आठाै‌ं राष्ट्रिय खेलकुद: ब्याडमिण्टनमा शााेभा गौचनलाई पराजित गर्दै प्रदेश १ की सिता राई अन्तिम चारमा

 बैशाख ५, २०७६ बिहिबार १४:४०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - आठाै‌ं राष्ट्रिय खेलकुद अन्तरगत ब्याडमिन्टन खेलमा एपीएफकी शोभा गौचनलाई पराजित गर्दै प्रदेश १ की सिता राई अन्तिम चारमा स्थान पक्का गर्न सफल भएकी छिन् ।

नेपाल ब्याडमिन्टन संघको ११ औं वरीयतामा रहेकी सिताले ३ नम्बार वरीयताकी शोभालाई २१-१७ र २१-१५ ले पाखा लगाउन सफल भएकी हुन् । अब सिताले फाइनल प्रवेशका लागि वरीयतामा पहिलाे नम्बरमा रहेकी सेनाकी नङ्शल देवी तामाङ्को सामना गर्नेछिन् ।

सेनाकी नङ्शलले सेनाकै रञ्जना भट्टलाई २१-१८ र २१-१२ ले पराजित गरिन् ।यस्तै अर्को खेलमा सेनाकी अनुमाया राईले उदीयमान खेलाडीको रुपमा रहेकी एपीएफकी जेसिका गुरुङ्लाई २१-१६ र २१-९ ले पाखा लगाउँदै सेनाकै रशिला महर्जनसँगको भेट पक्का गरिन् ।

जेशिकाले महिला टिम इभेन्ट्सको प्रतिस्पर्धामा नङ्शललाई पराजित गरेकी थिइन् । रशिलाले प्रदेश १ की सीमा राजबंशीलाई २१-१४ र २१-११ ले पराजित गरिन् ।पुरुष एकलतर्फ सेनाका नम्बर एक खेलाडी रत्नजित तामाङ् आफ्नो उपाधि रक्षातर्फ अग्रसर भएका छन् ।

उनले नेपाल पुलिसका जीवन आचार्यलाई २१-१० र २१-११ ले पराजित गरे । अब उनले फाइनल प्रवेशका लागि प्रदेश १ का प्रिन्स दाहालसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रिन्सले पुरुष टिम प्रतिस्पर्धाको पुरुष एकलतर्फ रत्नलाई पराजित गरेका थिए । प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१-१० र २१-१० ले पन्छाउँदै रत्नसँगको भेट पक्का गरेका हुन् । यसैगरी पूर्व नेपाल वान बिकास श्रेष्ठले सेनाका नविन श्रेष्ठलाई २१-१५, १५-२१, २१-१६ ले पन्छाउँदै अन्तिम ४ को यात्रा तय गरे ।

अब फाइनल प्रवेशका लागि विकासले सुदूरपश्चिमका दीपेश धामीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । दीपेशले पुलिसका दीपक बोहरालाई २१-१७, २१-१५ ले पन्छाउँदै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । दाङको घोराहीकाे कभर्डहलमा भएको प्रतियोगिताको महिला युगलतर्फ सेनाका नङ्शल देवी तामाङ र अनुमाया राईको जोडी तथा अमिता गिरी र रशिला महर्जनको जोडी पनि सेमि फाइनलमा प्रवेश गरेका छन् ।

तामाङ र राईको जोडीले कर्णाली प्रदेशका पुष्पा शाही र सामना भट्टराईको जोडीलाई २१-१०, २१-१० को सोझो सेटमा पराजित गरे । यस्तै गिरी र महर्जनको जोडीले प्रदेश ३ का तारा आले र मनिषा खड्काको जोडीबाट वाक ओभर प्राप्त गरे । यस्तै सेमिफाइनल प्रवेश गर्ने क्रममा प्रदेश १ का सिता राई र सीमा राजबंशीको जोडीले प्रदेश ३ का महिमा श्रेष्ठ र सफी खत्रीको जोडीलाई २५-५, २५-३ ले तथा एपीएफका पूजा श्रेष्ठ र जेशिका गुरुङ्को जोडीले सेनाका लोक्तमा राई र रञ्जना भट्टको जोडीलाई २१-१२ र २१-१२ ले पाखा लगाए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया