हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नु पर्छ : प्रधानमन्त्री

 बैशाख ४, २०७६ बुधबार १६:१६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाललाई विद्वानहरुको देश बनाउनु पर्ने बताउनुभएको छ ।

विद्यालय भर्ना अभियानका सन्दर्भमा बुधबार बालुवाटारमा नेकपा निकट युवा र विद्यार्र्थीहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई विद्वानको देश भनेर विश्वसामु चिनाउनुपर्ने बताउनुभयो । 

‘नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।’ 

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । ‘शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्दछ’, प्रम ओलीले भन्नुभयो, ‘त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउँछन् ।’

प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशील र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको  स्वरुप फेरिएको स्पष्ट पार्नुभएको छ । ‘अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्’, प्रम ओलीले भन्नुभयो, ‘अब युवाहरुले समाज सुधारका लागि शिक्षा,स्वास्थ्य,श्रम,सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ ।’

गएको वर्षदेखि विशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गर्नुभएको छ । ‘विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो । हामीले समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ । यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ ।

यसवर्ष देखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनु हुँदैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

 अन्तरक्रियामा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेल पनि उपस्थित हुनुहुन्थ्यो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया