प्रधानमन्त्री ओलीले ऐतिहासिक जितगढीमा फहराए नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा

 बैशाख ७, २०७६ शनिबार १४:५७:३९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक सम्मृद्धिको दिशा तर्फ उन्मुख भएको बताउनु भएको छ । उहाँले शान्ति सुरक्षा र अमनचयन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो  ।

बुटवलमा कर्णेल उजिरसिंह थापाको पूर्ण कदको सालिकको अनावरण तथा नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डाको झण्डोत्ताेलन गर्दै प्रधानमन्त्री ओलीले सम्मृद्धिको यात्रालाई अवरोध गर्नेहरु आफैँ परास्त भएर जाने बताउनु भयो । राष्ट्रिय स्वाधीनताको लागि कर्णेल उजिरसिंह थापाले प्रर्दशन गरेको बहादुरी आफैँमा गर्व गर्न लायक रहेको उहाँले बताउनु भयो ।

उजिर सिंह लगायतका वीरहरुले जोगाएको नेपालीको शीर सरकारले कहित्यै पनि निहुरिन नदिने बताउँदै उहाँले ऐतिहासिक किल्लाहरुको संरक्षण सरकारले गर्ने बताउनु भयो । 

बुटवल जितगढी विजय उत्सव 

बुटवलमा जितगढी विजय उत्सव मनाइएको छ । नेपाल कब्जा गर्न आएको अंग्रेज फौजलाई जितगढी किल्लामा परास्त गरेको सम्झनामा बुटवलमा विजय उत्सव मनाइएको हो । बुटवल उपमहानगरपालिकाले अघिल्लाे वर्षदेखि विजय उत्सव मनाउन सुरु गरेको हो । विजय उत्सवमा स्थानीयहरु विभिन्न झाँकी तथा भेषभूषासहित सहभागी भएका थिए ।

उत्सवमा तत्कालिन समयमा प्रयोग भएका हतियार बोकेका प्रहरी तथा नेपाली सेना पनि सहभागी भएका छन् । जितगढीमा भएको युद्धको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापालाई सलामी दिइएको छ । नेपाल स्वाधीन रहेको इतिहास विश्वभर फैलाउन विजय उत्सव मनाइएको बुटवल उपमहानगरपालिकाले बताएको छ । 

जितगढीको एतिहासिकता के छ ?

जनरल उडको नेतृत्वमा पाल्पा, बुटवल हात पार्नेगरी अंग्रेजले सेना पठाएको थियो । गोखरपुरबाट उडको नेतृत्वमा अंग्रेज फौज नेपाल तर्फअगाडि बढेको थियो । उक्त फौज जितगढीमा आइसकेपछि नेपाली फौजसँग घमासान युद्ध नै भयो । युद्धमा ठुलै क्षति ब्यहोरेर अंग्रेज फौज फिर्ता भएको थियो ।

पहिलो असफल आक्रमणपछि जनरल उड कै नेतृत्वमा अंग्रेज फौजले फेरि आक्रमण गर्दा बुटवलको सेनकालीन दरबार ध्वस्त भयो । तर किल्लाभित्र लुकेर बसेको तत्कालिन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले बिक्रम सम्बत १८७२ साल वैशाख ७ गते अंग्रेज फौजलाई परास्त गरेको थियो ।

जितगढी किल्लामा झण्डै तीन महिना युद्ध भएको इतिहासका जानकार बताउँछन् । उक्त किल्लालाई रणभुमि बनाएर लडेको कर्णेल थापा नेतृत्वको फौज संग अग्रेज फौज अन्तत पराजित भयो र अग्रेज फौज दक्षिण तर्फ फर्कियो । कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अग्रेज फौजलाई परास्त गरेपछि नेपाल स्वाधिन रहयो । अग्रेज साम्राज्य कायम हुन पाएन । 

संरक्षणका लागि के गर्दैछन सरकारहरु ?

नेपाली वीरताको अमर गाथा गाइरहेको यस किल्लालाई बल्ल आएर संरक्षण गर्न थालिएको छ । जितगढी किल्ला संरक्षण गर्न तीनै तहका सरकारले बजेट विनियोजन गरेका छन् । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा १ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले दुई फरक शिर्षकमा १ करोड ६० लाख र संघीय सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । 

बुटवल उपमहानगरपालिकाले देशकै ठूलो राष्ट्रिय झण्डा र युद्धको नेतृत्व गरेका कर्णेल उजिर सिंह थापाको ९ फिटको पूर्णकदको सालिक निर्माण गरेको छ । युद्ध हारेपछि दक्षिणतर्फ अग्रेज फौज गएकाले सालिक पनि दक्षिण तर्फ नै फर्काइएको छ । राष्ट्रिय झण्डाको उचाइ भने ४२ फिट रहेको छ । दुवै संरचना निर्माणका लागि ४४ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ । 

अतिक्रमणको चपेटामा परेको जितगढी किल्लाकाे संरक्षण गर्न उपमहानगरपालिका लागिपरेको उपमहानगरपालिका प्रमुख शिबराज सुबेदी बताउनुहुन्छ । वडा कार्यालय ,सार्वजनिक शाैचालय, चमेना गृह, तेक्वान्दाेको कभर्ड हल लगायतका संरचना हटाएको बताउँदै उहाँले अब सो क्षेत्रमा निर्माण भएका निजी संरचना पनि मुआब्जा दिएर हटाउने बताउनुभयो । त्यस क्षेत्रमा अहिले ३१ घरधुरी रहेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया