केराकाे बाेटकाे रेशाबाट कपडा

 बैशाख ७, २०७६ शनिबार २०:८:२१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङ देउखुरीको गढवा गाउँपालिकाले केराकाे बाेटकाे रेशा प्रशोधन गरी कपडा बनाउने अभियानको थालनी गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा केही रकम विनियोजन गरी यो प्रयासलाई नगरपालिकाभर अभियानको रुपमा सञ्चालन गर्ने लक्ष्य लिएको अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो । 

खेर जाने गरेको केराको थाम पेल्ने र रेशा प्रशोधन गरी धागो तथा कपडाहरु बनाउने आवस्यक उपकरणहरु पनि गाउँपालिकाले ल्याइसकेको अध्यक्ष यादवले बताउनु भयो । 'मेसिनहरु आइसकेको छ, व्यावसायिक केरा खेती गर्ने केही किसानहरुलाई काठमाण्डाैबाट प्रशिक्षक मगाएर प्रविधि सिकाउन थालिएको छ', उहाँले भन्नुभयाे । 

गढवालाई जिल्लामै नयाँ ढंगले चिनाउन केराबाट कपडा बनाउने अभ्यास सुरु भएको हो । आगामी वर्ष केरा खेती प्रवर्द्धन गर्ने र खेर जाने केराका थाम पेलेर धागो उत्पादन अभियानलाई व्यापकता दिने गाउँपालिकाको लक्ष्य रहेकाे अध्यक्ष यादवले बताउनुभयो ।

दाङ हस्तकला संघको समन्वय तथा आयोजना र गढवा गाउँपालिकाको आर्थिक लगानीबाट यसै वर्षदेखि गढवामा केराको रेशाबाट धागो बनाउने प्रयोगात्मक अभ्यासको सुरुवात गरिएको संघका अध्यक्ष अशोक चौधरीले बताउनुभयो । अन्नपूर्ण हेण्डिक्राफ्ट काठमाण्डाैले नवलपरासीबाट यो अभियान सुरु गरेको हो ।

केराका रेशा प्रशोधनबाट उत्पादन भएका कपडाहरु आफैले विदेशी बजारमा निर्यात गर्ने गरेको हेण्डिक्राफ्टका निर्देशक दिव्यतारा तुलाधरले जानकारी दिनुभयो ।
जिल्लाभर दुई सय ५० हेक्टरमा केरा खेती गरिएको पाइएको छ ।

केराको थामबाट कपडा बनाउन पाँच चरणमा काम गरिन्छ । सुरुमा केराको थामलाई मेसिनमा पेलिन्छ र त्यसबाट रेशा निकालिन्छ । रेशालाई हातेताना र मसिनको प्रयोगबाट धागो बनाएर बटारिन्छ, धागोलाई थप प्रशोधन गरी म्याटको रुपमा निकालिन्छ । त्यसलाई पनि प्रशोधन गरेपछि बल्ल सामान्य कपडा तयार हुन्छ  ।

मेसिनको प्रयोगबाट बजारको माग बमोजिमका कपडाहरु कोट,सल,ब्याग,पर्स, डोरम्याट तथा टेबलपोष, टिस्युपेपर बक्स लगायतका २१ प्रकारका सामान तयार गरिएको छ ।  

अन्तिम अपडेट: चैत ११, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया