विवेकशील नेपाली दलले चयन गर्‍याे अनलाइनबाटै प्रतिनिधि

 बैशाख ७, २०७६ शनिबार १९:३९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विवेकशील नेपाली दलले निकट भविष्यमै आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनका लागि आयोजक समितिमा रहने प्रतिनिधि अनलाइन निर्वाचन पद्धतिबाट चयन गर्न थालेको छ ।  

राष्ट्रिय सम्मेलन आयोजक समितिका लागि हरेक प्रदेशबाट २÷२ प्रतिनिधि अनलाइन निर्वाचन पद्धतिबाट चयन गर्न लागेको विवेकशील नेपाली दलले जनाएको छ । 
दलले शुक्रबार प्रदेश नम्बर ३ र प्रदेश नम्बर ८ बाट राष्ट्रिय सम्मेलन आयोजक समितिका लागि २-२ जना प्रतिनिधि अनलाइन निर्वाचन पद्धतिमार्फत चयन गरेको छ । 
प्रदेश ३ बाट सरला लामिछाने र सन्जिव भट्टराई तथा प्रदेश ८ बाट सारा प्याकुरेल र सुरेश भट्ट आश्रिनले सर्वाधिक मत ल्याएर प्रतिनिधिमा चयन भएको विवेकशील नेपाली दलकी  मिडिया संयोजक अनुमा कोइरालाले जानकारी दिनुभयो । 

विवेकशील नेपाली दलले प्रवास समितिलाई ८ नम्बर प्रदेश मानेको छ । ‍राष्ट्रिय सम्मेलनका लागि २१ जना प्रतिनिधि छनौट गर्ने क्रममा २ वटा प्रदेशको छनौट भइसकेको र बाँकी प्रदेशमा पनि छिट्टै प्रतिनिधि छनौट प्रकृया सक्ने कोइरालाले जानकारी दिनुभयो । 

अनलाइन निर्वाचन पद्धतिका लागि ब्यालट बिन नामक सफ्टवेयरको प्रयोग गरिएको र यसबाट परिणाम पनि उतिबेलै सार्वजनिक हुने उहाँले बताउनुभयो । 
ब्यालेट छपाइ, छाप तथा कर्मचारी तलब भत्तामा खर्च हुने निर्वाचन पद्धतिभन्दा अनलाइन निर्वाचन पद्धति कम खर्चमै सरल तरिकाले सम्पन्न गर्न सकिने कोइरालाले बताउनुभयो ।

अनलाईन निर्वाचन पद्धतिबाट मत दिन मतदाता पनि लाइन बस्न नपर्ने र समयको पनि बचत हुने हुँदा राष्ट्रिय निर्वाचनमा पनि यस्तै प्रविधि अंगाल्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो । 

२०७४ मा भएको तिनै तहको चुनावमा नेपालभन्दा बाहिर रहेका मतदाता मत हाल्नबाट वञ्चित भएका थिए । 
अब हुने निर्वाचनहरुमा भने प्रविधिको प्रयोग गर्दै अनलाइनमार्फत नै भोट हाल्न पाउने व्यवस्था मिलाउन दवाव दिन पनि आफूहरुले अनलाइन पद्धतिमार्फत प्रतिनिधि चयन गरेको विवेकशील नेपाली दलले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया