कामदारबाट नामी व्यवसायी

 बैशाख ८, २०७६ आइतबार १०:२७:३४ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ – तामाखानी सोलुखुम्बुका डिल्ली मगर पर्यटन भरियाको रुपमा सगरमाथा रहेको खुम्बु क्षेत्र पुग्नुभयो । त्यहाँ पर्यटन भरिया, होटल कामदारलगायतको मजदुरी गर्नुभएका मगर अहिले स्याङबोचे विमानस्थल नजिक घर तथा होटलको मालिक हुनुहुन्छ । 

स्याङबोचे विमानस्थलमा हेलिकोप्टर उडानको चाँजोपाँजो मिलाउनेदेखि विभिन्न ठेक्काको समेत काम भ्याउने मगर अहिले खुम्बुमा नामी व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । खुम्बुमा अन्यत्रबाट आएकालाई जग्गा बिक्री गरिँदैन । उहाँले खुम्बुकै युवतीसँग विवाह गर्नुभयो र त्यहीँको बासिन्दा भएर घर घडेरी जोड्नुभयो । उहाँ भन्नुहुन्छ ‘भरिया बन्न आएको मलाई नै यति काम गर्न सक्छु भन्ने लागेको थिएन ।’

डिल्ली मगर जस्तै धादिङका दिल थापामगर दुई दशकअघि होटल कामदारका रुपमा नाम्चे पुग्नुभएको हो । झण्डै नौ वर्ष होटलमा काम गरेपछि उहाँ आफैँले होटल चलाउन थाल्नुभयो । उहाँ यतिखेर स्याङबोचेमा खुम्बु माउन्टेन भ्यु लज, नाम्चेभित्रै होटल एभरेस्ट र नेस्ट गरी तीनवटा होटलका मालिक हुनुहुन्छ ।

काभ्रे तिमालका राम लामा पनि ११ वर्षअघि खुम्जुङको देबुचेमा काम गर्न पुग्नुभएको थियो । चार वर्षयता उहाँ स्योमारेमा हिमालयन लन्च स्पट चलाइरहनुभएको छ । सिजनमा राम्रै कमाइ हुने उहाँले बताउनुभयो ।

यी तीन जना प्रतिनिधि पात्र हुन् । व्यवसायी डिल्ली मगर भन्नुहुन्छ ‘खुम्बु क्षेत्रमा कामदार मालिक बनेका थुप्रैै उदाहरण छन् । ‘भरिया वा कामदारको रुपमा आएका कम्तीमा ३० जना अहिले नामी व्यवसायी बनेका छन्’ उहाँले भन्नुभयो । 

खुम्बु पासाङल्हामु गाउँपालिका अन्तर्गत पर्ने चौरीखर्क, नाम्चे र खुम्जुङलाई खुम्बु क्षेत्र भनिन्छ । खुम्बुमा पर्यटकका लागि उपयुक्त हुने सुबिधासम्पन्न होटल झण्डै ३५० वटा छन् भने साना चियापसल, भट्टी तथा सामान्य होटलसमेत गरेर एक हजारभन्दा बढि होटल रहेका छन् । त्यति नै संख्यामा पसल पनि छन् । त्यसमा सामान्य कामदारको रुपमा खुम्बु गएर व्यवसाय सुरु गरेकाहरु धेरै छन् । 

पर्यटक प्रवेश गर्ने मुख्य बजार लुक्लादेखि चौरीखर्क घाट, ठाडो कोशी, फाक्दिङ, राङदिङ, टोकटोक, बेंकर, मोन्जो, जोरसल्ले, नाम्चे, खुम्जुङ, स्याङबोचे, पाङबोचे, स्योमारे, दिङबोचे, फेरिचे, थुक्ला, लबुचे हुँदै गोरक्सेपसम्म नै होटल तथा पसलहरु रहेका छन् । 

खुम्बुमा होटल व्यवसाय सुरुवात गर्ने त्यहाँका स्थानीय शेर्पा समुदाय भए पनि बिस्तारै उनीहरू राजधानी काठमाण्डौ तथा अझ केही नामी व्यवसायी अमेरिका र युरोपतिर जान थालेपछि सोलुखुम्बुका विभिन्न क्षेत्र र बाहिरी जिल्लाबाट खुम्बु पुग्ने कामदार आफैँ मालिक बन्न थालेका हुन् । केहीले त्यहाँका युवतीसँग विवाह गरेर त्यतै घरबार जोडेका छन् भने केही अस्थायी बसोबास गरेर व्यवसाय गरिरहेका छन् । 

वर्षमा झण्डै ३५ हजार विदेशी पर्यटक त्यहाँ पुग्छन् । उनीहरुको पथप्रदर्शकदेखि भरिया तथा अन्य सामान लैजाने मानिस समेत गरेर वर्षमा झण्डै डेढ लाख मानिस खुम्बु जाने गर्छन् । पछिल्ला दिनमा आन्तरिक पर्यटकको संख्या पनि बढ्न थालेको छ । पर्यटकीय क्षेत्र भएकाले होटल व्यवसाय गर्न चाहनेका लागि खुम्बु क्षेत्र राम्रो सम्भावना बोकेको ठाउँ हो, त्यसैले त्यहाँ सामान्य तलबमा काम गर्न आउने कामदार नामी व्यवसायी बन्न थालेका छन् । 

खुम्बुको व्यवसाय मौसमी हुन्छ । वर्षमा दुईपटक हुने पर्यटकीय मौसमा गरी बढिमा ६/७ महिना व्यापार हुन्छ । अहिले हिमाल आरोहणको मौसम शुरु भैसकेकोले खुम्बु भरिभराउ छ यतिबेला  । होटल पसल पनि निकै व्यस्त बनेका छन् । यस्तै व्यस्तताका बीच मेहनत गर्नेहरु खुम्बुमा सामान्यबाट नामी व्यवसायी बनिरहेका छन् ।     
 

अन्तिम अपडेट: चैत १४, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया