाण्डौको वल्र्डवाइड म्यानपावरको नाम, ठेगाना र फोन नम्बर लेखिएको स्टिकर टाँसिएको छ । उहाँको राहदानीको फोटो हेर्दा यो के हो भनेर सजिलै ठम्याउन सकिँदैन ।

किनकी यो के हो भनेर लेखिएको ठाउँ नै नदेखिने गरी अरु कागज टाँसिएको छ । राहदानी हो भनेर ठम्याउन भित्री पाना पल्ट्याएर नहेरेरसम्म चिन्न सकिँदैन । विदेशमा भ्रमणमा जाँदा होस् वा वैदेशिक रोजगारीमा जाँदा राहदानी अनिवार्य हुन्छ ।

विदेशमा श्रम गर्ने, सुरक्षित रहने र सुरक्षित घर फिर्ता आउने कुरा राहदानीले सुनिश्चित गरेको हुन्छ । तर उनीहरुलाई वैदेशिक रोजगारीमा पठाउन मध्यस्थकर्ताका भूमिकामा रहेका म्यानपावर कम्पनीहरुले यस्तो महत्वपूर्ण कागजातको पहिचान नै मेटिने गरी आफ्नो र विदेशी कम्पनीको स्टीकर टाँस्ने काम गरेको पाइएको छ । 

प्रायः खाडीका देशमा काम गर्न जाने कामदारको राहदानीमा यस्तो लापरवाही गरेको देखिन्छ । यो लापरवाही पटक पटक दोहोरिरहेको छ । यस्तो लापरवाहीले अध्यागमनदेखि नै आफूहरुले नराम्रो व्यवहार सहनु परेको पीडितको भनाई छ । ‘एयरपोर्टमा नै मलाई यस्तो के गरेको ? पासपोर्टमा यस्तो गर्नु हुँदैन भनेर थाहा छैन भनेर नराम्रो व्यवहार गरे’ परासीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा पुगेका बेला ओमनारायणले दुखेसो गर्नुभयो । 

नवलपरासीको सेमरीका लिलाकुमार चौधरीले कतारमा सुपर मार्केटमा पासपोर्ट देखाउने क्रममा आफूले नराम्रो बचन सुन्नुपरेको बताउनुभयो । उहाँसँगै सूचना केन्द्र आइपुगेका टेकनारायण चौधरीले त पासपोर्टमा जथाभावी कागज टाँसिएकोमा आफूले कम्पनीमा पनि नराम्रो व्यवहार सहुन परेको बताउनुभयो । राहदानीमा कागज टाँसिनुमा न लिलाकुमारको कुनै गल्ती छ न ओमनारायणको नै । म्यानपावरले गरेको गल्तीमा कामदारले सास्ती खेपिरहेका छन् । 

म्यानपावरले राहदानीमा आफ्नो नाम र ठेगानाको कागज मात्रै होइन होटर र रेष्टुरेण्टको कागज पनि टाँसेको पाइएको छ । मानबहादुर विकको राहदानीमा ‘न्यू दोस्ती गेष्ट हाउस’को स्टिकर टाँसिएको हो । 

किन भएन विभागको सूचनाको कार्यान्वयन  ?

वैदेशिक रोजगार विभागले २०७१ सालमा नेपाली राहदानीको सुरक्षा सम्बन्धमा वैदेशिक रोजगार व्यवसायी संघको नाममा सूचना जारी गरेको थियो । तर म्यानपावरले यसलाई मानेको देखिँदैन ।

राहदानीमा अंकित नेपाल सरकारको सुरक्षण चिन्ह नै ढाकेर आफ्ना कम्पनीको विज्ञापन हुने स्टीकर लगाउँदा न त श्रम स्वीकृति दिने विभागले कम्पनीलाई कुनै कारवाही गरेको छ, नत कम्पनीहरुको अभिभावक सँस्था वैदेशिक रोजगार व्यवसायी संघले आफू अन्तर्गतका म्यानपावर कम्पनीलाई सचेत गराएको छ ।

म्यानपावर कम्पनीले सूचनालाई बेवास्ता गरी पुरै राहदानीको आवरण ढाकिने गरी आफ्नो स्टीकर टाँसेर कामदार रोजगारीका लागि विदेशी भूमिमा पठाउँदै आएका छन् । यस विषयमा आफूहरुले फेरि व्यवसायीलाई सचेत गराउने विभागले जनाएको छ । ‘त्यस्तो गर्न पाइँदैन । हामी यस बारेमा उहाँहरुलाई सम्झाउँछौं’ विभागका निर्देशक भोलानाथ गुरागाईंले उज्यालोलाई भन्नुभयो । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया