‘कलंक’ को रेकर्ड ब्रेक ओपनिङ, 'केसरी' र 'गली ब्वाय' लाई पछि पार्‍याे

 बैशाख ५, २०७६ बिहिबार १३:१९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता वरुण धवन र आलिया भट्ट अभिनित फिल्म कलंक यही अप्रिल १७ मा रिलिज भइसकेको छ । फिल्म रिलिज भएसँगै फिल्म समीक्षकहरुले मिश्रित समीक्षा दिएका थिए भने दर्शकले समेत खासै मन नपरेको प्रतिक्रिया दिएका थिए ।  

फिल्म हेर्ने दर्शकको सामाजिक सञ्जालमा प्रतिक्रिया हेर्दा फिल्मले दर्शकहरुलाई निराश पारेको हुनसक्ने लागे पनि फिल्मको बक्स अफिस कलेक्शनले भने कीर्तिमान कायम गरेको छ । फिल्म ‘कलंक’ सन् २०१९ मा पहिलो दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्महरु मध्ये पहिलो स्थानमा पुगेको छ । यससँगै अभिनेता वरुण धवन र आलिया भट्टको फिल्मी करियरकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । 

 

करण जोहर, साजिद नाडियाडवाला र फक्स स्टार स्टुडियो जस्ता स्थापित फिल्म निर्माताहरुले बनाएको फिल्म ‘कलंक’ ले पहिलो दिनमा २१.६० करोड भारु कमाइ गरेको छ । यससँगै फिल्म ‘कलंक’ ले अक्षय कुमारको ‘केसरी’ र रणवीर सिंहको ‘गली ब्वाय’ लाई पछि पारिदिएको छ । होलीको अवसरमा रिलिज गरिएको फिल्म ‘केसरी’ ले पहिलो दिनमा २१.०६ करोड भारु कमाएको थियो भने ‘गली ब्वाय’ ले १९.४० करोड भारु कमाएको थियो । 

फिल्म ‘कलंक’ सन् १९४० को कथामा निर्माण गरिएको एपिक ड्रामामा त्यस समयको भारतको लाहोरको हिरामण्डीको कहानी रहेको छ । फिल्ममा वरुण धवन लोहारको भूमिकामा छन् भने उनी विवाहित आलियासँग प्रेम गर्न थाल्छन् । आलिया भट्ट आदित्य रोय कपूरकी पत्नी हुन् भने सञ्जय दत्तकी बुहारी बनेकी छिन् ।

अभिनेत्री माधुरी दीक्षित बहार बेगमको भूमिकामा छिन्, जो कुनै समयमा सञ्जय दत्तसँग प्रेम रहेको कहानी देखाइएको छ । 

भारतीय फिल्म समीक्षकहरुका अनुसार, यो फिल्मले आगामी दिनमा पनि अझै राम्रो व्यापार गर्ने कुरा बताइरहेका छन् ।  
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया